पाटन दरबार स्क्वायर । ११–१२ वर्षजतिका तीनजना किशोरी हाँसिरहेका थिए । एकअर्कासँग खासखुस गरिरहेका थिए । विद्यालय पोसाकमै आइपुगेका उनीहरूको अगाडि कार्यक्रम चलिरहेको थियो, ‘माया त माया हो ।’ भ्यालेनटाइन्स डेको अवसर पारेर यहाँ लेस्बियन, गे, बाइसेक्सुअल, इन्टरसेक्स र क्वेर (एलजिबिटिआइक्यु) समूहको प्रस्तुति जो चलिरहेको थियो । कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक युवाहरू प्रेमबारे आफ्ना अनुभूति राखिरहेका थिए ।
समाजले संकुचनमा राखिदिएको अनूभूति सुनिरहेका किशोरीहरूतिर फर्किएर समाइरा श्रेष्ठले भनिन्, ‘हाम्रो विद्यालयमा व्यावहारिक शिक्षा छैन । पाठ्यक्रममा हाम्रा विषय समावेश गरिएका छैनन् ।’ तर पनि आफूहरूले हिम्मत नहार्ने र लडिरहने प्रतिबद्धता जनाइरहेकी थिइन् ।
यहीबीचमा आफ्नो कथा भन्न आइपुगे समीर खनाल । २४ वर्षीय समीर अहिले ‘गे’ भनेर निर्धक्क हिँड्छन् । उनलाई ‘गे’ सम्बोधनमा गर्व महसुस हुन्छ । ‘यौनिक तथा लैंगिक अल्पसंख्यक हुँ’ भनेर सहरमा खुलेरै हिँड्छन् । तर, सार्वजनिक रूपमा ‘गे’ घोषणा गर्नुअघिको समीरको जीवन कथा पीडा र हीनताबोधले लेखिएको थियो । उनी आफू गे नभएको ‘फेक रियालिटी’ देखाउँथे ।
समीरलाई घरमा पनि ‘केटीको जस्तो स्वर’ भनेर उपहास गरिन्थ्यो । समीर मनमनै सोच्थे, ‘दाइजस्तो हुन पाए... ।’ विद्यालयमा केटी साथीहरूसँग धेरैजसो साथसाथै हुन्थे । शिक्षकले सम्म ‘छक्का÷हिजडा’ भनेर होच्याउँथे । यो हेपाइ शिक्षकहरूबाट सरेर साथीभाइमा आइपुग्थ्यो । मजाकको पात्र बन्थे समीर । विद्यालय सकाएर स्नातक पढ्दासम्ममा आफ्नो वास्तविकताप्रति गहिरो प्रेममा परिसकेका थिए । भित्र एउटा थिए, बाहिर अर्कै देखाइरहेका थिए । तर, समीर ‘सेल्फ एस्सेप्टेन्स’को नजिक पुगिसकेका थिए ।
‘म पुरुष भएर पुरुषलाई नै मन पराउँछु,’ पाटनमा विवेक मगर सगौरव मञ्चबाट चिच्याइरहेका थिए । उनी भनिरहेका थिए, ‘मायाको कुराकानी गरिरहँदा महिला र पुरुषको मात्र प्रेम हुँदैन । हिजोसम्म भ्यालेनटाइन्स डे महिला र पुरुषको मात्र थियो । तर, त्यो छैन । मायाको विविधतालाई स्विकार्नुपर्छ, चिन्नुपर्छ हामीले ।’
पाटनमा भ्यालेन्टाइन्स डेका कारण युवायुवतीहरू जोडी बाँधिएर आइपुेका थिए । सिँढीमा बसिरहेका उनीहरू समीरतिर एकत्रित भइरहेका थिए । समीर आफ्नो जीवनकथा सुनाइरहेका थिए । ‘पछि मैले गर्लफ्रेन्ड पनि बनाएँ । तर, मभित्र अर्कै मान्छे थियो । एक दिन कलेजमा शिक्षकले एकदमै हेपे । घर फर्कने वेला ‘तँ छक्का, हिजडा’ भनेका थिए । यसपछि घर आएँ, घरमा पनि पसलमा सामान किन्न जान लाग्दा ‘ए छक्कालाई छोडिदे... भनेर भने,’ समीर सुनाइरहेका थिए, ‘विद्यालयमा, कलेजमा, घरमा मलाई हेपियो । परिवारका लागि चुप लागेर बसेको थिएँ । तर, किन मैले परिवारबाटै अवहेलना पाएँ ? त्यसपछि आफ्नो जीवन आफैँ बाँच्छु भनेर अगाडि बढेँ । मैले आफूले आफैँलाई माया नगरेको भए यहाँ म हुने थिइनँ ।’
अनि मनले एउटै प्रश्न दोहोर्याइरहन्छ कि
मुना र मदनको कविता त भेटियो, तर जया र जयन्तीको प्रेमगीत खोइ ?
नैना र रेशमको कथा त लेखियो, तर कुमार र कार्तिकको कहानी खोइ ?
प्रेमकै कारण रोमियो र जुलियटलाई सबैले चिने,
तर यो समाजले अप्राकृतिक र अनैतिक ठहराएको प्रेम गर्दा
मरेका अनि मारिएका जोडीहरूको लेखाजोखा खोइ ?
‘आधा इतिहास’ नामक यस कविताका लेखक आयाम पौडेल हुन् । २२ वर्षका आयामले १७ वर्षको हुँदा आफू फरक लैंगिक तथा यौनिक पहिचान हो भनेर साथीभाइ, परिवारको अगाडि खुलेका थिए । ‘जोजोसँग आवश्यक थियो, उहाँहरूसँग खुलेको छु । औपचारिक रूपमा अरूसँग खुलेको छैन, खुल्न आवश्यक पनि छैन ।’
पुरुषवादको अहम्को ताज लगाएर सिर्जित यो समाज नारीवादको जयजयकारमा मोहित यो समाजले मलाई आज अस्तित्वविहीन कहलाएको छ
यो समाज भन्छ : म अपूरो अधुरो छु
तर यही अपूर्णतामा म पूर्ण छु
यो समाज भन्छ : म बेरङ छु
तर म त आफैँभित्र इन्द्रेणीसँग लुटपुटिएको छु
निकिता मगरले लेखेको यो कविताको शीर्षक ‘इन्द्रेणी’ थियो । पाटनमा सुनाइरहेकी थिइन् । एलजिबिटिआइक्युभित्र त निकिता पर्दिनन्, तर सक्रिय भएर लागिरहेकी छिन् । भन्छिन्, ‘हामीले सोच्ने सामान्य बुझाइभन्दा धेरै पनि जीवन हुन्छ । मेरो आफ्नै सर्कलमा पनि धेरै साथीहरू फरक यौनिक र लैंगिक पहिचानका हुनुहुन्छ । त्यसबाट के बुझेँ भने मायाको परिभाषा हुँदैन रहेछ । यसपछि यो अभियानमा जोडिएकी हुँ ।’
कथा समीर, आयामको मात्र यस्तो होइन । धेरै मानिस छन्, जो यो समाजभन्दा अलग रहेर बाँचेका छन् । जसले आफूलाई लुकाएर बाँचेका छन् । गत ७ असारमा दाङका नारायण चौधरीले काठमाडौंमा आत्महत्या गरे । उनले एक महिलासँग विवाह गरेका थिए, छोराछोरी पनि थिए ।
ब्लु डायमन्ड सोसाइटीसँग आबद्ध नारायण विकल्प नहुँदा यौनकर्मी बनेका थिए । तर, लकडाउनले नारायणको रोजीरोटी खोस्यो, नारायणले आत्महत्याको बाटो अपनाए । त्यसलगत्तै नवरपरासीमा छेत्री थरका एक व्यक्तिले बाबुसँग झगडा परेपछि आत्महत्याको बाटो रोजेका थिए । उनलाई अपमानित भएर बाँच्नुभन्दा मर्नु उत्तम लाग्यो होला सायद ।
उनी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमा ‘छोटु’ नामबाट परिचित थिए । २१ जेठमा राजविराजमा ननिष यादव, तथा १९ असारमा कैलालीका दुई समलिंगी महिलाले विष सेवन गरेर आत्महत्या गरेका थिए । जसको कारण समाजले अस्वीकार गर्ने उनीहरूको प्रेम थियो । तर, परिवार, समाजसँग लडेर आइपुगेकाहरूले पाटनमा आफ्नो जीवन कथा सुनाइरहेका थिए ।
‘म पुरुष भएर पुरुषलाई नै मन पराउँछु,’ पाटनमा विवेक मगर सगौरव मञ्चबाट चिच्याइरहेका थिए । उनी भनिरहेका थिए, ‘मायाको कुराकानी गरिरहँदा महिला र पुरुषको मात्र प्रेम हुँदैन । हिजोसम्म भ्यालेनटाइन्स डे महिला र पुरुषको मात्र थियो । तर, त्यो छैन । मायाको विविधतालाई स्विकार्नुपर्छ, चिन्नुपर्छ हामीले ।’ मायाको परिभाषा ‘लिंग’ र ‘योनि’को मिलन मात्रै नभएर दुई आत्माको मिलन रहेको बताइरहेका थिए विवेक । ‘महिला र पुरुषको जीवनमा प्लानिङ हुन्छ, विवाह, करिअर, बालबच्चालगायत । तर, खोइ त मलाई त्यो अधिकार ?’ विवेक भनिरहेका थिए, ‘विवाह गर्ने, पारिवारिक हुने, सरोगेसीको माध्यमबाट बच्चा जन्माउने अधिकार कहाँ छ हामीलाई ? यो विषय राज्यले सुन्नुपर्छ ।’
अधिकारको कुरा गर्दा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा ‘नागरिकता ऐन–०६३ लाई संशोधन गर्न बनेको विधेयक’ छलफलमा थियो । तर, अहिले प्रतिनिधिसभा नै विघटन भइसकेको छ । अदालतमा बहस चलिरहेको छ । विधेयककको दफा (१७), उपदफा (४) को व्यवस्थाप्रति लैंगिक तथा यौनिक अल्सपंख्यक समुदायले आपत्ति जनाउँदै आएको छ । ‘नेपाली नागरिकता लिइसकेका व्यक्तिले पछि लिंग परिवर्तन गरी परिवर्तित लैंगिक पहिचानसहितको नागरिकता लिन आवेदन दिएमा सम्बन्धित अधिकारीले आवश्यक सबुत प्रमाण बुझी पहिले लिएको नागरिकता खिचेर अर्को नागरिकता दिन सक्नेछ’ भन्ने बुँदाका कारण आफूहरू पहिचानविहीन हुनुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ ।
यदि यो विधेयक पास भएमा उनीहरूले लिंग परिवर्तन गरेको शल्यक्रियाको प्रमाणपत्र बुझाउनुपर्नेछ । तर, नेपालमा शल्यक्रियाको व्यवस्था छैन । विदेश गएर २०–३० लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ । यति धेरै रकम खर्च गरेर शल्यक्रियाको प्रमाणपत्र बुझाएपछि नागरिकता दिने भन्ने कानुन मान्य नहुने कुरा उठाउँदै आएका छन् ।