नेपालमै हाइड्रो र इलेक्ट्रो मेकानिकल तालिम दिइने

बुधबार, २६ फागुन, २०७७
डिजिटल संस्करण

स्वतन्त्र ऊर्जा उत्पादकहरूले जलविद्युत् आयोजनाको हाइड्रो र इलेक्ट्रो मेकानिकल जनशक्तिमा भारत र चीनको निर्भरता हटाउन स्वदेशमै तालिम दिने तयारी गरेका छन् । त्यसका लागि धादिङको धुनीबेँसी नगरपालिकाको जीवनपुरमा हाइड्रोपावर एकेडेमी स्थापना गर्न लागिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।

एकेडेमी स्थापनाका लागि पूर्वाधार तयारीको काम भने शेषकान्त फाउन्डेसनले गर्नेछ । इप्पानले फाउन्डेसनसँगै मिलेर तालिम सञ्चालन गर्नेछ । साझेदारीमा तालिम सञ्चालन गर्नेबारे इप्पान र शेषकान्त फाउन्डेसनबीच मंगलबार सम्झौतामा हस्ताक्षरसमेत भएको छ । इप्पानको तफर्बाट अध्यक्ष कृष्ण आचार्य र फाउन्डेसनको तर्फबाट अध्यक्ष विशेश्वरप्रसाद ढकालले हस्ताक्षर गरे । 

एकेडेमी सञ्चालनका लागि अहिलेसम्म १५ करोड रुपैयाँबराबरको भवन तथा मेसिन जम्मा भइसकेको फाउन्डेसनका व्यवस्थापक पवन ढकालले जानकारी दिए । थप ११ करोड लगानी गरिने योजना रहेको छ । थप पूर्वाधार तथा मेसिनका लागि इप्पानले पनि पहल गर्ने इप्पानका उपाध्यक्ष आशिष गर्गले जानकारी दिए । तत्कालका लागि सिटिइभिटीबाट सम्बन्धन लिएर छोटो तालिम गरिनेछ ।  

एकेडेमी स्थापनापछि के हुनेछ ? 
स्वतन्त्र ऊर्जा उत्पादकहरूले ३ महिनाभित्र विज्ञको सहायता लिएर कोर्स डिजाइन गरिसक्नेछन् । पहिलो वर्षका रूपमा चालू आर्थिक वर्ष ०७७/७८ भित्र नै तीनवटै कोर्सका लागि न्यूनतम १५ जनाका दरले ४५ जनालाई तालिम दिइनेछ । यस्तो जनशक्तिले निर्माणाधीन आयोजनामा इन्टर्नसिप गर्न पाउनेछन् ।

यस्तो जनशक्तिलाई इप्पानकै आयोजनामा जागिर पाउने सुनिश्चित गरिएको छ । जलविद्युत् आयोजनालाई आवश्यक पर्ने जनशक्तिलाई ध्यान दिएर नै कोर्स र जनशक्ति तयार गरिनेछ । दीर्घकालीन रूपमा भने यसलाई नमुना जलविद्युत् तालिम केन्द्रका रूपमा विकास गर्दै लगिनेछ । 
विदेशीमा निर्भर हुनुनपर्ने 

अहिले नेपालमा १ सय ८० वटा आयोजना निर्माणाधीन छन् । निर्माणाधीन आयोजनाहरूको क्षमता ३ हजार मेगावाट छ ।  इप्पानका अनुसार शतप्रतिशत नै भारतीय र चिनियाँ प्राविधिकमा भर पर्नुपरिरहेको छ । ‘केही मेसिन बिग्रिँदासमेत हप्तौँसम्म चिनियाँ वा भारतीय कम्पनीको टोली पर्खेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नेछ,’ इप्पान अध्यक्ष कृष्ण आचार्यले भने । निर्माणाधीन आयोजनामा दक्षदेखि दैनिक ज्यालादारीमा काम गर्नेसमेत गरी २ लाख जनशक्ति सहभागी भइरहेका छन् । तीमध्ये हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलमा मात्र काम गर्ने १० हजारको संख्यामा प्राविधिक जनशक्ति छन् ।  

एकेडेमीले ३ वटा कोर्स
एकेडेमीमा मुख्यत ३ वटा कोर्स अध्ययन गराउने तयारी भइरहेको छ । तिनीहरूमा पहिलो, जलविद्युत् सञ्चालन तथा व्यवस्थापन गर्ने कोर्स हुनेछ । यस कोर्सअन्तर्गत जलविद्युत् आयोजना सञ्चालनमा आएपछि प्लान्ट सञ्चालन गर्नका लागि जनशक्ति तयारी हुनेछ । अहिले जलविद्युत् उत्पादन भएपछि त्यसलाई व्यवस्थापन र सञ्चालन गर्ने जनशक्तिको अभाव छ ।

जलविद्युत् सञ्चालन तथा व्यवस्थापन कोर्स गर्नेहरूले यस क्षेत्रका लागि नेपाली दक्ष जनशक्ति उपलब्ध हुनेछ । 
दोस्रो कोर्सका रूपमा इलेक्ट्रो मेकानिकल प्रणालीमा आवश्यक मेसिनको जडान र सञ्चालन हुनेछ । इलेक्ट्रो मेकानिकल प्रणालीका मेसिन विदेशबाट ल्याएपछि अहिले विदेशबाटै प्राविधिक टोली ल्याएर जडान र सञ्चालन गर्नुपरिरहेको छ ।

‘अहिले शतप्रतिशत इन्डियन र चाइनिज टिम आएर जडान गरेर जाने गरेको छ,’ गर्गले भने । त्यो काम अब नेपाली नै दक्ष भएपछि बाहिरबाट ल्याउने क्रम आउँदा दिनमा घट्दै जाने इप्पानको भनाइ छ । तेस्रो कोर्सका रूपमा हाइड्रो मेकानिकल रहनेछ । यसअन्तर्गत फलामसम्बन्धी काम पर्छ । पेनस्टक पाइप, गेट्स, भल्भस्लगायतका काम पर्छन् । यससम्बन्धी पनि कोर्स डिजाइन गरिनेछ ।

सुझावित समाचार