इंग्ल्यान्डले भारतलाई मंगलबार पहिलो टेस्टमा दुई सय २७ रनको फराकिलो अन्तरले हराएको छ । इंग्ल्यान्डले भारतसमक्ष चार सय २० रनको लक्ष्य दिएको थियो । कीर्तिमानी लक्ष्य पछ्याएको भारत चौथो इनिङ्सको ५८.१ ओभरमै एक सय ९२ रनमा अलआउट हुँदा इंग्ल्यान्डले १७ वर्षपछि भारतीय भूमिमा ठूलो जित निकालेको हो । सन् २००६ मा इंग्ल्यान्डले भारतलाई दुई सय १२ रनले हराएको थियो ।
यससँगै चेन्नईको चेपक रंगशालामा भारतले २२ वर्षपछि पहिलो हार सामना गरेको छ । सन् १९९९ मा यसै मैदानमा भारत पाकिस्तानसँग १२ रनले पराजित भएको थियो । त्यसयता भारतले आठ टेस्टमा पाँच जित र तीनवटामा बराबरी नतिजा निकालेको थियो । समग्रमा चार वर्षपछि भारत घरेलु मैदानमा पहिलोपटक पराजित भयो । सन् २०१७ को फेब्रुअरीमा भारत पूणे टेस्टमा अस्ट्रेलियासँग तीन सय ३३ रनले पराजित भएको थियो । यो चार वर्षमा भारतले घरेलु मैदानमा १४ टेस्ट खेल्दा ११ जित तथा तीनमा बराबरी नतिजा निकाल्यो ।
इंग्ल्यान्डले रोए रुटको दोहोरो शतकीय इनिङको मद्दतमा पहिलो इनिङमा पाँच सय ७८ रन तथा दोस्रो इनिङ्समा एक सय ७८ रन बनाएको थियो । भारत पहिलो इनिङ्समा तीन सय ३७ रनमै सीमित भयो । भारतको दोस्रो इनिङ्स कमजोर बनाउन फास्ट बलर ज्याक लिच तथा जेम्स एन्डरसनले घातक बलिङ गरेका थिए । ज्याकले ७६ रन खर्चेर चार विकेट लिए । एन्डरसनले १७ रन दिएर तीन विकेट हात पार्दा इंग्ल्यान्डले चार टेस्ट सिरिजमा १–० को अग्रता लियो । समग्रमा ज्याकले पहिलो टेस्टमा ६ विकेट, एन्डरसनले ५ विकेट हात पारेका थिए ।
भारतको दोस्रो इनिङ्समा ओपनर सुभमन गिलले ५० रनको योगदान दिए । उनले ८३ बलमा सात चौका र एक छक्का प्रहार गरे । कप्तान विराट कोहलीले आक्रामक रूपमा ब्याटिङ गर्दै ७२ रन बटुले । उनले १४ बलमा नौ चौका प्रहार गरे । भारतको दोस्रो इनिङ्सको एक समय ११७–६ को नाजुक अवस्थामा थियो । कोहली र रविचन्दन आश्विनले सातौँ विकेटका लागि ५४ रनको साझेदारी गरे । त्यसपछिका ब्याट्सम्यानले गतिलो रन बनाउन सकेनन् ।
भारतको पहिलो इनिङ्समा रिषभ पन्तले ९१ रन तथा वासिङ्टन सुन्दरले ८५ रन बनाएका थिए । रुटले पहिलो इनिङ्समा दुई सय १८ रनको योगदान दिए । यसक्रममा उनले तीन सय ७७ बलमा १९ चौका र दुई छक्का प्रहार गरे ।