मनकामना केबलकारको स्तरोन्नति गरिँदै

आइतबार, २२ चैत, २०७७
डिजिटल संस्करण

मनकामना केबलकारको मर्मत–सम्भार गरी नयाँ आधुनिक प्रविधिका पार्टपुर्जा फेरेर स्तरोन्नति गरिने भएको छ । आगामी दुई वर्षभित्र अर्थात् कम्पनीको २५औँ वार्षिक उत्सवमा मनकामना केबलकार नयाँ प्रविधिमा सञ्चालन हुने कम्पनीले जनाएको छ । ०५५ साल मंसिर ८ गतेदेखि सुरु भएको केबलकार अहिले २३औँ वर्षमा प्रवेश गरिसकेको छ । 

लामो समयसम्मको सञ्चालनमा मर्मत–सम्भार खर्च बढ्न गएको उल्लेख गर्दै मनकामना दर्शन प्रालिका कार्यकारी सञ्चालक राजुबाबु श्रेष्ठले नयाँ प्रविधिको विकास भइसकेको अहिलेको दुनियाँमा मनकामना केबलकारको पनि विभिन्न चरणमा स्तरोन्नति गर्दै आधुनिक प्रविधियुक्त बनाउने जानकारी गराएका छन् ।

पहिलो चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जाहरू फेरिने बताइएको छ । यस्तै, दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य पार्टपुर्जाहरू फेरिनेछ ।

अन्तिम चरणमा अहिले भइरहेको एनालग सिस्टमबाट डिजिटल सिस्टममा स्तरोन्नति गर्ने, केबलका लट्ठा फेरबदल गर्ने, कम्युनिकेट केबललाई सेट्रा केबलमा रूपान्तरण गर्ने, डिसी ड्राइभलाई एसी ड्राइभमा रूपान्तरण गरी आधुनिक प्रविधियुक्त बनाउने लक्ष्य लिइएको छ । तीन चरणको काम गर्दा २ वर्ष लाग्ने हुँदा नियमित मर्मत–सम्भार तथा पार्टपुर्जा फेरबदल गर्दा पटक–पटक सेवा अवरुद्ध हुन सक्ने कम्पनीले जनाएको छ । 

सुझावित समाचार