कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि संघीय कोष र बजेट प्रणालीबाट भएको खर्च देखियो, भदौयताको एकीकृत विवरण छैन
केन्द्रीय सरकारले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा हालसम्म ९ अर्ब खर्च गरेको छ । नेपालमा कोरोना सुरु भएपछि गत आवको चैतदेखि साउन मसान्तसम्म ५ अर्ब ८४ करोड ७९ लाख खर्च गरेको छ । त्यस्तै, चालू आवको ६ महिनामा २ अर्ब ७५ करोड ८८ लाख ८२ हजार रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत रहेको कोरोना रोकथाम नियन्त्रण, रोकथाम तथा उपचार कोषबाट साउन देखि पुससम्म १ अर्ब ४० करोड र बजेट प्रणालीबाट १ अर्ब ३५ करोड खर्च भएको महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनले देखाएको छ ।
कार्यालयका अनुसार पुस मसान्तसम्ममा कोषमा कुल १ अर्ब ८७ करोड १२ लाख ६८ हजार जम्मा भएको थियो । विभिन्न सरकारी निकाय, निजी संघ–संस्था, बैंक तथा वित्तीय संस्था, कम्पनी तथा व्यक्तिले सहयोग गरेको रकम उक्त कोषमा जम्मा हुने कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताए । गत आवको अन्त्यसम्म कोषमा १ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ जम्मा भएको थियो । चालू आवको ६ महिनामा कोषमा ५१ करोड ५३ लाख रुपैयाँ जम्मा भएको छ । ‘अघिल्लो आर्थिक वर्ष र यस आवको पुस मसान्तसम्म कोषमा १ अर्ब ८७ करोड १२ लाख रुपैयाँ जम्मा भएको थियो जसमध्ये १ अर्ब ४० करोड ३७ लाख खर्च भएको छ’ उनले भने, ‘अब कोषमा ४६ करोड ७४ लाख रुपैयाँ बाँकी रहेको छ ।’
संघीय बजेटबाट सवा १ अर्ब खर्च
चालू आर्थिक वर्षका लागि सरकारले कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि तत्काल आवश्यक पर्न सक्ने औषधि, उपकरण तथा उपचार सामग्री कमी हुन नदिन ६ अर्ब बजेट व्यवस्था गरेको छ । बजेट प्रणालीबाट सरकारले सवा १ अर्ब खर्च गरेको हो । कार्यालयका अनुसार चालू आवको बजेटबाट सरकारले पुस मसान्तसम्ममा १ अर्ब ३५ करोड ५० लाख रुपैयाँ खर्च गरेको हो । अब यस शीर्षकअन्तर्गत ४ अर्ब ९१ करोड ४ लाख रुपैयाँ खर्च हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।
कहिले कति निकासा भयो ?
कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारमा कोष सञ्चालनका लागि लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प कँडेल नेतृत्वको समिति रहेको छ । उक्त समितिले गर्ने बाँडफाँडको निर्णयअनुसार सरकारले स्थानीय तहमा पैसा निकासा गर्ने गरेको छ । चालू आर्थिक वर्ष सुरु भएयता पुस मसान्तसम्ममा चारपटक रकम निकासा भएको छ । समितिको सिफारिसमा १८ साउन, ८ भदौ, २२ भदौ र २८ कात्तिकमा रकम निकासा भएको उनले जानकार दिए । साउनमा ५ करोड ५२ लाख, भदौमा १ अर्ब ३२ करोड ६० लाख र कात्तिकमा २ करोड २५ लाख निकासा भएको हो ।
एकीकृत विवरण अझै आएन
महालेखा नियन्त्रक कार्यालयले संघीय सरकारले कोभिड नियन्त्रणका लागि गरेको खर्च सार्वजनिक गरे पनि तीन तहले गरेको खर्चको एकीकृत विवरण भने सार्वजनिक गरेको छैन । यअसघि अर्थ मन्त्रालयले भदौमा एक प्रतिवेदन सार्वजनिक गर्दै सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि साउन मसान्तसम्ममा करिब १२ अर्ब खर्च भएको जनाएको थियो ।
औषधि तथा स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार विस्तार, जनशक्ति परिचालन, क्वारेन्टाइनलगायत क्षेत्रमा सरकारले कुल ११ अर्ब ९८ करोड ३१ लाख रुपैयाँ खर्च गरेको थियो । त्यसपछिको एकीकृत अद्यावधिक विवरण भने सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै प्रदेश र स्थानीय तहसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत कोभिड खर्चको अद्यावधिक विवरण माग गरेको जनाएको छ । विवरण संकलन गरेर छिट्टै एकीकृत सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।