वन कार्यालय र जिल्ला समन्वय समिति मौन, जनप्रतिनिधि र ठेकेदारबीच मिलेमतोको आशंका
नरहा गाउँपालिका–३ मा अवैध रूपमा बालुवा खानी सञ्चालन भइरहेको छ । पूर्व–पश्चिम राजमार्गदेखि करिब डेढ किलोमिटर उत्तरमा रहेको जमिनबाट ग्राभेल उत्खनन् गरिँदा पनि वन कार्यालय र जिल्ला समन्वय समिति मौन देखिएका छन् ।
जोवहा जंगलसँगै जोडिएको केही निजी तथा ऐलानी पर्ति जमिनबाट ग्राभेल उत्खनन् भइरहेको गोलबजार नगरपालिका–९ का वडाध्यक्ष रामपुकार कामतीले बताए । आफ्नो वडामा नपरे पनि विद्यालयको भवन छेउबाटै अनुमतिविनै ग्राभेल उत्खनन् भइरहेको उनको भनाइ छ ।
ग्राभेल उत्खनन् भइरहेको स्थानमा जनता माध्यमिक विद्यालयको कक्षा १२ को भवन, नजिकै नेपाली सेनाको २७ नम्बर बाहिनी अड्डा र खानेपानीको ओभर हेड ट्यांकी छ । निजी जग्गामा भनेर सार्वजनिक जग्गामा समेत उत्खनन् भएको पाइएपछि जिल्ला समन्वय समितिलाई जानकारी गराए पनि कुनै पहल नभएको वडाध्यक्ष कामतीले गुनासो गरे ।
उनका अनुसार २० फिटभन्दा पनि बढी गहिरो खाल्डो खनेर ग्राभेल उत्खनन् भइरहेको छ । ग्राभेल बोकेर टिपरहरू चोहर्वा चौकमा रहेको प्रहरी विट र छेउमै रहेको इलाका वन कार्यालय भएरै निस्कने गरे पनि कुनै सोधीखोजी गरिएको छैन ।
निजी जग्गामा उत्खनन्को बहानामा ऐलानी पर्तिबाट पनि बालुवा–गिटी झिकिरहँदा पनि सरोकारवाला निकायले अनुगमन गर्न नसकेको स्थानीयको भनाइ छ । प्रहरी, वन कर्मचारी र सम्बन्धित गाउँपालिकाको कार्यालयको मिलेमतोमै अवैध उत्खनन् भएको हुन सक्ने आशंका स्थानीयले गरेका छन् ।
नरहा गाउँपालिका र गोलबजार नगरपालिकाको सीमा पर्ने भएकाले स्थानीय केहीसँग जमिन बिक्रीनामा कागज गरी स्थानीय रामबाबु यादवले बालुवा–गिटी उत्खनन् गरेका हुन् । चुरे क्षेत्र भएकाले ठेकेदारहरूले सस्तोमा जमिन खरिद गरी वातावरणलाई प्रभाव पार्ने गरी खाल्डो खन्दै बालुवा गिटी उत्खनन गर्दै आएका छन् ।
डिभिजन वन कार्यालय लहान सिरहाका प्रमुख सुभाष दासले वनको जग्गामा हो कि निजीमा खानी उत्खनन् गरिएको हो, अध्ययन गरिने बताए । निजीमा भए पनि नियमअनुसार मात्र उत्खन्न गर्न पाइने भन्दै उनले स्थानीय सञ्चालन ऐन, २०७४ अनुसारको कार्यविधिको आधारमा कारबाही अगाडि बढाउन सकिने उनको भनाइ छ । ‘निजीबाट उत्खनन् गर्न पनि प्राबधान छ,’ दासले भने, ‘वन क्षेत्रभित्र हो/होइन, त्यसको यकिन गर्न कर्मचारी खटाउँछु ।’
नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले बालुवा गिटी उत्खनन् गर्नेगरी अहिलेसम्म कुनै खानी उद्योग वा कम्पनी दर्ता नभएको बताए । ‘हामीले कसैलाई ग्राभेल निकाल्ने अनुमति दिएका छैनाैँ,’ यादवले भने, ‘त्यस्तो निकालेको पनि हामीलाई थाहा छैन ।’ कुनै पनि व्यक्तिको नाममा जमिन भए पनि नीति नियमविपरीत खानी चलाउने जस्ता काम गर्न नपाइने यादवले बताए ।
वन क्षेत्रसँगै रहेको ठाउँबाट ग्राभेल उत्खनन भइरहेको छ । ग्राभेल उत्खनन् गर्नुपूर्व वातावरणीय प्रभाव मूल्यांकन (आईइइ) गर्नुपर्छ । तर, ठेकेदार रामबाबु यादवले नरहा गाउँपालिकामा खानी उद्योग दर्तासमेत गराएका छैनन् । खानी उत्खनन् गर्ने स्थानमा कति परिमाण र कति गहिराइबाट ग्राभेल निकाल्ने हो, त्यो प्रस्ट देखिने गरी सूचना बोर्ड राख्नुपर्ने हुन्छ ।