गणेशमान सिंहको संघर्ष पुस्तकमा आउँदै

शुक्रबार, २७ चैत, २०७७
डिजिटल संस्करण

सर्वोच्च नेता गणेशमान सिंहको बारेमा उनकी छोरी डा. मीता सिंहद्वारा लिखित संस्मरणात्मक पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ चाँडै नै बजारमा आउन लागेको छ । यही क्रममा बिहीबार २६ चैत ०४६ सालको जन–आन्दोलन सफल भएको दिनको सम्झनामा पुस्तकको कभर सार्वजनिक भएको छ । 

प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलन सर्वोच्च नेता सिंहकै नेतृत्वमा भएको थियो । यो पुस्तकले नेपाली राजनीति र  समाज रूपान्तरणमा गणेशमान सिंहको योगदान र संघर्षका बारेमा जानकारी दिने विश्वास लिएको डा. नीताको भनाइ छ ।

उनले यो पुस्तकमा प्रतिकूल अवस्थामा आन्दोलनको नेतृत्व गरिरहनुभएका ‘नेता’ सिंहको बारेमा मात्र नभएर ‘पिता’ गणेशमानको  अर्को पाटो पनि उजागर गरेकी छिन् । पुस्तकले प्रजातान्त्रिक समाजवादका लागि गणेशमानले सन् १९३६ देखि १९९७ सम्म गरेको संर्घष वर्णन गर्ने उनको भनाइ छ ।

पुस्तक पढिसक्दा विशेष गरेर युवापुस्ताले प्रजातन्त्रका आधारभूत मूल्यमान्यता बुझ्नेछन् र राजनीतिमाथि आमजनताको अपेक्षा निराशामा परिणत भएको यो समयमा फेरि आशाको गति दिनेछ भन्ने उनको विश्वास छ । 

सरल भाषामा लेखिएको यो ऐतिहासिक पुस्तक जानकारीमूलक र संग्रहणीय छ । पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा हुनेछ । 

सुझावित समाचार