यो वर्ष ४ प्रतिशत आर्थिक वृद्धिदर हुने सरकारको प्रक्षेपण

शनिबार, १८ बैशाख, २०७८
डिजिटल संस्करण

केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष ०७७/७८ मा ४ दशमलव ०१ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । कोरोना महामारीको असर चालू आवको अन्तिमसम्ममा सामान्य हुने र आर्थिक क्रियाकलाप नियमित सञ्चालन हुने विश्वासमा विभागले यस्तो प्रक्षेपण गरेको हो । 

‘यो प्रक्षेपण तयार गर्न तथ्यांक लिइएको अवधिमा कोरोनाको असर न्यून हुँदै गएको थियो,’ तथ्यांक विभागका राष्ट्रिय लेखाका निर्देशक गणेशप्रसाद आचार्यले भने, ‘तर, कोरोनाको प्रभाव बढ्दै गएको अवस्थामा पक्कै पनि यो प्रक्षेपणलाई संशोधन गर्नुपर्ने हुन्छ ।’

विभागले चैत मसान्तसम्म उपलब्ध तथ्यांकका आधारमा आगामी दुई सातापछि कोरोनाको असर सामान्य हुँदै जाने विश्वासमा प्रक्षेपण सार्वजनिक गरेको छ । जब कि सरकारले राजधानीलगायत देशका प्रमुख सहरहरूमा दुई साताको निषेधाज्ञा घोषणा गरेको छ । 

सरकारले यस आवमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य बजेटमा लिएको थियो । तथ्यांक विभागले गत आवको आर्थिक वृद्धिको तथ्यांक पनि संशोधन गरेको छ । यसअघि अर्थतन्त्र माइनस १ दशमलव ९९ प्रतिशतले नकारात्मक हुने प्रक्षेपण सार्वजनिक गरेको विभागले आर्थिक वृद्धि त्यसभन्दा पनि कमजोर भई २ दशमलव १२ प्रतिशतले माइनसमा जाने बताएको हो । 

गत आवको अन्तिम चार महिना मुलुक लकडाउनमा थियो । यो वर्ष पनि अन्तिम त्रैमासमा लकडाउन हुने र कोरोनाको असर गत वर्षको भन्दा पनि भयावह हुने संकेत देखिएको छ । 

गत आवको आर्थिक वृद्धि नेपालमा कुल गार्हस्थ्य उत्पादनको गणना हुन थालेको ५५ वर्षको इतिहासमै सबैभन्दा कमजोर हो । यसअघि ०७७ वैशाखमा गरिएको प्रक्षेपणमा कोरोनाको कारण अर्थतन्त्रको वृद्धिदर २ दशमलव २७ प्रतिशत रहने अनुमान गरिएको थियो । पछिल्लो परिमार्जनले १ दशमलव ९९ प्रतिशतले ऋणात्मक देखाए पनि अहिले त्योभन्दा नकारात्मक बनेको देखाएको छ । यसको अन्तिम वृद्धिदर भने आगामी वर्ष मात्र थाहा हुनेछ । 

विभागले आव ०७५/७६ मा आर्थिक वृद्धिदर ६ दशमलव ३९ प्रतिशत रहेको अन्तिम अनुमान सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको अनुमान तयार गर्दा आवास तथा भोजन सेवाको क्षेत्रमा भने सुधार हुन थप समय लाग्ने अनुमान विभागले गरेको छ । 

विश्व बैंकले भने चालू आर्थिक वर्षमा २ दशमलव ७ प्रतिशत मात्रै आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण यसअघि नै सार्वजनिक गरिसकेको छ । त्यसको तुलनामा तथ्यांक विभागको प्रक्षेपण निकै सकारात्मक छ । 

गत वर्ष अर्थतन्त्रका धेरै क्षेत्र नकारात्मक, यो वर्ष सबै सकारात्मक
गत आव ०७६/७७ मा कृषिबाहेक अर्थतन्त्रका अधिकांश क्षेत्र नकारात्मक रहेकोमा यो वर्ष सबै क्षेत्र सकारात्मक हुने प्रक्षेपण तथ्यांक विभागले गरेको छ । गत आवमा आवास तथा खाद्यसेवा (होटेल तथा रेस्टुरेन्ट) क्षेत्र सबैभन्दा धेरै ३७ प्रतिशतले माइनसमा गएको विभागको संशोधित तथ्यांक छ । त्यस्तै, पारवहन तथा गोदाम क्षेत्र १३ दशमलव ३७ प्रतिशत र होलसेल तथा खुद्रा व्यापार १० दशमलव ६९ प्रतिशतले माइनसमा गएको तथ्यांक सार्वजनिक गरिएको छ । चालू आर्थिक वर्षमा यी तीन क्षेत्र क्रमशः ११ दशमलव २०, ६ दशमलव १२ र ५ दशमलव २७ प्रतिशतले विस्तार हुने अनुमान विभागको छ । 

कृषि क्षेत्र गत वर्ष २ दशमलव २३ प्रतिशतले वृद्धि भएकोमा यो वर्ष २ दशमलव ६४ प्रतिशतले बढ्ने अनुमान विभागको छ । त्यस्तै, खानी क्षेत्र ७ दशमलव ४९ प्रतिशत, बिजुली तथा ग्यास ७ दशमलव ७४ प्रतिशत एवं स्वास्थ्य ६ दशमलव ५३ प्रतिशत विस्तार हुने अनुमान छ ।

जिडिपीमा सेवा क्षेत्रको योगदानमा वृद्धि
समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितीय र सेवा गरी विभाजन गरेर तथ्यांक विश्लेषण गर्दा विगत ३ वर्षमा कुल गार्हस्थ उत्पादनमा प्राथमिक तथा सेवा क्षेत्रको योगदान केही बढ्न गएको देखिएको छ । तर, प्राथमिक र द्वितीय क्षेत्रको योगदानमा गत आर्थिक वर्षको भन्दा कमी आएको देखिन्छ । 

प्राथमिक क्षेत्रमा पर्ने कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन पर्छन् । चालू आवमा कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान २६ दशमलव ४० प्रतिशत रहने प्रारम्भिक अनुमान छ । अघिल्लो आवको तुलनामा चालू आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा २ दशमलव ७५ प्रतिशत हुने अनुमान छ । चालू आवमा धानको उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको उत्पादनमा गत आवको भन्दा बढी वृद्धिदर रहेको छ । 

त्यस्तै, द्वितीय क्षेत्रमा निर्माण, उद्योग, विद्युत्, ग्यास तथा पानी पर्छन् । चालू आवमा कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले १२ दशमलव ७२ प्रतिशत योगदान दिने अनुमान छ । अघिल्लो आवको तुलनामा चालू आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ४ दशमलव ९३ प्रतिशतले वृद्धि हुने अनुमान छ । खासगरी ऊर्जा क्षेत्रको विस्तार, मेलम्ची खानेपानी आयोजना सम्पन्न, निर्माण कार्यमा वृद्धिका कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदरमा प्रभाव पारेको छ । 

सेवा क्षेत्रअन्तर्गत थोक तथा खुद्रा व्यापार, होटेल, रेस्टुरेन्ट, यातायात सञ्चार, भण्डारण वित्तीय मध्यस्थता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासनलगायत पर्छन् । चालू आवमा यस क्षेत्रले जिडिपीमा ६१ दशमलव १ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । गत आवको तुलनामा चालू आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ४ दशमलव ४३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । यस क्षेत्रको भोजन सेवा, आवास तथा यातायातमा कोभिड १९ को महामारीले गर्दा प्रत्यक्ष असर परेको छ । 

प्रतिव्यक्ति आय एक हजार १९१ डलर, अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब
चालू आव ०७७/७८ मा नेपालीको औसत प्रतिव्यक्ति आय एक हजार १९१ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यो अघिल्लो आव ०७६/७७ को संशोधित औसत आयभन्दा ५७ अमेरिकी डलरले बढी हो । आव ०७६/७७ मा नेपालीको प्रतिव्यक्ति आय १ हजार १ सय ३४ अमेरिकी डलर रहेको छ । कुल गार्हस्थ्य उत्पादनलाई जनसंख्याले भाग गरी प्रतिव्यक्ति आम्दानी गणना गरिन्छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब रुपैयाँ (उपभोक्ताको मूल्यअनुसार) पुग्ने अनुमान छ । अघिल्लो आवमा जिडिपीको आकार ३९ खर्ब १४ अर्ब रुपैयाँ थियो ।

सय रुपैयाँ कमाउँदा ७ रुपैयाँ मात्रै बचत
केन्द्रीय तथ्यांक विभागले नेपालीले दैनिक उपभोगमा गर्ने खर्च अत्यधिक हुने प्रक्षेपण गरेको छ । कुल एक सय रुपैयाँ कमाउँदा ९३ दशमलव ३८ पैसा उपभोगमा खर्च गर्ने अनुमान विभागले गरेको छ । त्यस्तै, खर्च गरेर बाँकी रहेको ६ दशमलव ६२ पैसा मात्र बचत गर्ने अनुमान छ । जब कि अघिल्लो आव ०७६/७७ मा एक सय रुपैयाँ कमाउँदा १८ रुपैयाँ १० पैसा बचत गर्ने गरेका थिए । नयाँ तथ्यांक अझ बढी यथार्थपरक भएकाले नेपालीले उपभोगमा गर्ने खर्च अनुमान बढी सही भएको उपमहानिर्देशक डा. हेमराज रेग्मीले बताए ।

सुझावित समाचार