रिसको औषधि

बिहिबार, १३ फागुन, २०७७
डिजिटल संस्करण

एकजना महिला निकै रिसाउने गर्थिन् । रिसाएका वेला उनी आफ्ना अघिल्तिर भएका जोकेहीलाई पनि असाध्यै नराम्रो गरी गाली गर्ने गर्थिन् । उनको यही बानीले गर्दा छिमेकी, आफन्त र कहाँसम्म भने घरका मान्छे पनि उनीदेखि टाढिन थालेका थिए । तर, रिस मरेपछि जहिले पनि उनी पश्चात्ताप गर्ने गर्थिन्, तर त्यति वेलासम्म निकै ढिला भइसकेको हुन्थ्यो ।

एक दिन महिलाले के थाहा पाइन् भने सहरमा नामी सन्त आएका छन् र उनले धेरैको समस्या निराकरण गर्ने क्षमता राख्छन् । महिला सन्तलाई भेट्न गइन् र भनिन्, ‘महाराज ! मेरो रिसको कुनै सीमा नै छैन । यसैकारण धेरैजना मसँग टाढिँदै गइरहेका छन्, मलाई आफ्नो गल्ती महसुस नहुने पनि होइन । तर, त्यति वेलासम्म निकै कुरा बिग्रिसकेको हुन्छ । म के गरूँ महाराज ?’

महिलाको कुरा सुनेर सन्त मुसुमुसु हाँस्न थाले । महिलाको समस्या विस्तारमा सुनेपछि उनले एउटा सिसीमा दबाई भरेर दिए र रिस उठ्ने वेलामा पिउन सुझाए । एक हप्तापछि महिलामा सकारात्मक प्रभाव देखिन थाले । महिलालाई कम रिस उठ्न थााल्यो । त्यसपछि महिला सन्तलाई भेट्न गइन् र भनिन्, ‘हजुरले दिएको औषधिले मलाई निकै राम्रो काम गर्यो ।

तपाईं जानुअघि कृपया मलाई त्यो औषधि के हो र कहाँ पाइन्छ भन्नेबारे केही भन्नुहोला । यसले मेरो रिस कम गर्न सक्ने रहेछ ।’ महिलाको कुरा सुनेर सन्त मुसुमुसु मुस्काउन थाले । त्यसपछि उनले भने, ‘जसलाई तिमीले औषधि ठानेकी छ्यौ, त्यो अमूल्य औषधि– पानी हो ।’ रिस उठ्ने वेलामा तिमीले केही बेर नबोल्नुपर्ने नै थियो । पानी खाँदा अलिकति समय त्यसमा खर्च हुन्थ्यो र तिमीले पानीलाई औषधि ठानेको हुनाले पनि परिवर्तन देखापरेको हो । त्यसैले अब जहिले रिस उठ्छ, तिमी नबोल्ने अभ्यास गर । तिम्रो रिस आफैँ नियन्त्रित हुन्छ ।’ 

सुझावित समाचार