सेतो बोर्डमा कालो अक्षर लेखेर पढ्ने धोको मेट्दै मुसहर बुहारी

सन्तानको विवाह बीस वर्ष पारी गर्ने संकल्प

शनिबार, ११ बैशाख, २०७८
डिजिटल संस्करण

तीन सन्तानकी आमा फुल्झारोदेवी सदा अहिले कखरा सिक्नमा व्यस्त छिन् । उमेरले २० ’२२ पुगेकी सदाको पहिलो सन्तान छ वर्षको पुग्यो । उनी भन्छिन्, ‘पढ्ने रहर थियो । तर, पढ्न पाइएन । अहिले त्यो धोको सेतो बोर्डमा कालो अक्षर लेखेर मेट्दै छु । सरले पढाएको कुरा आधाभन्दा बढी बिर्सिन्छु । घरपरिवार चलाउन र बालबच्चा पाल्न नै समय अपर्याप्त हुँदासमेत सक्नेजति सिक्ने प्रयास गरिरहेकि छु । केही अक्षर चिनेकी छु ।’ 

आफ्नो बिहे कम उमेरमै भए पनि सन्तानको विवाह भने २० वर्ष पारि नै गर्ने उनको संकल्प छ । ‘शिक्षा नभएकै कारण अभिभावकले कम उमेरमा बिहे गराइदिए । अहिले कक्षामा आउन थालेपछि कम उमेरको विवाहका कारण आउने समस्या आफैँले भोग्दा पछुतो भइरहेको छ ।’

तीनमहिने कार्यक्रमअन्तर्गत पढाउन सुरु गरिएकोमा अहिले तीन महिना पुग्नै लागेको र अझै पढ्ने धोको नमेटिएको बताउँदै उनी समुदायमै थप पढाइको व्यवस्था हुनसके अझै पढ्न लालायित भएको उनी बताउँछिन्। 

उनी युकेएड र डिएफआइडीको आर्थिक सहयोग,स्ट्रिट चाइल्ड अफ नेपालको नेतृत्व र आसमान नेपाल,जानकी महिला जागरण समाज तथा सहयोगी हातहरूको समूहको सहकार्यमा सञ्चालित ब्रेकिङ द बाेन्ड र मार्जिनलाइज्ड नो मोर परियोजनाअन्तर्गतको जीवन उपयोगी शिक्षा कार्यक्रमअन्तर्गत अक्षर चिन्ने मौका पाएकी हुन् । 

मटिहानी नगरपालिका–९ सिमरदहीको अति विपन्न मुसहर बस्तीका १५ जना किशोरीहरू उनीसँगै कखरा सिक्दै छिन् । सोमध्ये १० जना विवाहिता किशोरी छन् ।  सोही वडाको अर्को मुसहर बस्तीमा २० जना किशोरीहरू अक्षर चिन्दै गरेकोमा उक्त समूहमा पनि  ६ जना विवाहिता किशोरीले पढिरहेका छन् ।  

कम उमेरमै विवाह भएर अक्षरसँग भेट हुन नपाएका किशोरीहरू मौका मिल्दा भने अक्षर चिन्न थालेपछि समुदायमा परिवर्तन आउन थालेको मटिहानी नगरपालिकाकी उपमेयर शिवोदेवी साह बताउँछिन् । 
 

सुझावित समाचार