ओलीको स्वेच्छाचारी क्रियाकलाप बन्द नभएसम्म आफूहरूको अभियान चलिरहने नेता रावलको चेतावनी

बुधबार, १५ बैशाख, २०७८
डिजिटल संस्करण

नेकपा (एमाले)का नेता भीम रावलले अध्यक्ष केपी ओलीको स्वेच्छाचारी र पार्टी विधानविपरीतका क्रियाकलाप बन्द नभएसम्म आफूहरूको अभियान बन्द नहुने बताएका छन् । 

बुधबार नेकपा (एमाले) माधव समूहका नेताहरूको छलफलपछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै नेता रावलले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतको फैसला र पार्टीको विधानविपरीत गरेको गतिविधिका विरुद्ध देशव्यापी रूपमा अभियान चलिरहेको र ओलीको क्रियाकलाप बन्द नहुञ्जेलसम्म आफूहरूको अभियान जारी रहने बताए ।

उनले भने, ‘उहाँले सर्वोच्च अदालतको फैसलाविपरीत र नेकपा (एमाले)को विधानविपरीत केन्द्रीय कमिटीलाई भंग गर्नुभयाे । कथित आयोजक कमिटी बनाउनुभयाे महाधिवेशनका लागि । मान्छे थप्ने, हामीलाई कारबाही गर्ने भनेर स्पष्टीकरण सोध्ने यी जति पनि गतिविधि गर्नुभएको छ यी स्वेच्छाचारी र पार्टी विधान, पार्टीको मार्गनिर्देशन, नवौँ राष्ट्रिय महाधिवेशनको निर्णयविपरीतका गतिविधि हुन् । र, यसको विरुद्धमा देशव्यापी रूपमा कार्यकर्तालाई नेकपा (एमाले)को सिद्धान्त, नीति, कार्यक्रम र यसको विधानको रक्षाका लागि जुन अभियान चलाएका छौँ त्यो सफलताको साथ अघि बढिरहेको छ । हामीले यसलाई जारी राख्नुपर्छ । जबसम्म पार्टीको विधान मिच्ने केपी ओलीजीका क्रियाकलाप बन्द हुँदैनन्, त्यसलाई सच्याइँदैन तबसम्म हामी अघि बढ्नुपर्छ भन्ने कुरालाई पुनर्पुष्टि गरेका छौँ ।’

नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको बताए ।  सरकारले प्रभावकारी काम गर्नको लागि आह्वान गर्ने निर्णय आफूहरूको भेलाले गरेको उनको भनाइ छ । उनले भने, ‘सरकारले यस्तो अवस्थामा जुन प्रकारले प्रभावकारी पाइला चाल्नुपर्थ्याे, औषधि उपचार, स्वास्थ्यकर्मीलगायतका अरू काम गर्नुपर्थ्याे, त्यसतर्फ सरकारले प्रभावकारी रूपमा काम गरेको पनि देखिएन । सरकारले पनि यसमा प्रभावकारी रूपले काम गर्नुपर्छ भन्ने कुरामा पनि हामीले जोड दिँदै त्यसका लागि आह्वान गर्ने निर्णय गरेका छौँ ।’

नेता रावलले अध्यक्ष ओलीले आफूहरूलाई कारबाही गर्ने भन्ने कुरा गलत भएको बताए । नेपालको कानुनबमोजिम ओलीले आफूलाई कारबाही गर्न नसक्ने उनको भनाइ छ ।

सुझावित समाचार