कञ्चनपुरको महाकाली अस्पतालमा एकै दिन दुई शिक्षकसहित तीनजनाको ज्यान गएको छ । दोधाराचाँदनी नगरपालिका ७ बाबाथान लक्ष्मी माविका प्रध्यानाध्यापक शिक्षक लोकराज भट्ट र भीमदत्त नगरपालिका ४ महेन्द्रनगरस्थित भृकुटी माविकी शिक्षिका मञ्जु केसीको मृत्यु भएको हो ।
लक्ष्मी माविका प्रअ दुई दिनअघि मात्रै अस्पतालमा बिरामी भएपछि उपचारका लागि आएका थिए । उनी १५ वैशाखसम्म सहकर्मीसँग टिपिटी तालिममा सहभागी थिए । सामान्य रुघाखोकी लागेर श्वास–प्रश्वासमा समस्या भएपछि उनी उपचारका लागि बिहीबार महाकाली अस्पताल गएको मृतक शिक्षकका सहकर्मी डम्बरराज जोशीले बताए ।
‘हामी टिपिटी तालिमा सँगै थियौँ । उहाँलाई एक्कासी समस्या भयो, ‘शिक्षक जोशीले भने, ‘बिरामी भएर अस्पताल पुगे, अस्पतालमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो, अस्पतालमा आइसियू बेड भरिभराउ थिए, थप उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पताल लैजान खोजेँ, शुक्रबार बिहानदेखि दिउँसोसम्म २१ एम्बुलेन्सलाई फोन गर्दा कसैले पनि जान मानेनन् ।’‘ अन्तिममा दिउँसो पाइएको एम्बुलेन्समा अक्सिजन थिएन त्यस्तै लिएर गएँ, बीचबाटोमै उनको मृत्यु भयो, हामी शिक्षकमाथि राज्यको यत्रो अन्याय गर्याे ’ उनले भने ।
कञ्चनपुरका शिक्षकलाई कोरोना खोपसमेत नलगाएको र सयौँको भिडमा पढाउनुपर्ने बाध्यता रहेको बताउँदै उनले शिक्षकले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको बताए । तीन दिनअघि बिरामी भएकी भुकुटी माविकी शिक्षिका पनि अक्जिसन र उचित उपचार अभावमा मृत्यु भएको छ ।
उनका आफन्त शिक्षक सहकर्मीले सरकारको लापरबाहीका कारण कोरोनाको सिकार शिक्षक पनि भइरहेको बताएका छन्। भृकुटी माविका सहायक प्रअ वीरेन्द्रप्रसाद भट्टले शिक्षकलाई एक खोप पनि नदिएको र बिरामी हुँदासमेत मृत्युकै मुखमा पुग्नुपर्ने बाध्यता रहेको बताए । ‘हामीले सहकर्मी गुमाएका छौँ, ‘उनले भने, ‘मुलुकमा यत्रो महामारी हुँदासमेत सरकारले नागरिकको स्वास्थ्यमा चासो दिएको छैन ।’
महाकाली अस्पतालमा उपचारार्थ संक्रमितको धमाधम ज्यान गरहेको छ । लगातार दुई दिनमा एक महिलासहित आठजनाको मुत्यु भएको महाकाली अस्पतालले जनाएको छ । कञ्चनपुरका कोरोना रोकथामका लागि प्रभावकारी पहल नहुँदा नागरिकले अकालमै ज्यान गुमाइरहेका छन् ।
कोरोना महामारी तीव्र रूपमा अघि बढिरहेका वेला संक्रमितले कञ्चनपुरको महाकाली र कैलालीको सेती अस्पताल भरिभराउ भएका छन् । दुवै अस्पतालमा आइसियू बेडसहित एचडियू, आइसोलेसन भरिभराउ भएका छन् । नयाँ र सिकिस्त बिरामीले बेड पाउने अवस्था छैन ।