क्रिएसन र कोकाकोला फाउन्डेसनको संयुक्त स्वास्थ्य शिविर

सोमबार, ३० चैत, २०७७
डिजिटल संस्करण

 क्रिएसन, कोकाकोला फाउन्डेसन र बोटलर्स नेपाल (तराई) को संयुक्त सहयोगमा सफाइकर्मीका लागि व्यावसायिक सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविर आयोजना गरिएको छ । 

विश्व स्वास्थ्य दिवस २०२१ को अवसरमा आयोजित कार्यक्रममा कामपछि गर्नुपर्ने सुरक्षा उपायहरू, विभिन्न सुरक्षा सामग्रीको प्रयोग, साइटमा व्यावसायिक दुर्घटनाहरूको रोकथाम र सुरक्षित भएर काम गर्ने अवस्थालगायत विषयमा प्रशिक्षण दिइएको थियो । सुरक्षा गियरसहित सुरक्षात्मक जुत्ता, टोपी, ज्याकेट, मास्क र ग्लोब्सहरू पनि सफाइकर्मीलाई हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ । साइटहरूमा आगो दुर्घटना र अन्य जोखिमलाई ध्यानमा राख्दै प्रत्येक साइटमा आगो निभाउने उपकरण र अन्य सुरक्षा सुविधाहरू पनि राखिएको थियो ।

डा. अनुजराज कँडेलको नेतृत्वमा रहेको स्वास्थ्य शिविरमा सफाइकर्मीको स्वास्थ्य समस्या र मुद्दाका विषयमा छलफल पनि गरिएको थियो । कार्यक्रममा क्रिएसनका संस्थापक र प्रेसिडेन्ट आनन्द मिश्राले भने, ‘वेस्ट वोर्कर्सको असुरक्षित काम गर्ने स्थितिले उनीहरूको आजीविकालगायत हाम्रो वातावरण र समाजलाई जोखिममा पार्छ । हामी उनीहरूलाई सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरहरूका माध्यमबाट सहयोग पुर्याउँदै आएका छौँ र कोकाकोला फाउन्डेसनले गर्दै आएको सहयोगमा उनीहरूका लागि अझ राम्रो र स्वस्थ जीवनका लागि हाम्रो प्रयास जारी राख्नेछौँ ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘फोहोर र रिसाइकलिङ उद्योगमा काम गर्नेहरूले धेरै व्यावसायिक स्वास्थ्य जोखिमहरूको सामना गर्छन् । हामी यस्ता हिरोहरूको वीर प्रयासहरूलाई समर्थन गर्न विनम्र छौँ, जसले आफ्नो स्वास्थ्य जोखिममा लिन्छन् र हाम्रो ग्रहलाई सफा बनाउन हरेक दिन खटिन्छन् ।’

उक्त कार्यक्रमको पहुँच सतुंगल, टेकु, बालकुमारी र जोरपाटीका ६ वटा विभिन्न साइटहरूका ६७ सफाइकर्मीसम्म पुगेको थियो । 

सुझावित समाचार