प्रधानमन्त्रीको हठवाद

बिहिबार, १९ चैत, २०७७
डिजिटल संस्करण

राजहठ, योगहठ र बालहठलाई नीतिशास्त्रमा मानवीय कमजोरीका रूपमा लिइएको छ, जसलाई हतपत्त शमन गर्न सकिन्न । यस्तो हठले नेपालका पछिल्ला केही राजनीतिकर्मीको राजनीतिक जीवन पनि थला पर्ने गरेका ताजा उदाहरण छन् । गिरिजाप्रसाद कोइराला, राजा ज्ञानेन्द्र र अहिले आएर केपी ओली यस्तो हठवादको सिकार भएका केही उदाहरण हुन् । ०६२/०६३ को आन्दोलन र गणतन्त्र स्थापनामा खेलेको भूमिकाका कारण ०४८–०५८ सम्म कोइरालाले खेलेको भूमिका इतिहासमा गौण भएको मात्र हो । ज्ञानेन्द्रको हठले उनको सत्ता मात्र होइन, शाहवंशको साढे दुई सय वर्षको शासन पनि गुमेको इतिहासमा दर्ज भइसकेको छ । 

सामान्यतया संसद्को पहिलो बैठकमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताले सम्बोधन गर्ने प्रचलन रहे पनि प्रधानमन्त्रीले एउटा पनि बैठकमा उपस्थिति नजनाएर संसद्को अपमान गरिरहेका छन्

यतिवेला सत्तामा केपी शर्मा ओलीको हालिमुहाली चलेको छ । उनी आफ्नो हठको यति बलशाली दबाबमा देखिन्छन् कि उनले राजनीतिक खेलका सामान्य नियमहरू तोड्दै, संवैधानिक कानुनी व्यवस्था र प्रचलित मूल्य–प्रणाली भत्काउँदै आफ्नो सत्ता टिकाउनुमा गर्व गरिरहेको विद्रुप दृश्य अहिले नेपाली राजनीतिको असहज वास्तविकता बनेको छ । पछिल्लो समय उनले हठपूर्वक संसद् विघटन गरेका थिए । उनी आफ्नो हठमा यति कायम छन् कि सर्वोच्चले संसद् विघटनको निर्णय बदर गरिसकेपछि बसेका संसद्का कुनै पनि बैठकमा उनी उपस्थित भएका छैनन् । सामान्यतया संसद्को पहिलो बैठकमै प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताले सम्बोधन गर्ने प्रचलन रहे पनि प्रधानमन्त्रीले एउटा पनि बैठकमा उपस्थिति नजनाएर संसद्को अपमान गरिरहेका छन् । 

संसद्लाई कार्यसूचीविहीन बनाउँदै पुनस्र्थापित संसद्को औचित्य नरहेको देखाउन जोरजुलुम र हठ देखाइरहेका छन् । हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दलका सदस्य दिलेन्द्रप्रसाद बडूले संसद्मा प्रधानमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाउँदै उनी सुरक्षा चिन्ताका कारणले नआएका हुन् या नैतिक संकटले भन्ने प्रश्न उठाएर यो विषयलाई बहसमा ल्याइदिएका छन् । प्रधानमन्त्री ओलीको हठले उनको सरकारले एक समय हासिल गरेको संसद्को दुईतिहाइ सदस्यको समर्थन गुमाएको छ । अहिले संसद्मा विचाराधीन रहेका, तर संसदीय समितिले पारित गरिसकेका विधेयकसमेत संसद्मा निर्णयार्थ प्रस्तुत गर्न नसकेर उनी आफूले बहुमत गुमाएको अनुभूति गरिरहेको सन्देश पनि प्रवाहित गरिरहेका छन् । तर, यो स्वीकार गर्न उनी तयार छैनन् । 

संवैधानिक रूपमा आफ्नो निर्णय बदरभागी रहेको सर्वोच्चको फैसलापछि पनि उनी यसप्रति न माफी माग्छन्, न राजीनामा दिन्छन् । आफ्नै दललाई विभाजनको बाटोमा हिँडाएर उनले अध्यक्षका रूपमा यसअघि पाएका सफलता एकपछि अर्को आफैँ भत्काउँदै हिँड्दा पनि आनन्द मानिरहेको दृश्य राजनीतिको मञ्चमा मञ्चन भइरहेको छ । यो एउटा सत्तासीन हठवादीका लागि मात्र सम्भव कुरा हो । र, पछिल्लो नेपाली राजनीतिमा हठवादको प्रतीकका रूपमा केपी शर्मा ओलीले आफ्नो छवि निर्माण गरिरहेका छन् । 

अन्यथा आफैँलाई प्रधानमन्त्री निर्वाचित गरेको जनताका प्रतिनिधिको मुख्य थलोका रूपमा संसद्प्रति यसप्रकारको अनादर कुनै पनि संसदीय व्यवस्थाको प्रधानमन्त्रीबाट असम्भव छ । हठले अन्त्यमा पतन निम्त्याउँछ । एउटा अधिनायकवादी मति भएको व्यक्तिको उत्थान र पतन दुवै यस्तै हठमा आधारित हुन्छ भन्ने कुरा नै इतिहासले सिकाएको पाठ हो । यति कुरा ओलीलाई पनि अवश्य थाहा छ ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार