गण्डकी प्रदेशका तीन सांसद र एक कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । चालू विशेष अधिवेशनको दोस्रो दिन सत्तापक्षका सांसदले कोरोना परीक्षणको माग गर्दै सदन अवरुद्ध गरेपछि सांसद, सचिवालयका कर्मचारी, प्रहरी, मर्यादापालक गरी एक सय ५३ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरूको मंगलबार स्वाब संकलन गरिएको थियो भने रिपोर्ट बुधबार आएको थियो । संक्रमण पुष्टि हुनेहरूमा सत्तापक्ष एमालेका सांसद प्रभा कोइराला र राजीव पहारी एवं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद मनकुमारी गुरुङ रहेकी छिन् । सांसदहरूलाई कोरोना देखिए पनि संसद बैठक भने सुचारु हुने भएको छ ।
कोरोना देखिएका सांसदहरूले बैठकमा बोल्न नपाउने, तर अविश्वास प्रस्ताव छिनोफानोका लागि हुने मतदानमा भने मत हाल्न पाउने सचिव पोखरेलले जानकारी दिए ।