अन्ततः धारामा मेलम्चीको पानी

सोमबार, १६ चैत, २०७७
डिजिटल संस्करण

मेलम्ची समकालीन नेपालको एउटा बिम्ब हो, यहाँको बदनाम राजनीतिको, विकास अर्थतन्त्रको, नोकरशाही संयन्त्रको, यहाँ काम गर्ने दाताहरूको, ग्लोबल टेन्डरबाट प्रवेश गर्ने निर्माण कम्पनीहरूको । एउटा आशा र निराशाको बिम्ब । एउटा गाली र आलोचनाको बिम्ब । अलिकति सपना र सम्भावनाको बिम्ब । निर्माण आरम्भ भएको २० वर्षजति र परिकल्पनाको झन्डै ५० वर्षपछि काठमाडाैं प्रवेश गरेको मेलम्चीको चिसो पानीले बागमती र धोबीखोला पखालिएका छन् अलि–अलि ।

हिजोदेखि उपभोक्ताका धारामा पहिलो चरणअन्तर्गत वितरण गरिएको पानी झरेको छ । योसँगै काठमाडांैले पानी अभावको एउटा लामो पर्खाइबाट मुक्ति पाएको छ । उपभोक्ताले यसबाट राहत त पाउने नै छन्, यससँगै काठमाडांैको जल वितरण प्रणाली, भूमिगत जलको भरण र उपभोगको अवस्था, नदी प्रदूषणजस्ता क्षेत्रमा यसका केही सकारात्मक असर देखिनेछन् । 

त्यससँगै झन्डै साढे चार वर्षपहिले कुलमान घिसिङले अचानकजस्तो विद्युत् प्रणालीमा ल्याइदिएको अकल्पनीय परिवर्तनका प्रभावजस्तै यहाँका बासिन्दामा एउटा सकारात्मक परिवर्तनको अनुभूति पनि हुनेछ । यो सफलताका पछि जे–जस्तो, जो–जसको योगदान छ, ती सबै बधाईका हकदार छन् । यसमा कसैले एक्लै जस लिन या दिन खोज्नुको पनि अर्थ छैन ।

मेलम्ची परियोजनाले हामीकहाँ योजना परिकल्पना, सम्भावनाको अध्ययन, परियोजना प्रतिवेदन तयार पार्ने, डिजाइन बनाउने, योजना कार्यान्वयनमा लैजाने संस्था र सरोकारवाला दातृ निकायसमेत सबैका विगतलाई हेर्दा नेपालमा किन कुनै योजना सफल हुन मुस्किल हुन्छ भन्ने विषयको गम्भीर पक्ष पत्तो लाग्छ । बहुपक्ष सम्मिलित रहेको यो आयोजना तोकिएको समयभन्दा धेरै वर्षपछि सम्पन्न भएको मात्र होइन, यसले प्रक्षेपित लगानी पनि अत्यधिक मात्रामा बढाइदिएको छ । 

यो सफलताका पछि ज–जसको योगदान छ, ती सबै बधाईका हकदार छन् । यसमा कसैले एक्लै जस लिन या दिन खोज्नुको कुनै अर्थ छैन ।

देशको यति ठूलो स्रोतको यो स्तरको नांगो दुरुपयोग र खुला लुट कमै देखिन्छ । तर पनि यसमा संलग्न कसैले दोषी देखिनुनपर्ने, कारबाहीको भागिदार हुनुनपर्ने, राजनीतिक चलखेलको सिकार भइरहनुपर्ने नियतिसहित विकासे दुश्चक्रको एउटा नमुना पनि हो यो । तामाकोसी परियोजना, बबई, सिक्टा, हुलाकी राजमार्गलगायत योजनामा देखिएको दुर्गति पनि मेलम्चीकै प्रतिबिम्बजस्ता हुन् । हरेक क्षेत्रमा रहेका यी चुनौती छिटो नछिमल्ने हो भने हाम्रा आकांक्षाअनुसारका विकास लक्ष्य हासिल गर्न असम्भव देखिन्छ । मेलम्ची परियोजनाको सफलताले एउटा निराशा चिर्ने निश्चित छ । कमसेकम काठमाडौंमा बसोवास गरिरहेकाहरूको जीवन एकहदसम्म सहज बन्नेछ । 

अरू देशका ठूला महानागरका मानिसले पाइरहेका सेवा–सुविधाका आधारभूत स्तरभन्दा निकै पछि रहेको काठमाडांैको बिस्तारै राम्रो छवि बन्नेछ । भूमिगत जलको उपयोग कम हुने र त्यसले यहाँको जमिन भासिने जोखिम कम हुनेछ । यो एकप्रकारको आशावाद जगाउने पक्ष पनि हो । तर, यस्ता योजनाहरू किन तोकिएको समयमा पूरा हुन नसकेर हाम्रो स्रोत–साधन खेर जाने भइरहन्छ ? त्यस्तो परिणामका लागि जिम्मेवार व्यक्ति या संस्थाहरू किन कारबाहीमा पर्दैनन् भन्ने पक्षको खोजी हुन भने आवश्यक छ ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार