अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा काम गर्न गोल्छाको सुझाब

सोमबार, २६ माघ, २०७७
डिजिटल संस्करण

भूपरिवेष्ठित मुलुक नेपालको अन्तर्राष्ट्रिय व्यापारमा आफ्नै प्रकारको चुनौती रहेकाले सहजीकरण गरेर काम गर्न नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्थल यातायात तथा पारवहन समितिलाई सुझाब दिएका छन् ।

महासंघका कार्यकारिणी सदस्य प्रकाशसिंह कार्कीकोे सभापतित्वमा गठित समितिलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले व्यापारलाई अझ बढी सहज बनाउन आवश्यक सुधारको विषयमा सुझाब तयार गर्न आग्रहसमेत गरेका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समितिलाई अन्तर्राष्ट्रिय व्यापारका क्रममा आउने स्थल, सामुद्रिक र हवाई यातायातका सम्पूर्ण मुद्दाहरूमा परिणामदायी ढंगले काम गर्न सुझाब दिए । 

समितिको सह–सभापतिहरूमा महासंघको कार्यकारिणी सदस्यद्वय अमृत भट्टचन र राजेशकुमार अग्रवाल तथा नेपाल फ्रेट फर्वार्डस् एसोसिएसनका द्वितीय उपाध्यक्ष नरेशकुमार अग्रवाल चयन भएका छन् ।

सदस्यहरूमा महासंघको कार्यकारिणी सदस्य दामु अधिकारी, नेपाल समुद्रपार निकासी–पैठारी संघका महासचिव मदन मित्तल, नेपाल गुड्स क्यारियर्स एसोसिएसनका अध्यक्ष रितेश लामिछाने, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल र नेपाल फ्रेट फर्वार्डस् एसोसिएसनकी कार्यकारिणी सदस्य सीता अधिकारी चयन भएको महासंघ सचिवालयले जनाएको छ । 

सुझावित समाचार