कोभिड महामारीका कारण काम ठप्प भएकोे माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना निर्माण पुनः सुरु भएको छ । ३७ मेगावाट क्षमताको यो आयोजना नयाँ वर्ष मनाउन ०७६ को माघ दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरू नफर्किएपछि १४ महिनादेखि ठप्प प्रायः थियो । त्यो अवधिमा चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा सामान्य काम मात्र भइरहेको थियो ।
ठेकेदार चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रो इलेक्ट्रिक इन्जिनियरिङले अहिले मुख्य सुरुङ, विद्युत्गृहलगायतका संरचना निर्माणको काम गरिरहेको छ । ‘अहिले ६४ जना चिनियाँ र ८१ जना नेपाली श्रमिकहरू निर्माणमा खटिएका छन्,’ आयोजनाका प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले भने । उनका अनुसार चीनसँगका भन्सार नाकाहरू अझै पूर्ण रूपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरिद गरिसकेका तथा खरिद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरणहरू ल्याउन सकिरहेको छैन । चीनबाट उपकरण आयातका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ मन्त्रालयलगायतका निकायसँग आवश्यक समन्वय भइरहेको गौतमले जानकारी दिए ।
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना फागुन ०७७ भित्र सक्ने लक्ष्य राखी निर्माण सुरु गरिएको थियो । कोभिड–१९ का कारण लगातार १४ महिना काम बन्द भएको र यस वर्षको हिउँदमा पनि काम सुरु हुन नसकेकाले आयोजनाको निर्माण ०७९ चैतभित्रमा सक्ने नयाँ लक्ष्य निर्धारण गरिएको छ ।
४७ प्रतिशत भौतिक प्रगति
इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रो इलेक्ट्रिक इन्जिनियरिङसँग २९ माघ ०७४ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नेछ । अहिले आयोजनाको समग्र भौतिक प्रगति ४७ प्रतिशत छ ।
आयोजनाको ३ दशमलव ८ किलोमिटर मुख्य सुरुङमध्ये १ दशमलव ८ किलोमिटर खनिएको छ । विद्युत्गृहको पहिलो चरणको खन्ने र सपोर्टको काम क्रमशः ७६ र ३५ प्रतिशत सकिएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको क्यास्केड भएकाले त्रिशूली ३ बीले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुपर्नेछैन । ३ एको विद्युत्गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । ३ एको विद्युत्गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङसम्म ल्याउनका लागि आवश्यक पर्ने ‘बक्स कल्भर्ट’ बनाउन सुरु गरिएको छ ।
आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड) बाट लगानी जुटाइएको छ । आयोजनाबाट सुक्खायाममा (१६ मंसिरदेखि १५ जेठसम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (१६ जेठदेखि १५ मंसिरसम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको विद्युत्गृहबाट करिब ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली ३ बी हब सबस्टेसनमा पुर्याई राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिनेछ ।