भेरी अस्पतालमा तीन घन्टामा तीन संक्रमितको मृत्यु

आइतबार, ५ बैशाख, २०७८
डिजिटल संस्करण

बाँकेमा गएराति भेरी अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीनजना संक्रमितकाे मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोतव्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका– १ बर्दियानिवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ बजे मृत्यु भएको थियो । त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका– ८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भयाे ।

गत चैत ३१ गते कोरोना संक्रमण देखिएपछि वैशाख १ गते अस्पताल भर्ना गरी उपचारकै क्रममा गएराति ७:४० बजे उनको मृत्यु भएको हो ।  भेरी अस्पतालमै उपचाररत नारायण नगरपालिका– १ दैलेखनिवासी ६८ वर्षीया महिलाको पनि गएराति नै निधन भएको छ । 

गत चैत ३० गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना गरी उपचार गराइरहेकोमा स्वास्थ्यमा सुधार नआएपछि उपचारकै क्रममा शनिबार राति ९:३० बजे  उनको मृत्यु भएको कोरोना स्रोतव्यक्ति वलीले बताए ।    
     
बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ९६ पुगेको छ भने बाँके जिल्लानिवासी ६० जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।     

 

See More On

सुझावित समाचार