लामो पुल हेर्न पैसा तिर्नुपर्ने निर्णय फिर्ता

शुक्रबार, १० बैशाख, २०७८
डिजिटल संस्करण

चौतर्फी विरोधपछि बाग्लुङ नपा निर्णयबाट पछि हट्यो

बाग्लुङ नगरपालिका– १ रामरेखाबाट पर्वत कुस्मा नगरपालिका– १ पाङ अदुवाबारी जोड्ने लामो पुलमा सर्वसाधारणसँग शुल्क उठाउने निर्णयबाट बाग्लुङ नगरपालिका पछि हटेको छ । शुल्क उठाउने निर्णयको चौतर्फी विरोध भएपछि नगरपालिकाले निर्णय फिर्ता लिएको हो । 

संघीय सरकारको सहयोगमा हालै निर्माण सम्पन्न भएको पुल सञ्चालन खर्चबापत भन्दै नगरपालिकाले प्रतिव्यक्ति २० देखि ५० रुपैयाँसम्म शुल्क उठाउने निर्णय गरेको थियो । नगरपालिकाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि पुल तरेको शुल्क नलाग्ने स्पष्ट पारेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले मंगलबारदेखि नै लागू हुने गरी निर्णय फिर्ता गरिएको बताए । 

नगरपालिकाले चैतेदसैँका दिन कालिका मन्दिरमा भिड भएको र सोही अवसर पारेर नगरपालिकाले पुल तरेको २० रुपैयाँ लिन थालेको थियो । दुई नगरपालिकाका स्थानीय नागरिकका हकमा भने यो लागू नहुने बताइएको थियो । तर, पुल तर्नसमेत पैसा लिन थालिएपछि नयाँ पत्रिकालगायत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको थियो । यस्तै, सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो । विद्यार्थी संगठनहरूले समेत निर्णय सच्याउन माग गरेका थिए । 

याे पनि पढ्नुहाेस् : पुल तर्नेसँग पनि बाग्लुङ नगरपालिकाले पैसा असुल्न थाल्यो

See More On

सुझावित समाचार