जसपाका वरिष्ठ नेता अशोक राईले सबैै राजनीतिक दलले आफ्नो पार्टीलाई प्रधानमन्त्रीको नेतृत्व दिन तयार रहेमा आफूहरू तयार रहेको बताएका छन् । सर्वोच्च अदालतले नेकपा विवादसम्बन्धी फैसला सुनाएपछि देशमा नयाँ राजनीतिक यात्रा सुरु भएको उनले बताए ।
पार्टी प्रचार विभाग खोटाङले मंगलबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राईले अब मुलुकमा कुनै हालतमा वैकल्पिक सरकारमा आउने दाबी गरे ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमले जसपालाई किङमेकर बनाएको बताउँदै उनले अब बन्ने सरकारका विषयमा आफ्नो पार्टीले सोचेर अगाडि बढ्ने जानकारी दिए । ‘हाम्रो पार्टी देशलाई निकास दिएर अगाडि बढ्न चाहन्छ,’ उनले भने, ‘देशलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन हाम्रो पार्टी अब गठन हुने सरकारको नेतृत्व लिनसमेत तयार रहेको छ ।’
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई सदर गरेपछि उत्पन्न राजनीतिक घटनाक्रमले केपी ओलीको प्रधानमन्त्री पदको आयु तोकिदिएको उनको भनाइ छ । नेता राईले ओलीको प्रधानमन्त्री पद अबको दुई महिनाभित्र सकिने दाबीसमेत गरे ।
संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्ने यात्राबाट ओली प्रतिगमनको बाटोमा लागेकाले आगामी दिनमा ओलीसँग आफ्नो पार्टीको सहकार्य नहुने उनले बताए । ‘हाम्रो पार्टी अग्रगमनको पक्षमा छ,’ उनले भने, ‘ओलीजी देशमा प्रतिगमन सिर्जना गरेर राजनीति गर्न चाहने व्यक्ति भएकाले उहाँले नेतृत्व गर्नुहुने सरकारमा सहकार्य गर्न सकिन्न ।’