कालीगण्डकी करिडोरले बाग्लुङका गाउँको मुहार फेरियो

कालीगण्डकी करिडोर निर्माणसँगै बाग्लुङका बाँदर लड्ने भिरपाखामा बस्ती बढेका छन्, सुनशान क्षेत्र गुल्जार बनेका छन्

शुक्रबार, १४ फागुन, २०७७
डिजिटल संस्करण
कालीगण्डकी करिडोरले बाग्लुङका गाउँको मुहार फेरियो

कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–७ जैदीको न्वारा क्षेत्र । यातायातको सहज पहुँचपछि यहाँ अहिले दर्जनौँ व्यवसाय सञ्चालन भएका छन् । तस्बिर : नयाँ पत्रिका

पाँच वर्षपहिले जिल्लाको जैमिनी– ७ जैदीन्वाराको खेतको छेउ बाँदर लागेर अन्नबाली जोगाउन पनि मुस्किल हुन्थ्यो । खेतको छेउ तल भिरपाखा भएका कारण अत्यधिक बाँदर लाग्थ्यो । लगाएको अन्नबाली सबै खाइदिन्थ्यो । यस्तै हैरानी सताएको थियो स्थानीय शंकर पौडेललाई । 

तर, खेतकै बीचबाट राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सडक खुल्यो । कालीगण्डकी करिडोर निर्माणसँगै पछिल्लो तीन वर्षमै बेलबगरको न्वारामा बाक्लो बस्ती बसेको छ । यहाँ चारवटा होटेल, हार्डवयर, सुनचाँदी, फेन्सी, मोबाइल पसल, किराना पसल, स्टेसनरी, मासु व्यवसायी, टेलरिङलगायत दुई दर्जन व्यवसाय सञ्चालनमा छन् । अहिले छिस्ती र जैदी केन्द्रबिन्दु भएको छ । दैनिक दर्जनौँ गाडी ओहोरदोहोर गर्छन् । त्यही बेलबगरमाथि छिस्ती र जैदीको माथिल्लो भेगका लागि शाखा सडक खोलिएको छ । 

यहाँ मात्रै होइन, कालीगण्डकी करिडोरको ट्र्याक खुलेर स्तरोन्नति भएसँगै बाग्लुङको मालढुंगाबाट गुल्मीको पूर्तिघाटसम्म दर्जनौँ व्यवसाय सञ्चालन भएका छन् भने सडकआसपासमा नयाँ बस्ती विकास भएको स्थानीय तमसम राना बताउँछन् । यसअघि संरगी, बलेवा, जिमिरेघाटलगायत केही ठाउँमा एक–दुई पसल मात्रै सञ्चालनमा थिए । अहिले जैमिनी– ७ जैदीको बेलबगर, कुइधाङ, वडा नम्बर ८ छिस्तीको वाइनकुना, वडा नम्बर ६ को सुम्सा, वडा नम्बर १ को जिमिरेघाटमा विनामारेको निरंगेलगायत स्थानमा नयाँ बस्ती विकास भएको छ ।

 ठूलो अवसर बन्यो कालीगण्डकी करिडोर
कालीगण्डकी करिडोरले जिल्लाको दक्षिण क्षेत्रमा ठूलो अवसर र सम्भावना लिएर आएको जैमिनी राना बताउँछन् । ‘करिडोर नआउँदासम्म म पनि बाग्लुङ जिल्ला सदरमुकाममै विभिन्न संघसंस्थामा काम गरेर, फ्रेसहाउस चलाएर बसिरहेको थिएँ,’ रानाले भने, ‘करिडोरको ट्र्याक खुलेपछि मैले आफ्नै गाउँठाउँमा धेरै राम्रो अवसर देखेँ र गाउँ फर्किने निर्णय गरेँ ।’ 

करिडोरले रानालाई गाउँ मात्रै फर्काएन । जैमिनी– ७ बेलबगर न्वारामा होटेल व्यवसायसँगै कृषि फर्मसमेत चलाउन उत्साहित तुल्यायो । खेतबारी र बाँदर दौडने भिरपाखो थियो, त्यही भिरपाखा छिचोल्दै सडक आएपछि छेउछाउमा समाएर, जग उठाएर व्यवसाय र फर्म थाल्दा १५ लाखभन्दा बढी लगानी गर्नुपरेको उनी बताउँछन् । ‘रामै्र चलिरहेको थियो, अहिले कोभिड– १९ का कारण व्यवसायमा ठूलो असर पुगेको छ,’ राना भन्छन्, ‘करिडोरले यो ठाउँमा ठूलो कायापलट ल्याइदिएको छ, गाउँका कृषकहरूलाई उत्पादनमा लाग्न प्रेरित गरेको छ, गाउँमै केही गरौँ भन्नेका लागि सडक लाइफलाइन बनेको छ ।’

करिडोरआसपासमा अहिले कृषि, पशुपालनलगायत फर्म खोल्ने संख्या पनि अधिक छ । अहिले करिडोर आएपछि माथिल्ला गाउँबस्तीका बासिन्दा पनि व्यापार व्यवसायका लागि करिडोरछेउमा झर्ने क्रम तीव्र छ । नझर्ने पनि केही उत्पादन गरेर बजार पठाउने र त्यही पैसाले अरू अत्यावश्यक सामान खरिद गर्ने गरिरहेका छन् । करिडोरका कारण दुई–चार केजी कृषिउपज उत्पादन भए पनि बजार लैजान र केही ल्याउन धेरै सहज स्थानीय बताउँछन् । 

 बाँदर हिँड्ने पाखामा धुलो उडाउँदै गाडी गुड्यो
यस्तो विकट बाँदर हिड्ने भिरपाखामा धुलो उडाउदै दैनिक गाडी हिँड्ला भन्ने आफूले कल्पनै नगरेको होटेल व्यवसायी शर्मा बताउँछन् । आफ्ना पालामा हिँडेरै बटौली बजार नुन लिन जाने गरेको सम्झना अहिले कथाजस्तो लाग्न थालेको उनको कथन छ । करिडोरले बाग्लुङ, गुल्मीलगायत धेरै जिल्लाका कालीगण्डकी नदीकिनारआसपासका गाउँका बासिन्दाको जीवन र दैनिकीमा ठूलो बदलाव ल्याएको छ ।

पोखरा, मुग्लिङ, नारायणगढ र स्याङ्जा, पाल्पा हुँदै बुटवल पुग्न गाडीमा १२ घन्टा लाग्ने जिल्लाको दक्षिण क्षेत्रका बासिन्दा चार घन्टामै बुटवल पुग्ने गरेका छन् । करिडोरले मुख्य सडक सञ्जालबाट वञ्चित रहेको जैमिनी– ८ छिस्तीलाई सडक सञ्जालसँग जोड्नुका साथै साबिक जैदी, बिनामारे, अर्जेवा, कुस्मिसेरा, नारायणस्थान, अमलाचौरलगायत दर्जनभन्दा बढी स्थानलाई सुगम बनाएको छ ।

करिडोर आएपछि यस क्षेत्रका बासिन्दालाई यही माटोमा आयआर्जनमा जोडिने राम्रो अवसर प्राप्त भएको जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेल बताउँछन् । उनले करिडोरले जिल्लाको दक्षिण भेगको समृद्धिका लागि ठूलो टेवा पुर्याएको बताए । ‘कालीगण्डकी करिडोर नआएको भए जैदी–छिस्तीसम्म अहिलेसम्म पनि सडक सञ्जालले जोड्न मुस्किल हुन्थ्यो होला,’ पौडेलले भने, ‘करिडोर आएपछि एकाएक अवसर र सुविधाबाट वञ्चित बनेका गाउँठाउँ सुगम बनेका छन् ।’ पौडेलले जैमिनीको विकासको आधार पनि करिडोर भएको बताए । 

 चीन र भारतको सम्बन्ध गाँस्ने सडक
नेपालको दक्षिण सीमा भारतको सुनौलीदेखि र उत्तरी सीमा चीनको कोरलालाई जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ । ०३९ देखी ट्र्याक खोल्न थालिए पनि लामो समय यतिकै अल्झिएको करिडोरको यस खण्डको काम ०७० मा नेपाली सेनाले जिम्मा लिएको थियो । त्यसलगत्तै बाग्लुङदेखि रिडीसम्म ८० किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोलेर स्तरोन्नतिसमेत गरिरहेको छ ।

अहिले आठ मिटर चौडा भएको करिडोरलाई १० मिटर चौडा गर्ने योजना छ । करिडोर कालोपत्रे नभए पनि साइकल रोड भएकाले मालढुंगादेखि गुल्मीको रिडीसम्म साइकलमै जान सकिने नेपाली सेनाको निर्माण कार्यदलका प्रमुख रेस्मीराज भट्टराई बताउँछन् । ‘करिडोर निर्माणको काम तीव्र गतिमै छ, मालढुंगादेखि बलेवा विमानस्थलसम्मको १० किमि सडक कालोपत्रेका लागि सडक विभागलाई हस्तान्तरण गरिसकेका छौँ,’ उनले भने, ‘कडा चट्टान भएकाले केही चुनौतीपूर्ण काम भए पनि हामीले अब थप विस्तार र स्तरोन्नति गरेर अन्य सडकखण्ड पनि हस्तान्तरण गर्नेछौँ ।’

कोरला नाकादेखि मुस्ताङको कागबेनीसम्म ९५ किमि, कागबेनीदेखि बाग्लुङसम्म ९५ किमि, बाग्लुङदेखि गुल्मीको रिडीसम्म ७० किमि, रिडीदेखि बुटवलसम्म ६८ किमि र बुटवलदेखि सुनौलीसम्म २५ किमि करिडोरअन्तर्गत पर्छ । यसमध्ये रिडी–पालुङखोला खण्ड ४२ किलोमिटर र बाग्लुङको मालढुंगा–टाकुरी–पालुङखोला खण्ड ३८ किलोमिटर गरी ८० किलोमिटरमा नेपाली सेनाले काम गरिरहेको छ ।

करिडोर आयोजना निर्माणसँगै कालीगण्डकी किनारवारिपारि गरी १५ ठाउँमा नयाँ बस्ती विकासको अवधारणासमेत छ । उत्तर–दक्षिण छोटो मार्ग पाएपछि सबै पर्यटकले यही मार्ग नै प्रयोग गर्ने अपेक्षा गरिएको छ । विशेषगरी धार्मिक पर्यटकका लागि यो मार्ग उपयुक्त मार्ग बन्न सक्छ । कालीगण्डकीकको स्नानपछि यहाँ रहेका धार्मिक स्थल पर्यटकले एकै दिनमा भ्रमण गरेर सक्नेछन् । लुम्बिनी आएका पर्यटकलाई मुक्तिनाथ लैजान र मुक्तिनाथमा आएकालाई लुम्बिनी पुर्याउन यो मार्ग उपयुक्त विकल्प हो । हिन्दु र बौद्ध धर्मावलम्बीले यो मार्गको प्रचुर उपयोग गर्न सक्नेछन् ।

 धार्मिक पर्यटकको गन्तव्यको आधार
करिडोरअन्तर्गत त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, ज्यामिरेघाट, पाल्पा भैरवस्थान, बाग्लुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्डजस्ता महत्वपूर्ण तीर्थस्थल पर्छन् । उक्त करिडोरमा विभिन्न स्थानमा गरी एक सय ४८ वटा घाट छन् । कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउन सक्ने सम्भावना पनि उत्तिकै छ ।

कोरलाबाट दुई सय ५७ किमि पार गरेपछि कैलाश मानसरोवर पुगिने भएकाले यो मार्ग धार्मिक पर्यटनका लागि उत्तम छ । करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारत बीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्नेछ । नेपालको दक्षिण सीमा भारतको सुनौलीदेखि र उत्तरी सीमा चीनको कोरलालाई जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ । करिब चार सय ३५ किमिको कालीगण्डकी करिडोर नेपालको आर्थिक–सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ ।

सुझावित समाचार