भारतमा कोरोना संक्रमितको संख्या बढ्दै

शुक्रबार, ६ चैत, २०७७
डिजिटल संस्करण

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा करिब ४० हजारजना संक्रमित भएका छन् । 

गत बुधबार एक दिनमा ३६ हजारजना संक्रमित भएका थिए भने बिहीबार ३९ हजार सात सय २६ पुगेको छ । गत २४ घन्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष सुरु भएयताको सबैभन्दा बढी हो । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड १५ लाख १४ हजार तीन सय ३१ पुगेको सो मन्त्रालयले जनाएको छ । 

कुल संक्रमितमध्ये दुई लाख ७१ हजार दुई सय ८२ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १० लाख ८३ हजार ६ सय ७९ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घन्टामा कोरोना संक्रमणबाट एक सय ५४ जनाको मृत्यु भएपछि यहाँ कोरोना संक्रमणको कारण मृतकको संख्या एक लाख ५९ हजार तीन सय ७० पुगेको शुक्रबार जनाइएको छ ।  भारतमा जनवरीबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म करिब तीन करोड ८० लाखले खोप लगाइसकेका छन् ।     

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार मंगलबारसम्म भारतमा २३ करोडभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।     

 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार