सांसद चौधरीलाई दिल्लीमा सिएआइटी वुमन इन्टरप्रेनियरसिप अवार्ड

सोमबार, २४ फागुन, २०७७
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कन्फडेरेसन अफ अल इन्डिया ट्रेडर्सद्वारा प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिलामैत्री समाजकी अध्यक्ष चन्दा चौधरीलाई सिएआइटी वुमन इन्टरप्रेनियरसिप अवार्डद्वारा सम्मानित गरिएको छ । नयाँदिल्लीको होटेल मेरिडियनको सभा हलमा आयोजित कार्यक्रममा सांसद चौधरीलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । 

सांसद चौधरी विगत डेढ दशकदेखि महिला सशक्तीकरण तथा महिला उद्यमशीलतामा काम गर्दै आएकी छिन् । अवार्ड अनलाइनबाट ग्रहण गर्दै चौधरीले सम्मान गरेकोमा खुसी व्यक्त गरिन् । कार्यव्यस्तताले गर्दा सम्मान कार्यक्रममा उपस्थित हुन नसकेको उनको भनाइ छ । 

ग्रामीण तथा विपन्न महिलालाई सीपमूलक उद्यमशील तालिम तथा सहयोग उपलब्ध गराउनेबारे क्रियाशील भइरहने उनको भनाइ छ । चौधरीले कन्फडेरेसन अफ अल इन्डिया ट्रेडर्सले अब दक्षिण एसियाकै महिलालाई एकीकृत गरी समग्र भेगमै महिला उद्यमशीलतालाई जोड दिनुपर्ने बताइन् ।

सुझावित समाचार