बाँकेमा कोरोना संक्रमणका कारण २४ घन्टाभित्रमा सातजना बिरामीको उपचारको क्रममा ज्यान गएको छ । आज बिहानै नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि बिहान १:२१ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार, बितेको २४ घन्टामा बाँकेमा उपचाररत सातजना संक्रमितको मृत्यु भएको छ । जानकी गाउँपालिका–१ बाँकेनिवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको थियो भने राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको थियो ।
यसैगरी, भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए ।
योसँगै कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ । भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा आज थप २५० मा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा २६९ जनाको नमूना स्वाब परीक्षण गर्दा २५० जनामा भाइरस पुष्टि भएको छ ।
दाङमा थप एक कोरोना संक्रमितको मृत्यु
तुलसीपुर : दाङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल घोराहीमा उपचाररत घोराही उपमहानगरपालिका–१५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार राति ११ बजेतिर मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुन्डीका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।
उनलाई वैशाख १ गतेदेखि आइसियूकक्षमा राखेर उपचार गरिएको थियो । उनमा निमोनियासमेत थियो । योसँगै कोरोना अस्पताल बेल्झुन्डीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।