बाँके : भेरी अस्पतालभित्र र बाहिर कोरोना संक्रमितको शव
बाँकेबाट विश्वराज पछल्डङ्ग्या
नेपालगन्जस्थित भेरी अस्पतालको कोरोना वार्डबाहिर एउटा शव राखिएको छ । आइसोलेसनमा भर्ना भएका कोरोना संक्रमितका आफन्त र भर्नाका लागि आउनेहरू शवको छेउ भएर यताउता गरिरहेका छन् । शवको वरिपरि आफन्त पनि कोही देखिँदैनन् । कोरोना अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी घरी यता घरी उता गरिरहेका छन् । शव कुर्ने र हेर्ने कोही छैनन् । मुख्य सडक नजिकैको कुनाजस्तो ठाउँमा राखिएको शव प्लास्टिकको झोलामा प्याक गरिएको छ । स्ट्रेचरमा राखिएको शव हेर्ने कसैको ध्यान छैन । नजिकै ड्युटीमा रहेका कोरोना विशेष अस्पतालका सेक्युरिटी गार्डले शवतर्फ वेला–वेला पुलुक्क हेर्छन्, तर केही बोल्दैनन् ।
आइतबार दिउँसो ४ बजेतिर भेरी अस्पतालको कोरोना अस्पतालबाहिर अर्को शव राखिएको छ । चर्को घाममा राखिएको शव हेर्ने पनि कोही छैनन् । निलो प्लास्टिकको झोलामा प्याक गरिएको शव वरिपरि आफन्त र अस्पतालका कोही पनि छैनन् । शवभन्दा झन्डै २० मिटर ढाटा बसेका तीनजना व्यक्ति शवलाई नियालिरहेका छन् । सायद उनीहरूको आफन्तको शव हुनुपर्छ । एउटा शव बाहिर र अर्को शव आइसोलेसन बाहिर रहेकै वेला साइरन बजाउँदै एम्बुलेन्स भेरी अस्पताल परिसरमा प्रवेश गर्छ । र, शव नजिकै आएर रोकिन्छ । एम्बुलेन्स शव लिन आएको जानकारी पाएपछि केही पर बसेकाहरू झटपट उठ्छन् र मोड्न लगाउँछन् । तर, एम्बुलेन्स आएको आधा घन्टासम्म शव उठ्न सकेन ।
अस्पताल परिसरमा स्वाब दिनेको भिडभाड
भेरी अस्पतालको प्रयोगशालाअगाडि स्वाब दिनेको भिडभाड छ । स्वाब दिन बिहानै आएकाहरूले ४ बज्दासमेत पालो पाएका छैनन् । पालो आउने व्यग्र प्रतीक्षामा रहेकाहरूको अनुहार मलिन छ । दिनभर घाममा बसेर पालो कुरेकाहरू थकित देखिन्छन् । पालो आएपछि युद्ध जितेभन्दा ठूलो उपलब्धि ठान्दछन् सर्वसाधारण ।
नेपालगन्ज उपमहानगरपालिका–२० का प्रकाश शर्मा पनि पिसिआर परीक्षणका लागि स्वाब दिने लाइनमा छन् । बिहान १० बजे भेरी अस्पताल पुगेको बताउने उनको पालो आउने कुनै पत्तो छैन । ‘छिटो पालो आउने आशामा खाना नखाएर आएँ, तर अहिलेसम्म पालो आएको छैन । जतिवेला पालो आए पनि बस्नै पर्यो,’ उनले भने ।
बाँकेमा कोरोना संक्रमण बढेसँगै पिसिआर परीक्षण गराउन आउनेको संख्या पनि बढेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले बताए । उनले पछिल्लो समय दैनिक पाँच–सात सयको हाराहारीमा कोरोना परीक्षणका लागि स्वाब दिने गरेको बताए । ‘स्वाब परीक्षण गराउन आउनेको भिड थामिनसक्नु छ । शुल्क सस्तो र भरपर्दो भएर होला अधिकांश सर्वसाधारण भेरीको ल्याबमा जाँच गराउँछन्,’ डा. थापाले भने ।
कोभिड वार्डको सबै बेड भरिभराउ
भेरी अस्पताल विशेष कोरोना अस्पतालको कोभिड वार्ड प्रसूतिगृहका लागि निर्माण गरिएको भवनमा सञ्चालन भइरहेको छ । एक सय ४२ बेडको वार्डका सम्पूर्ण बेड बिरामीले भरिएको छ । वार्डमा स्वास्थ्यमा जटिल समस्या देखिएका कोरोनाका बिरामीलाई मात्र राखिएको छ । वार्डमा रहेका अधिकांशको मुखमा अक्सिजन लगाइएको छ । त्यहाँ पुग्दा कोही खोक्दै थिए ।
मुखमा अक्सिजन लगाएका कोही बसेर टुलुटुलु हेरिरहेका थिए । कोही बेडमा सुतिरहेका थिए । कुनै बिरामीका आफन्तनजिकै बसेर आफ्नो बिरामी नियालिरहेको देखिन्थ्यो । समस्या भएका बिरामीलाई वार्डमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीले उपचार गरिरहेका थिए । वार्ड एकछिन पनि छोड्न मिल्दैन । ‘एकछिनमै बिरामीलाई समस्या भयो भनेर आफन्नहरू दौड्दै आइहाल्छन्,’ भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले भने, ‘आराम गर्ने फुर्सद एकछिन छैन ।’
आइतबारसम्म ३७ संक्रमितको मृत्यु
भेरी अस्पतालमा दैनिक तीन–चारजना कोरोना संक्रमितको मृत्यु हुने गरेको अस्पताल प्रशासनले जनाएको छ । आइतबार मात्रै १० जना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार १ देखि १२ वैशाखसम्म ३७ जनाको मृत्यु भएको छ । ११ वैशाखसम्म बाँकेमा दुई हजार नौ सय तीनजनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)का फोकल पर्सन तेजबहादुर ओलीले बताए ।
लुम्बिनी : पाँच हजार सक्रिय संक्रमित
बुटवलबाट विष्णु घिमिरे
लुम्बिनी प्रदेशमा सक्रिय संक्रमितको संख्या पाँच हजार पुगेको छ । शनिबारसम्म संक्रमितको संख्या चार हजार ६ सय ३१ जना थियो । बाँके र रुपन्देहीमा संक्रमणदर उच्च छ । रुपन्देहीमा आइतबार मात्रै २०४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा एक सय २२ पुरुष र ८२ महिला छन् । जिल्लामा हाल उपचारमा रहेका संक्रमितको संख्या एक हजार २४६ छ ।
बाँकेमा दुई हजार पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् । प्रदेशअन्तर्गत रोल्पा र रुकुममा भने संक्रमितको संख्या कम छ । प्रदेशमा कोरोना संक्रमण वृद्धि हुँदा बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालसहित चारवटा कोरोना अस्पतालमा बिरामी भरिएका छन् ।
प्रदेशमा बुटवलको कोरोना अस्पताल, भीम अस्पताल, भेरी अस्पताल, बेलझुन्डी कोरोना विशेष अस्पताल छन् । लुम्बिनीमा रहेका चारवटा विशेष कोरोना आइसोलेसन अस्पतालमा एक सय ९२ बेड छन् । आइसियू ३९, मोनिटर (एचडियू) १०३ र भेन्टिलेटर २१ वटा छन् । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा रहेको ३६ आइसोलेसन बेडलाई बढाएर ६० पुर्याइँदै छ । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराई एक साताभित्र ६० बेडमा पुर्याउने र सबै अक्सिजनयुक्त बेड हुने बताउँछन् ।
कर्णाली : प्रदेश अस्पतालमा जम्मा ४० सिलिन्डर अक्सिजन
वीरेन्द्रनगरबाट रमेश रावल
कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको अभाव देखिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा कर्णाली प्रदेश अस्पतालमा अक्सिजनको अभाव भएको हो । कर्णाली प्रदेश अस्पतालमा हाल ४० वटा मात्र अक्सिजन सिलिन्डर छन् । १९ जना संक्रमितले उपचार गराइरहेका छन् । ती सबैलाई अक्सिजन दिनुपर्ने अवस्था सिर्जना भएकोे कर्णाली प्रदेश अस्पतालले जानकारी दिएको छ ।
अक्सिजन सहायतामा राख्नुपर्ने १९ मध्ये चारजना संक्रमितलाई भेन्टिलेटरसहितको सहयोगमा राखिएको कोरोना फोकल पर्सन डा. केएन पौडेलले बताए । ‘भेन्टिलेटरमा राखिएका बिरामीलाई दुई–तीन घन्टामा एउटा अक्सिजन सिलिन्डर फेर्नुपर्छ,’ उनले भने, ‘कोरोना संक्रमणका थप बिरामी आए अस्पतालमा उपचार गर्ने क्षमता पुग्दैन ।’ कर्णाली प्रदेश अस्पतालमा हाल २५ आइसियू र आठवटा भेन्टिलेटर बेड छन् ।
सुदूरपश्चिम : सेती र महाकाली अस्पतालका आइसियू भरिभराउ
कञ्चनपुरबाट मोहन विष्ट
दिनप्रतिदिन बढिरहेको कोरोनाको दोस्रो लहरले सुदूरपश्चिमलाई पनि गाँज्दै लगेको छ । सीमानाका हुँदै भारतबाट फर्किएकाहरूलाई नाकामै परीक्षण, क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न नसक्दा सुदूरपश्चिमका गाउँगाउँमा कोरोनाको डढेलो सल्कँदै गएको हो ।
सेती र महाकाली अस्पताल कोरोना संक्रमितले भरिभराउ छन् । आइसियू बेडको तुलनामा सक्रिय लक्षणसहितका संक्रमितको संख्या बढिरहेको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले आइसियूका १५ वटै बेडमा राखेर संक्रमितको उपचार भइरहेको जानकारी दिए । ‘अस्पतालमा भएका सबै १५ वटा आइसियू बेडमा संक्रमित छन्,’ उनले भने, ‘अब एकजना गम्भीर बिरामीलाई पनि उपचार गर्न सक्ने अवस्था छैन ।’ सेती प्रादेशिक अस्पतालमा आइतबार १५ नयाँ संक्रमित थपिएका छन् । हाल आइसोलेसनमा राखेर ५५ को उपचार भइरहेको छ ।
महाकाली अस्पतालको अवस्था पनि त्यस्तै छ । यहाँ रहेका ६ वटा आइसियू बेडमा बिरामी छन् । थप गरिएका आठ बेडमा भेन्टिलेटर र जनशक्ति छैन । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले आइसियूका लागि थप गरिएका आठवटा बेड रित्तै रहेको बताए । ‘थपिएका बेडमा भेन्टिलेटर र जनशक्ति व्यवस्थापन भएको छैन,’ उनले भने, ‘हामीले हाम्रोतर्फबाट तयारी गरेका छौँ, तर प्रदेश र संघीय सरकारले जनशक्ति र भेन्टिलेटर दिएको छैन ।’
सुदूरपश्चिम प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार एक सय ६१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । एक सय ३९ को पिसिआर विधिबाट परीक्षण गर्दा ५७ जनामा कोरोना देखिएको छ । डडेल्धुरा अस्पताल ४, सेती १५ महाकाली ३८ जनामा कोरोना थपिएका छन् । सात सय ४७ को एन्टिजिन प्रविधिबाट कोरोना परीक्षण गर्दा गड्डाचौकी नाकामा ३५, झुलाघाटमा २, गौरीफन्टामा ६७, गरी एक सय सातजनामा कोरोना देखिएको हो ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले स्रोत–साधनले भ्याएसम्म प्रदेश सरकार कोरोना रोकथाम एवं नियन्त्रणका लागि खटिएको बताए । ‘यो महामारीको वेला हो, ‘उनले भने, ‘भारतजस्तो देशले त रोक्न सकेको छैन, हामीले कहाँ सक्छौँ ।’ सीमाक्षेत्रमा होल्डिङ सेन्टर स्थापना गर्ने काम संघीय सरकारको भएको बताउँदै उनले नेपाल प्रवेश गर्ने सबैको कोरोना परीक्षण गर्न समस्या भइरहेको बताए ।
गण्डकी : संक्रमित बढे पनि छैन स्वास्थ्य मापदण्डको पालना
पोखराबाट गोविन्द सुवेदी
कोरोना संक्रमणको जोखिम बढ्दै गए पनि गण्डकी प्रदेशका जिल्लाहरूमा स्वास्थ्य मापदण्ड पालना हुन सकेको छैन । संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । तर, नागरिकले सतर्कतामा खासै चासो देखाएका छैनन् । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता नवराज शर्माले पछिल्ला दिनमा कोरोना संक्रमण निको हुनेभन्दा संक्रमित थपिने दर बढेको बताए । तर, नागरिकमा यसप्रति खासै चिन्ता नदेखिएको उनको भनाइ छ ।
प्रदेश राजधानी रहेको कास्कीका केही मुख्य बजार क्षेत्रमा मास्क लगाएका नागरिक देखिए पनि भित्री क्षेत्र र अन्य जिल्लाका अधिकांश ठाउँमा स्वास्थ्य मापदण्डको पालना नभएको उनले बताए । कोरोनाको पहिलो लहरको समयमा सबैखाले कार्यालयहरूमा प्रवेश गर्नुअगाडि साबुनपानीले हात धुने या स्यानिटाइजर गर्ने प्रबन्ध गरिएको हुन्थ्यो । तर, यसपटक अधिकांश कार्यालयमा यस्तो व्यवस्था छैन ।
आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले मास्क नलगाउनेहरूको चेकजाँच गरेको थियो । त्यसक्रममा पोखरा महानगरका मुख्य चोकहरू चिप्लेढुंगा, पृथ्वीचोक र अम्मरसिंह चोकमा थोरै समय निगरानी गर्दा पनि मास्क नलगाएका सात सयजना फेला परेका थिए । उनीहरूलाई एक घन्टा होल्ड गरिएको प्रहरी प्रवक्ता सुवास हमालले बताए ।
सरकारले स्वास्थ्य मापदण्ड तोक्दै २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको छ । तर, कास्कीका पार्टी प्यालेसहरूमा भिड रोकिएको छैन । एउटै पार्टी प्यालेसमा एकै दिन तीनवटासम्म विवाह भएको पाइएको छ । यस्तो अवज्ञाको परिणाम केही साताभित्रै भोग्नुपर्ने हुन सक्ने छातीरोग विशेषज्ञ डा. सिपी आचार्यले बताए । अहिलेको अवज्ञा र बेवास्ता नरोकिए केही दिनभित्रै नेपालगन्जको जस्तै अवस्था गण्डकीका जिल्लामा पनि आउन सक्ने डा. आचार्यले चेतावनी दिए । गण्डकी प्रदेशमा पहिलो लहरको प्रभाव पनि ढिला मात्र परेको भन्दै उनले दोस्रो लहरले क्षति पुर्याउनुअघि नै सतर्क हुन आह्वान गरे ।
गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा पाँच सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश राजधानी पोखरा रहेको कास्कीमा मात्र यो अवधिमा दुई सय २४ जना संक्रमित थपिएका हुन् । कास्कीमा आइतबार एक सय १४ जना संक्रमित थपिएका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
सिंगो प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या आइतबारसम्म ८८० रहेको छ । संक्रमितमध्ये प्रदेशमा ७७३ जना होम क्वारेन्टाइनमै बसेका छन् । ४६ जना संक्रामक तथा सरुवा रोग अस्पताल शिशुवा र केही निजी अस्पताहरूमा उपचार गराइरहेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।