मुडुलो टाउकोले उठाएको सवाल : कपाल कसको ?

आइतबार, ८ चैत, २०७७
डिजिटल संस्करण
मुडुलो टाउकोले उठाएको सवाल : कपाल कसको ?

‘बाथटप’ नाटकमा अभियन गर्दै लेखक भूषिता वशिष्ठ

कपाल र पुरुष अहंबीच अन्योन्याश्रित सम्बन्ध छ । महिलाले कपाल छोटो बनाए पुरुषको अहं पनि छोटिन्छ । कपालभित्र यस्तो गुह्य रहस्य रहेछ र पो पुरुषहरू यो रहस्य महिलाको चुल्ठोमा पोको पार्न चाहने रहेछन् ।

गत साता सञ्चारमाध्यमका रंगपेज ‘मुडुलो टाउको’मय रह्यो । कलाकार केकी अधिकारीले कपाल मुण्डन गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि सञ्चारमाध्यममा लगालग समाचार आए । समाचारअनुसार अधिकारीले ‘बोक्सीको घर’ नामक चलचित्रका लागि कपाल मुण्डन गरेकी हुन् । उक्त चलचित्रमा अधिकारी प्रमुख भूमिकामा रहेको र छायांकन अन्तिम चरणमा रहेको जानकारी पाठकसम्म पुग्यो । ‘मुडुलो कपाल’सहितको अधिकारीको तस्बिर र समाचारले चलचित्रको प्रमोसनलाई कति फाइदा पुग्यो, चलचित्र हलमा पुगेपछि नै थाहा होला । 

अभिनेत्री अधिकारी चलचित्रका लागि कपाल मुण्डन गर्ने एक्ली कलाकार भने होइनन् । गत वर्ष प्रदर्शन भएको चलचित्र ‘आमा’मा कलाकार सुरक्षा पन्तको पनि कपाल मुण्डनसहितको पोस्टरले पनि चर्चा पाएको थियो । यसरी चलचित्रका लागि कपाल मुण्डन गर्ने कलाकार खोज्दै जाने हो भने सूची लामै बन्ला । तर, कलाकारको ‘कपाल मुण्डन’ले चलचित्रमा पाउने चर्चाभन्दा पर जाँदा यसले धेरै अर्थ र प्रतीकात्मक बिम्ब जरुर बोक्नेछ । स्वतस्फूर्त कपाल खौरिएर सामाजिक संरचना र त्यसमार्फत निर्मित भाष्यमाथि प्रश्न गर्ने महिला पनि छन्, जसले नयाँ सवालहरू जन्माइदिएका छन् । 

दुई वर्षअघि लेखक भूषिता वशिष्ठले कुमार नगरकोटीको लेखन तथा घिमिरे युवराजको निर्देशन रहेको नाटक ‘बाथ टब’मा अभिनय गर्ने भइन् । अभिनयका लागि वशिष्ठले कपाल मुण्डन गर्नुपर्ने भयो, गरिन् । ‘अनिद्रा’ नामक पात्रको भूमिका निभाएकी उनको चिल्लो कपाल विशेष आकर्षणको केन्द्र बन्यो । तर, रंगमञ्चभन्दा बाहिर पनि उनको चिल्लो कपालले केही सवाल छाडेका थिए । 

महिलाको कपाललाई कति हदसम्म सौन्दर्य र आवरणसँग जोडिन्छ ? दुई वर्षअघि पाकिस्तानमा आस्मा अजिज नामकी महिलालाई उनकै पतिले उनी र उनका साथीसँग नाच्न नमानेकैले सजाय दिए, कुटपिटमा उत्रिए ।  यतिले सजाय पुगेन भनेर उनले अजिजको कपालै खौरिदिए ।

वशिष्ठले निकै ठाउँमा काम गरिन् । बैंकमा कम्युनिकेसन अफिसरदेखि एनजिओहरूमा काम गरेको अनुभव उनीसँग छ । साथै, अर्को तितो अनुभव छ, ‘मेरो विचारलाई कहीँ कतै पनि गम्भीर रूपमा लिइएन । किनभने, त्यहाँ महिलाप्रति पूर्वाग्रह थियो ।’ 

भनिन्छ, महिलाको शक्तिशाली हतियारमध्ये सौन्दर्य पनि एक हो । झनै लामो सुन्दर कपालले त्यसमा स्थान पाउने नै भयो । सुन्दर कपालमाथिका गीतै खोज्ने हो भने पनि दर्जनौँ भेटिने गर्छन्, जसले सुषुप्त रूपमा कपाललाई महिलाको सौन्दर्यको अभिन्न अंगको रूपमा परिभाषित गरेको हुन्छ । झनै महिलाको आवरणमाथि कति गीत, कविता, साहित्य लेखिए होलान् ? भनिसाध्य छैन । वशिष्ठ पनि स्विकार्छिन्, ‘महिलाको आवरण शक्तिशाली हतियार हो भन्ने कुरा मभित्र पनि गहिरो गरी रहेछ । लैंगिक समानताको कुरा गरे पनि कता–कता भित्र रहेछ ।’ कपाल काट्ने फेजमा यस्तो अनुभूति भएको उनको स्वीकारोक्ति छ ।

कपाल मुण्डन गर्ने समयमा वशिष्ठ एकखाले सन्न्यासी जीवन जिएर फिरेकी थिइन् । तर, उनकै शब्दमा भन्दा त्यहाँ पनि उनले चाहेजस्तो मुक्ति थिएन, वैराग्य लाग्यो । आफूलाई कसरी चिन्ने भन्ने सवालभित्र रङमङिएकी थिइन् । यस्तै दोसाँधबीचमा उनको कपाल मुण्डन भयो । वर्षौंदेखि जतनले पालेको कपाल करिब आधा घन्टामा कैँची र मेसिनले चिल्लो बनाइदियो । ‘कपाल काटिसकेपछि आफ्नै अनुहार हेरेँ, लोग्नेमान्छेको हो कि स्वास्नीमान्छेको हो भन्ने भयो । उदांगो भएकी थिएँ, मान्छेको मात्रै आकृति थिएँ, त्यसवेला अलमल भयो,’ उनी बोल्छिन्, ‘एकदमै शक्तिहीन भएजस्तो भयो । तर, छोरी मान्छे भएकाले त्यो ‘रियलाइजेसन’ मूल्यवान् रह्यो । मेरो एक तरिकाको शक्ति देखिनुमा मैले समाजको अपेक्षामा आफ्नो शक्ति खोजेको रहेछु । तर, समय सधैँ उस्तो रहँदैन, एक दिन बूढी हुन्छु, रोग पनि लाग्छ होला । तर, मेरो शक्तिको केन्द्र यति सतही हुन्छ भने मलाई त्यस्तो शक्ति चाहिँदैन भन्ने भएको थियो ।’

अहिले त वशिष्ठको कपाल बढिसकेको छ । तर, उस्तो लामो भने होइन । बढीमा पाँच–सात इन्चका होला । दुई वर्षअघिको कपाल मुण्डनको पल सम्झँदै भन्छिन्, ‘कपाल मुण्डन झ्वाट्ट हेर्दा सामान्य हो । तर, यसका अर्थ धेरै छन् । मुण्डनपछि मलाई व्यक्तिगत रूपमा के थाहा भयो भने म दयालु मात्रै होइन, कठोर पनि छु, म सुन्दर मात्रै होइन, कुरूप पनि छु । त्यही नै मेरो शक्ति पनि हो ।’

....                 ......

घरमा बसेर टिभी च्यानलतिर छिर्ने हो भने कपाल कसरी लामो बनाउने, सुन्दर र सिल्की बनाउने थुप्रै विज्ञापन बज्न सुरु गरिहाल्छन् । विविध स्याम्पुको विज्ञापनले कपाल जोगाउने र बढाउने बताउँछन् । कपालले कसरी सुन्दर देखिन्छन् महिला भनेर ‘म्यानुपुलेट’ गरिरहेको हुन्छ, विज्ञापनले । तर, त्यो कपाल रहे न विज्ञापनमै करोडौँ खर्चिएको स्याम्पु काम लाग्ने हो । यदि कपालै फाँडिदिए ? दुई वर्षअघि विराटनगरकी पछिल्लो पुस्ताकी कवि सम्पदा रिजालले कपाल काटिन् । मुडुलै भने चाहिँ होइन । उनले कपाल रहरले काटेकी थिइन् । तर, प्रश्नहरू यसरी तेर्सिए कि ‘रहरले काटेको’ भन्ने जवाफले प्रश्न गर्नेहरू सन्तुष्ट हुँदैनथे । पहिलो महसुस त उनलाई के भयो भने हामीले बाँचिरहेको समाजमा महिलाले छोटो कपाल पार्नु भनेको अस्वाभाविक र अपाच्य विषय हो । 

रिजालले कपाल त काटिन्, तर कपालसँग हुँदाका बानी भने झुक्किएर दोहोर्‍याइरहन्थिन् । उनी बानी दोहोर्‍याउँथिन्, मानिसहरू भने प्रश्न दोहोर्‍याइरहन्थे । उनलाई यति धेरै प्रश्न आए, जो उनको चरित्रसम्मै पुग्थे । ‘कपाल काटेपछि महिलाको सौन्दर्यको मानकमाथि उभिएर ममाथि प्रश्नहरू आए । चरित्रमै प्रश्न आए,’ रिजाल भन्छिन्, ‘प्रश्न गर्ने साथीहरूले नै महिलाजस्तो देखिएन, कुरूप देखिए भने । तर, मलाई लाग्छ, सौन्दर्यको कुनै मानक हुनुहुँदैन । यदि हुन्छ भने त्यो भत्काउने हो ।’

रिजालकी समकालीन कवि स्मृति रानाभाटले कपाल मुण्डन गरेको तीन वर्ष भयो । सुरुवातमा उनलाई देखेर मान्छेहरू आश्चर्र्य प्रकट गर्थे । यसपछि मुडुलो कपालमा स्कार्फ बाँधेर हिँड्न थालिन् । अलि पलाउन थालेपछि स्कार्फ लगाउन छाडिन् । उनलाई प्रश्न किन काटेको भनेर मात्रै आएन, क्यान्सर लागेको हो भनेरसम्म सोध्न भ्याइदिए ।

रिजालकी समकालीन कवि स्मृति रानाभाटले कपाल मुण्डन गरेको तीन वर्ष भयो । सुरुवातमा उनलाई देखेर मान्छेहरू आश्चर्य प्रकट गर्थे । यसपछि मुडुलो कपालमा स्कार्फ बाँधेर हिँड्न थालिन् । अलि पलाउन थालेपछि स्कार्फ लगाउन छाडिन् । उनलाई प्रश्न किन काटेको भनेर मात्रै आएन, क्यान्सर लागेको हो भनेरसम्म सोध्न भ्याइदिए । ‘यसको जड भनेको हाम्रो मानसिकता नै हो । त्यसलाई चिर्नैपर्छ । हुन त कपाल खौरिएर खत्रा काम गरेँ जस्तो लाग्दैन,’ रानाभाटको भनाइ छ, ‘कसले विवाह गर्छ अब भनिदिने । यस्ता यावत् प्रश्न आइपर्दा कपाल काटेकोमा घरिघरि नरमाइलो लाग्थ्यो । तर, अहिले भने गर्व लाग्छ, उनीहरूको प्रश्नको उत्तर म थिइनँ, मेरो मुडुलो कपाल उत्तरको रूपमा उनीहरूकै सामुन्ने थियो ।’

......                         .......

महिलाको कपाललाई कति हदसम्म सौन्दर्य र आवरणसँग जोडिन्छ ? एउटा प्रसंगमा जाऔँ । दुई वर्षअघि पाकिस्तानमा आस्मा अजिज नामकी महिलालाई उनकै पतिले उनी र उनका साथीसँग नाच्न नमानेकैले सजाय दिए, कुटपिटमा उत्रिए । यतिले सजाय पुगेन भनेर उनले अजिजको कपालै खौरिदिए । यसबारे अजिजको भिडियो बाहिर आएपछि मात्रै घटना सार्वजनिक भयो । पतिले अजिजको कपाल नै काटिदिनुले महिलालाई कपालसँग जोडेर कसरी हेरिन्छ भन्ने मनोविज्ञान प्रस्टै देखिन्छ । 

केही समयअघि कपाल मुण्डन गरेकी कवि सिमाना पौडेल ‘कपालमा अल्झिएका प्रेमीहरू’ शीर्षकको ब्लगमा ब्वाइफ्रेन्डले भनेका वाक्य जस्ताको तस्तै यसरी लेख्छिन्, ‘म त खुला सोचको मान्छे हुँ । तर, अरूहरूले कुरा काट्छन् । तिम्रो छोटो कपालका कारण मलाई साथीहरूले के–के भनेर जिस्काइराख्छन् । घरमा ममीले तिमीलाई मन पराउनुहुन्न । समस्या तिमीमा होइन, तिम्रो कपाल नभएकामा हो ।’ पौडेलले अनि लेखेकी छिन्, ‘कपाल र पुरुष अहंबीच अन्योन्याश्रित सम्बन्ध छ । महिलाले कपाल छोटो बनाए पुरुषको अहं पनि छोटिन्छ । कपालभित्र यस्तो गुह्य रहस्य रहेछ र पो पुरुषहरू यो रहस्य महिलाको चुल्ठोमा पोको पार्न चाहने रहेछन् ।’ 

‘कपाल कसको ?’ शीर्षकको आलेखको अन्त्यमा लेखक विभूति भट्टराई कपाल मुण्डनको विषयमाथि लेख्छिन्, ‘वर्तमान समाज महिलाको कपाल मुण्डन गर्नुलाई सामान्य टाउको खुइल्याएको रूपमा बुझ्न तयार छैन । बरु समाज तर्सिन्छ । यदि महिलाले सबै परम्परागत मान्यतालाई यसैगरी हिर्काउँदै गए भने कतै मनुवाद र पुँजीवादले वर्षौंदेखि निर्विकल्प विस्तार गरेको पितृसत्ताको रङ खुइलिने त होइन ?’ 

सुझावित समाचार