पछिल्लो २४ घन्टामा देशभर थप दुई हजार ६ सय १९ जनामा कोभिड– १९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार आठ हजार ६ सय ६८ जनाको स्वास्थ्य परीक्षण भएको थियो ।
सात हजार पाँच सय २५ जनाको पिसिआर र एक हजार एक सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः दुई हजार चार सय ८६ र एक सय ३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस अवधिमा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ ।
पछिल्लोपटक काठमाडौंमा ६ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेका तीन सय ५२, रुपन्देहीका दुई सय ६८, दाङका एक सय ७२ र ललितपुरका एक सय ४१ जनामा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा सक्रिय संक्रमितको संख्या पाँच सय नाघिसकेको छ ।
अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ९७ हजार ८६ पुगेको छ । त्यस्तै, पछिल्लो समय थप तीन सय ६८ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या दुई लाख ७७ हजार एक सय २३ रहेको छ ।
निको हुने दर भने ९३ दशमलव तीन प्रतिशत छ । अहिले देशभर १६ हजार आठ सय २८ सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ७१ क्वारेन्टिनमा छन् । अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २३ लाख ९५ हजार सात सय २५ को पिसिआर परीक्षण भएको छ । हालसम्ममा तीन हजार एक सय ३६ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।