७७ वटै जिल्ला संक्रमणको चपेटामा : २४ घन्टामा थपिए ४,८९७ संक्रमित, १७ को मृत्यु

बिहिबार, १६ बैशाख, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर चार हजार आठ सय ९७ कोरोना संक्रमित देखिएका छन् भने १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार १३ हजार आठ सय ७९ जनाको पिसिआर परीक्षण गर्दा चार हजार सात सय ७४ जनामा संक्रमण देखिएको छ । त्यस्तै, विभिन्न नाकामा गरिएको नौ सय ५५ एन्टिजेन परीक्षणमा एक सय २३ जनाको पजिटिभ रिपोर्ट आएको छ । 

देशभर सक्रिय संक्रमितको संख्या ३० हजार दुई सय नौ पुगेको छ । उनीहरूमध्ये २७ हजार आठ सय ४५ जना होम आइसोलेसनमा र दुई हजार तीन सय ६४ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् । अहिलेसम्म तीन लाख १२ हजार ६ सय ९९ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये दुई लाख ७९ हजार दुई सय ७९ जना निको भएका छन् । अहिलेसम्म मृत्यु हुनेको संख्या तीन हजार दुई सय ११ पुगेको छ । 

बुधबार थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै दुई हजार ४७ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा एक हजार चार सय ६४, ललितपुरमा तीन सय ५१ र भक्तपुरमा दुई सय ३२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, रुपन्देहीमा चार सय ३४ र बाँकेमा तीन सय २८ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा सात सय ७३ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार ७७ वटै जिल्ला संक्रमणको चपेटामा परेका छन् । एकदेखि दुई सयसम्म संक्रमित रहेका ११ जिल्ला छन् । त्यस्तै, दुईदेखि चार सय संक्रमित भएका नौ जिल्ला छन् । बाँकी जिल्लामा संक्रमितको संख्या चार सय नाघेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । काठमाडौं उपत्यकाबाहेक मोरङ, पर्सा, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलालीमा धेरै संक्रमण देखिएको छ ।

See More On

सुझावित समाचार