देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १४ हजार सात सय २४ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्रै दुई हजार पाँच सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म दुई लाख ९४ हजार ६ सय एकजना संक्रमित भइसकेका छन् । तीमध्ये दुई लाख ७६ हजार पाँच सय ७५ जना निको भएका छन् । अहिलेसम्म संक्रमणबाट तीन हजार एक सय २२ जनाको ज्यान गइसकेको छ ।
शुक्रबार देशभर एक सय ७३ जना आइसियू र ५७ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ मा ११ संक्रमित आइसियूमा उपचाररत छन् । बागमतीमा ७२ जनालाई आइसियू र ३९ जनालाई भेन्टिलेटरमा राखिएको छ । त्यस्तै, लुम्बिनीमा ६५ जना आइसियू र १४ जना भेन्टिलेटरमा छन् । गण्डकीमा आइसियू र भेन्टिलेटरमा एक–एकजना तथा कर्णालीमा १४ जना आइसियूमा उपचाररत छन् । त्यस्तै, सुदूरपश्चिममा १० जना आइसियू र तीनजनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
संक्रमितहरूको संख्या बढ्दै गएपछि उपत्यकाका सरकारी अस्पतालका बेड भरिन थालेका छन् । बिरामीले बेड पाउन पालो कुर्नुपरेको छ । कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालले बेड भरिएपछि बिरामी भर्ना लिन बन्द गरेको छ । बाँकेकै भेरी अस्पतालमा बेड खाली नभएर गम्भीर बिरामीलाई समेत बाहिरै राखिएको छ ।