फेवाताल फैलावट बढाउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा ढिलाइ हुँदा अतिक्रमणकारीहरूले ताल किनारमा अवैध संरचना बढाउने क्रमलाई तीव्रता दिएका छन् । फेवा ड्याम मर्मत भएर अहिले ताल भरिने क्रममा छ । ताल सुकाइएका वेला बनाउन सुरु गरिएका अवैध संरचना निर्माणको कार्य भने रोकिएका छैनन् ।
तालको दलदले क्षेत्रमा पुरेर प्लटिङ गर्ने कामले निरन्तरता पाइरहेको छ । दलदले क्षेत्र पुर्ने, ताल किनारमा डोजर लगाएर सम्याउने र पर्खाल बनाउने क्रम रोक्न आफूले बारम्बार महानगर नेतृत्वलाई आग्रह गर्दासमेत रोक्न नसक्दा आफूलाई दिक्क लागेको पोखरा महानगर १८का अध्यक्ष रणबहादुर थापाले बताए । ‘धेरै ठाउँमा पुर्ने, सम्याउने र पर्खाल लगाउने काम भएका छन् । जति नै गर्दा पनि त्यसलाई रोक्न सकिएन,’ उनले भने ।
यसैबीच नागरिक दबाबपछि तालको खपाैँदी क्षेत्रमा बनाइएको संरचनालाई पोखरा महानगरले डोजर प्रयोग गरेर शुक्रबार भत्काइदिएकोे छ । उक्त क्षेत्रमा गत २७ र २८ मंसिरमा पनि यसरी नै बनाइएको संरचना महानगरले डोजर लगाएर भत्काइदिएको थियो ।
नागरिक समाज पोखराका पूर्वअध्यक्षसमेत रहेका नागरिक अभियन्ता रामबहादुर पौडेल र नागरिक समाजको दबाबपछि महानगरले पुन कंक्रिट पर्खाल भत्काइदिएको हो । जग्गाधनी खगराज आचार्य र उनका सहयोगी स्थानीयले प्रहरीसहित पुगेको डोजर चलाउन सुरुमा रोकेका थिए । त्यसक्रममा स्थानीय र प्रहरीबीच धकेलाधकेलसमेत भएको थियो । स्थानीय सेतु आचार्यले डोजरमा उभिँदै डोजर चलाएर देखाउन चुनौती दिँदा उनलाई अन्य स्थानीयले साथ दिएका थिए ।

नागरिक अभियन्ता पौडेलमाथि खनिए स्थानीय
खपौंदी क्षेत्रको फेवा किनारमा कंक्रिट पर्खाल बनाइएपछि महानगरलाई ध्यानाकर्षण गराएका नागरिक समाजका अगुवा रामबहादुर पौडेलमाथि स्थानीय जाइलागेका छन् । महानगरलाई उचालेर आफ्नो जग्गामा डोजर चलाउन लगाएको भन्दै उनीहरू जाइलागेका हुन् ।
ताल किनारमा मापदण्डविपरीत अवैध घरहरू बन्दा मौन बस्ने नागरिक समाज आफूहरूले सौन्दर्यीकरण गर्न खोज्दा विरुद्धमा लागेको उनीहरूको आरोप थियो । डोजर चलाउनेस्थलमै पुगेका अभियन्ता पौडेललाई उपस्थित स्थानीयको भिडले नारावाजी गर्दै आक्रमणको थम्कीसमेत दियोे । कालोमोसो लगाउने भन्दै आक्रमणको धम्की दिएपछि उनलाई त्यहाँबाट सुरक्षित पठाइएको थियो ।
अभियन्ता पौडेलले भने आफूहरूले जहिले पनि राष्ट्रिय सम्पदा जोगाउन लागिपरेको र महानगरलाई दबाब दिइरहेको प्रस्टीकरण दिएका थिए । ‘हामी कोही कसै विरुद्ध लाग्दैनौँ । हाम्रो काम राष्ट्रिय सम्पदा बचाउन सरकारलाई दबाब दिने हो । ताल र सिम्सार क्षेत्र जोगाउ भनेर सरकारलाई भन्ने हो । हाम्रो कसैप्रति दुराशय छैन र रहँदैन । अन्यत्र पनि हामीले मापदण्ड कायम गर्न दबाब दिएका हौँ, दिइरहन्छौँ’ उनले भने ।
स्थानीय भूपालसिंह ढकालका अनुसार माफियाहरूले ताल साँघुरिएसँगै निस्कने जग्गामा कब्जा जमाइहाल्ने गरेका छन् । ‘तालको किनारा विभिन्न कारणले खुम्चिन्छ अनि माफियाहरुले यसरी नै भूमि बढाउने काम गर्छन । यहाँ मात्र होइन तालको अधिकांश किनारामा यसैगरि अतिक्रमण गर्ने काम भएको छ,’ उनले भने ।
वडाध्यक्ष थापाका अनुसार फेवातालको त्यस क्षेत्रमा पछिल्लो क्रममा मापदण्ड मिचेर अवैध संरचना बनाउने होडबाजी नै चल्ने गरेको छ । सेतीको दलदलेमा यतिबेला कंक्रिट पर्खाल लगाउने र माटो भर्दै घडेरीमा परिणत गर्ने क्रम जारी छ । तालको सतह घटाइएका वेला डोजरको प्रयोग गरेर दलदले क्षेत्रमा पानीको निकास दिइएको थियो । त्यसैगरी वाटरफ्रन्ट रिसोर्ट पछाडि सेदीमा सेदी खोलालाई नै डाइभर्ट गर्ने गरी पर्खाल लगाउने र पुर्ने क्रम चलेको छ । पछिल्लो समय पानीको सतह घटाइएका वेला चलखेल गर्नेहरू बढेको वडा नम्बर १८ का अध्यक्ष थापाले स्विकारे ।

फेवाको दूषित जग्गा पहिचार र गुरुयोजना बन्ने क्रममा
१६ वैशाख ०७५ मा सर्वाेच्चले दिएको फैसलाको पूर्ण पाठअनुरूप आदेश प्राप्त भएको ६ महिनाभित्र फेवातालको चारकिल्ला सीमांकन गरिसक्नु पर्ने हो । गत २ फागुनमा तालको सीमांकनको काम सम्पन्न भएर मन्त्रिपरिषद्मा सिफारिस भएपछि ११ फागुनमा मन्त्रिपरिषद्ले तालको नयाँ सीमांकन गरेको हो ।
फेवातालको नयाँ क्षेत्रफल ११ हजार दुई सय ५५ रोपनी (५.७२ वर्ग किलोमिटर) निर्धारण भएको छ । अहिले तालको दूषित जग्गा छानबिनको काम भइरहेको फेवातालको चरकिल्ला निर्धारण तथा सीमांकन समितिका संयोजक पुण्य पौडेलले जानकारी दिए । उनका अनुसार तालको २७ सय रोपनी हाराहारीको दूषित जग्गा पहिचानको काम भइसकेको छ । त्यसैगरी तालको गुरुयोजना निर्माणको काम भइरहेको उनले बताए ।
तालको सीमांकन र नक्सांकन नभए पनि पहिलेको मापदण्ड अहिले पनि रहेको र त्यसअनुरूपको संरक्षणमा महानगरपालिका लाग्नुपर्ने उनले बताए । पछिल्लो समय ताल–किनारामा अतिक्रमण बढेको उनले पनि स्वीकार गरेका छन् ।
यसलाई रोक्न आफूले पोखरा महानगरका मेयर मानबहादुर जिसी र कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई आग्रह नै गरेको उनले जानकारी दिए । ‘तालको सीमांकनको काम भइसकेको छ । यसको ६५ मिटर मापदण्डपछि तोकिन्छ । अहिले नै फेवातालको एक खालको मापदण्ड छ । त्यसै आधारमा महानगर र प्रशासनले संरक्षण गर्नुका साथै थप अतिक्रमण गर्न दिन भएन,’ उनले भने ।