पहिलोपटक ‘बुक बिल्डिङ’मार्फत आइपिओ जारी गर्दै सर्वोत्तम सिमेन्ट

बिहिबार, ५ चैत, २०७७
डिजिटल संस्करण

सर्वोत्तम सिमेन्टले नेपालमै पहिलोपटक ‘बुक बिल्डिङ’ विधिमार्फत आइपिओ (साधारण सेयर) जारी गर्ने भएको छ । अंकित मूल्य र केही प्रिमियम राखेर मात्रै सेयर जारी गर्ने प्रचलन विद्यमान रहँदै आएकोमा पहिलोपटक यो विधि प्रयोगमा आउन लागेको हो । 

कम्पनीले कम्पनीले साधारण सेयर जारी गर्नका लागि आधिकारिक मुख्य निष्कासन ग्लोबल आइएमई क्यापिटल लिमिटेड र सहायक एनआइबिएल–एस क्यापिटल र प्रभु क्यापिटल लाई नियुक्त  गरिसकेको छ । 

कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । हाल ३ अर्ब ४० करोड चुक्ता पुँजी रहेको कम्पनीको साधारण सेयर जारी गरेपछि पुँजी ४ अर्ब पुग्नेछ । ६० लाख कित्ता सेयरमध्ये संस्थागत लगानीकर्तालाई २४ लाख, स्थानीय जिल्लावासीलाई ८ लाख र कम्पनी र सर्वसाधारणलाई २८ लाख जारी गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीले हाललाई प्रतिकित्ता सेयर ७ सय ५० रुपैयाँ मूल्य तोकिएको छ । कम्पनीले तोकेको मूल्यमा कम्तीमा १० वटा योग्य संस्थागत लगानीकर्ताले सहभागिता जनाएपछि आधार मूल्य तय हुनेछ । धितोपत्रको बिक्री मूल्य तया गर्दा आधार मूल्यको २० प्रतिशत थप्दा र २० प्रतिशत घटाउँदा हुने मूल्य सीमा लिनुपर्छ । 

यस्तो मूल्य सीमाका आधारमा योग्य संस्थागत लगानीकर्ताले बोलकबोल गर्नेछन् र योग्य संस्थागत लगानीकर्तालाई छुट्याएको सबै सेयर बिक्री हुने गरी आवेदनका आधारमा कट अफ रेट (उच्च मूल्यबाट मागका आधारमा भाग लगाउँदै जाँदा जुन मूल्यमा आएर छुट्याएको सेयर सकिन्छ, त्यही मूल्य) निकालिनेछ । 

यसरी आएको कट अफ रेटमा १० प्रतिशत मूल्य छुट दिएर मात्रै सर्वसाधारणलाई सेयर जारी गर्नुपर्छ । अर्थात् कम्पनीले भनेकै दर (७ सय ५० रूपैयाँ) मा कट अफ रेट कायम भएमा सर्वसाधारणले ६ सय ७५ रुपैयाँमा पाउनेछन् । 

हाल कम्पनीसँग ९० वर्षको उत्पादन गर्न पुग्ने चुनढुंगा खानी रहेको, विगत ३ वर्षमा कम्पनीको औसत नाफा १ अर्ब ४ करोडभन्दा धेरै रहेको र विगत ३ वर्षको औसत प्रतिसेयर आम्दानी ५२ रुपैयाँ रहेको उल्लेख गरेको छ । त्यस्तै, कम्पनीको सञ्चितीमा २ अर्ब ३१ करोड रहेको छ ।

सुझावित समाचार