चीनद्वारा दक्षिण एसियासँग सहकार्यको प्रस्ताव

बुधबार, १५ बैशाख, २०७८
डिजिटल संस्करण

नेपाललाई थप नौ करोडबराबरको सहायता घोषणा

चीनले नेपाललाई कोभिड–१९ विरुद्धको लडाइँका लागि करिब नौ करोड २० लाख रुपैयाँ (५० लाख चिनियाँ मुद्रा)बराबरको सहायता दिने घोषणा गरेको छ । दक्षिण एसियाली पाँच मुलुक नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानका परराष्ट्रमन्त्रीहरूसँग चिनियाँ विदेशमन्त्रीले मंगलबार गरेको भर्चुअल माध्यमबाट गरिएको बैठकका क्रममा यो घोषणा भएको हो । 

बैठकको अध्यक्षता गरेका चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले स्वास्थ्य उपकरण तथा सामग्रीहरू उपलब्ध गराउने घोषणा गरेका हुन् । यसअघि चीनले नेपाललाई आठ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ । चीनले खोप खरिद गर्ने चाहना भएमा पनि नेपाललाई सहजीकरण गरिदिने आश्वासन दिएको छ । तर, नेपालले अहिले भारतबाहेकका देशले दिएको अनुदान खोप स्वीकार गर्ने, तर भारतबाट मात्रै खरिद गर्ने भनेको छ । 

खोपको खरिद तथा आपूर्तिका लागि सहजीकरण गर्न चीनले पुनः प्रतिबद्धता जनाएको छ । चिनियाँ मन्त्री यीले नेपाललाई चीनले थप नौ करोड २० लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री तथा उपकरण उपलब्ध गराउने वचनबद्धता दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसबारे परराष्ट्र मन्त्रालयले चीनलाई औपचारिक पत्राचार गर्नेछ । 

चिनियाँ प्रयासमा दक्षिण एसियाका पाँच मुलुक र चिनियाँ विदेशमन्त्रीहरूको भिडियो बैठक भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चिनियाँ विदेशमन्त्री यीले गत वर्ष नेपाल, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरूसँग भिडियो बैठक आयोजना गरेका थिए । चिनियाँ स्टेट काउन्सिलर यीले अध्यक्षता गरेको बैठकमा मुख्य रूपमा कोभिडसँग लड्ने साझा प्रयास, महामारीपछि अर्थतन्त्रलाई पुनर्जीवित गर्ने विषय तथा खोपमा सहकार्य तथा आपूर्तिलगायतका विषयमा छलफल भएको ग्लोबल टाइम्सले जनाएको छ ।

ग्लोबल टाइम्सका अनुसार चीनले भारतलाई पनि यो बैठकमा आमन्त्रण गरेको थियो । ‘बैठकमा नयाँदिल्लीको अनुपस्थिति रहे पनि उसलाई कोभिड महामारीविरुद्ध लडाइँमा सहयोगका लागि प्रतिबद्ध बेइजिङ प्रतिबद्ध छ,’ ग्लोबल टाइम्स अनलाइनले मंगलबार साँझ लेखेको छ । सो अनलाइनअनुसार विदेशमन्त्रीहरूले चीन दक्षिण एसिया इमर्जेन्सी सप्लाइ रिजर्भ निर्माणका लागि सहमति जनाएका छन् । 

बैठकमा चिनियाँ स्टेट काउन्सिलर वाङले अन्य मुलुकहरूको आन्तरिक मामिलामा हस्तक्षेपलाई चीनले सधैँ अस्वीकार गर्ने तथा चीनले खोप राष्ट्रवादलाई पनि नमान्ने उल्लेख गरे । उनले खोपका लागि सहकार्य गर्न चीन तयार रहेको पनि बताए । 

बैठकमा कोभिडको नियन्त्रणबारे चिनियाँ अनुभव प्रस्तुत भएको थियो भने अन्य पाँचै मुलुकले कोभिड नियन्त्रण र रोकथामका लागि चालिएको कदमबारे प्रस्तुतीकरण गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारका प्रयासबारे जानकारी दिएका थिए । उनले कोभिडविरुद्धको लडाइँका लागि र अर्थतन्त्र पुनस्र्थापनाका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिएको परराष्ट्रले जनाएको छ । 

कोरोनाको दोस्रो लहरले पछिल्ला दिनमा भारतको जनजीवन नराम्ररी प्रभावित पारेपछि चीनले भारत वरिपरिका देशसँग सम्बन्ध विस्तार गरिरहेको छ । चीनले भारतमा फैलिँदो कोभिडको दोस्रो लहर नियन्त्रणका लागि सहकार्य गर्ने प्रस्ताव अघि सारेको छ । सार्क मुलुकमध्ये भुटान र मालदिभ्स भारतसँग अत्यन्तै नजिक छन् भने सीमा विवाद तथा वेलावेलामा सीमामा हुने सैनिकहरूबीचको तनावका कारण चीनसँग भारतको सम्बन्ध उतारचढावपूर्ण रहँदै आएको छ । 

बैठकमा चिनियाँ स्टेट काउन्सिलर यी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रीलंकाका परराष्ट्रमन्त्री दिने गुणवर्देना, बंगलादेशका परराष्ट्रमन्त्री एके अब्दुल मेमोन, पाकिस्तानका परराष्ट्रमन्त्री शाह मोहम्मद कुरेसी र अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री मोहम्मद हनिफ अतमार सहभागी थिए । बैठकको सुरुमा चिनियाँ स्टेट काउन्सिलर यीले बोलेका थिए भने त्यसपछि सबैले पालैपालो बोलेका थिए । 

मन्त्रीहरूको बैठकमा चिनियाँ स्टेट काउन्सिलर यीले महामारीविरुद्ध साझा प्रयासमा चीन साथमै हुने भन्दै तीनवटा संयन्त्रको प्रस्ताव गरेका थिए । यसबारे पाकिस्तानी मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । 

See More On

सुझावित समाचार