कोभिडको डरले अक्सिजन कन्सन्ट्रेटरको माग ह्वात्तै बढ्यो

बुधबार, १५ बैशाख, २०७८
डिजिटल संस्करण

विप्लव चापागाईं सेल्स अफिसर, गौतम इन्टरप्राइजेज प्रालि : छिमेकी मुलुक भारतमा अक्सिजनको अभावले कोभिड संक्रमितको अवस्था भयावह बनेको छ । नेपालमा पनि संक्रमित बढ्दै गए अक्सिजनको अभावले मृत्युको मुखमा पुग्न सकिने भयले पनि धेरैले घरमा अक्सिजन जोहो गर्न थालेका हुन् ।

....                   ....

मुलुकमा कोभिड संक्रमणको बढ्दो त्राससँगै सर्जिकल पसलहरूमा ‘अक्सिजन कन्सन्ट्रेटर’ खरिद गर्ने ग्राहकको भिड बढ्न थालेको छ । दमका बिरामीका लागि उपयोग हुने अक्सिजन कन्सन्ट्रेटर पछिल्लो समय घरमा बिरामी नहुनेहरूले पनि लैजान थालेका छन् । कोभिड संक्रमित बढेर अस्पतालमा अक्सिजनको अभाव हुन सक्ने आशंका गर्दै सर्वसाधारणले घरमा अक्सिजन मेसिन जोहो गर्न थालेका हुन् । ‘अरूवेला दमका रोगीहरूले किनेर घरमा लैजाने गर्थे, अहिले अरूले पनि लैजान थालेका छन्,’ त्रिपुरेश्वस्थित जय साईबाबा सर्जिकलका म्यानेजर नवीन भण्डारीले भने, ‘बजारमा अक्सिजनको अभाव हुन सक्ने हल्ला फैलिएपछि अक्सिजन कन्सन्ट्रेटरको बिक्री बढेको हो ।’ सामान्य अवस्थामा महिनाको ५–६ थान बिक्री हुने पसलबाट अहिले दैनिक २–३ वटा अक्सिजन कन्सन्ट्रेटर बिक्री भएको व्यवसायीहरू बताउँछन् ।  

त्रिपुरेश्वरकै साहिल सर्जिकल प्रालिले एक हप्तामा १२ थान अक्सिजन कन्सन्ट्रेटर बिक्री गरेको बताएको छ । ‘घरमा दमका रोगी हुनेहरूले फाट्टफुट्ट किनेर लैजान्थे, कोभिडको दोस्रो लहर सुरु भएपछि अक्सिजन कन्सन्ट्रेटरको माग बढ्न थालेको छ,’ साहिल सर्जिकलका सञ्चालक सञ्जय श्रीवास्तवले भने, ‘हामीसँग त्यति धेरै स्टक थिएन, भएका बिक्री गरेर सकिन थालिसकेका छन् ।’ कोभिड संक्रमित बढेर हस्पिटल भरिन थालेको र अक्सिजनको अभाव हुन सक्ने हल्ला फैलिन थालेपछि धेरैले घरमा अक्सिजनको जोहो गर्न थालेको उनको ठम्याइ छ । 

घरमा बुढाबुढी र बिरामी हुनेहरूका परिवारले कोभिडको महामारीमा सामान्य अवस्थामै हस्पिटलमा जानुनपरोस् भनेर अक्सिजन कन्सन्ट्रेटर किनेर लैजान थालेको साईबाबा सर्जिकलका म्यानेजर भण्डारीको भनाइ छ । उनी भन्छन्, ‘पहिला अक्सिजन कन्सन्ट्रेटर खोज्ने निकै कम हुन्थे, अहिले हुनेखाने परिवारले किनेर लैजान थालेका छन् ।’ पहिला खासै बिक्री नहुने अक्सिजन मेसिन अहिले गर्मी मौसम सुरु भएपछि धेरै खोजी हुन थालेको उनको भनाइ छ ।  

छिमेकी मुलुक भारतमा दैनिक चार लाखसम्म कोभिडका संक्रमितहरू भेटिन थालेका छन् । स्थिति भयावह हुँदै गएपछि राजधानी नयाँदिल्लीका हस्पिटलहरूमा बेड र अक्सिजनको अभावले दैनिक ठूलो संख्यामा बिरामीको मृत्यु भइरहेको समाचार आइरहेका छन् । नेपालमा पनि कोभिड संक्रमित बढ्दै जाने र अक्सिजनको अभाव हुन सक्ने आशंकामा धेरैले घरमा अक्सिजनको जोहो गर्न थालेको गौतम इन्टरप्राइजेज प्रालिका सेल्स अफिसर विप्लव चापागाईंको अनुमान छ । 

भारतमा अक्सिजन कन्सन्ट्रेटर मेसिनको माग ह्वात्तै बढेको छ । अहिले अक्सिजन कन्सन्ट्रेटर मेसिन कालाबजारीमा डेढ लाख भारतीय रुपैयाँसम्म बिक्री हुन थालेको छ । ‘त्यही अवस्था देखिरहेका नेपालीहरूले पहिल्यै कन्सन्ट्रेटर मेसिन किनेर ढुक्कसँग बस्न खोजेको देखिन्छ,’ त्रिपुरेश्वरकै हिमालय सर्जिकल हाउसका युवराज बेल्वासे भन्छन्, ‘अनलाइनमार्फत अर्डर गरेर घरमै अक्सिजन मेसिन मगाउनेहरू पनि धेरै हुन्छन् ।’    

सुझावित समाचार