सेयर बजार करेक्सनमा

आइतबार, १ चैत, २०७७
डिजिटल संस्करण

गत साता ३ दिन मात्र कारोबार भएको बजारमा सबै दिन नेप्से परिसूचक ओरालो लागेको छ । प्राविधिक विश्लेषकहरूले बजार केही समय करेक्सनमा जाने संकेत गरिरहँदा बैंकहरूको तरलतामा समेत कमी हुन थालेपछि लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा आइपुगेका हुन् । 

सातामा ४८ अंकले नेप्से घट्दा कारोबार रकम ५७ प्रतिशतले घट्न पुगेको छ । बिदाका कारण कारोबार दिन घटेकाले कारोबार रकममा समेत कटौती देखिएको छ । अघिल्लो साता ५ कारोबार दिनमा दैनिक औसत कारोबार रकम ६ अर्ब ४९ करोड रहेकोमा गत साता यस्तो रकम ४ अर्ब ६१ करोडमा सीमित भएको छ । 

गत साता १३ समूहगत परिसूचकमा होटेल, जलविद्युत्, व्यापारमूलक, ‘अन्य’ समूहगत परिसूचकमा मात्रै सुधार भएको छ । यी समूहमा क्रमशः ७ दशमलव ६१, २ दशमलव ९४, १ दशमलव ७० र ० दशमलव ०३ प्रतिशतले वृद्धि भएको हो । साताभरमा शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै ९२ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार संख्याका आधारमा नेपाल पूर्वाधार बैंक (निफ्रा) र धितोपत्र तथा इकाइ संख्याका आधारमा ग्लोबल आइएमई समुन्नत योजना अग्रस्थानमा छ । निफ्राको २२ हजार ९ सय २६ पटक सेयर किनबेच भएको छ भने ग्लोबल आइएमई समुन्नत योजनाको ३५ लाख इकाइको खरिद–बिक्री भएको हो । 

फागुन २५ सम्म लगानी गर्नेले शिखर इन्स्योरेन्सले प्रस्ताव गरेको ३८ प्रतिशत लाभांश प्राप्त गर्न सक्ने भएकाले कम्पनीको कारोबार बढेको छ । त्यस्तै, सामूहिक लगानी कोषका इकाइमा ग्लोबल आइएमई समुन्नत योजनाको प्रतिइकाइ खुद सम्पत्तिको मूल्य सबैभन्दा धेरै भएपछि लगानीकर्ताको आकर्षण बढेको हो  ।

 प्राविधिक विश्लेषण 
२६४० को उच्च बिन्दु छोएर ओर्लिएको सेयर बजारले २४ सय बिन्दुआसपास टेवा खोजिरहेको भए पनि सफल हुन सकिरहेको छैन । नेप्सेको मैनबत्ती चित्रले लगातार तीन करोबार दिनमा कालो (रातो) मैनबत्ती आकृति बनाएको छ । समग्रमा तीन दिनमा थ्री ब्ल्याक क्रोज आकृति बनाएको छ । यसमा हरेक कालो मैनबत्तीको शरीरको मध्य वा केही तलबाट अर्को दिनको मैनबत्तीको शरीर बन्दै गएको छ ।

लामो समयसम्म बजारमा मूल्यहरू उच्च तहमा देखिएकाले लगानीकर्ताले बिक्री बढाइरहेको यसले स्पष्ट पार्छ । अल्पकालीन लगानीका लागि गरिने यो विश्लेषण औजारले बजार केही समय बियरिस हुने बलियो सम्भावना रहेको संकेत गर्छ । नेप्सेको ७ दिने र २१ दिने मुभिङ एभरेज रेखामा समेत केही समयअघि क्रस ओभर भएको छ । डेथ क्रस ओभर (२१ दिने रेखा ७ दिने रेखाभन्दा माथि लाग्ने) देखिएकाले बजार बियरिस प्रवृत्तिमा लागेको यसले संकेत गर्छ । बियरिस प्रवृत्तिमा पनि बजार भने घटबढ भइरहने गर्छ । 

बजारमा बिक्री उच्चदरमा बढेका कारण नेप्सेको आरएसआई सूचक पनि स्केल ३४ मा आइपुगेको छ । माग र आपूर्ति सन्तुलित क्षेत्रमा रहे पनि यो सूचक घट्दै स्केल ३४ मा आएको हो । यो सूचक ३० मुनि रहे अधिक बिक्री, ७० माथि रहे अधिक खरिदको क्षेत्रमा रहेको विश्लेषण गरिन्छ ।  घटिरहेको नेप्सेले यस साता २४ सय २८ मा पहिलो टेवा र २५ सय ७ मा पहिलो प्रतिरोध परीक्षण गर्न सक्ने गत साताको नेप्सेको पिभट विश्लेषणले देखाउँछ ।  

सुझावित समाचार