समाजलाई त्यस्तो विश्वसनीय प्रतीक चाहिन्छ, जसमा आवाज उठाउने साहस होस् । कल्पना गर्नुस्, आज विपक्षमा यस्तो कुनै प्रतीक हुन्थ्यो भने ?
हालै अन्ना हजारेले आन्दोलन गर्ने घोषणा गरे र लगत्तै रद्द गरिदिए । यसबीच उनले कतिपय त्यस्ता काम पनि गरेका छन्, जसले समाचार बन्ने हैसियत पनि राख्दैनन् । त्यति हुँदा पनि केही उदारवादी मानिस, खास गरेर कांग्रेसी मानसिकता भएकाहरू के भन्छन् भने अन्ना मूलतः ढोंगी हुन् । अन्ना हजारेको एक मात्र उद्देश्य थियो– युपिए–२ लाई बदनाम गर्नु र नरेन्द्र मोदीलाई सत्ता सुम्पिनु । लोकपाल आन्दोलन ‘आरएसएसको षड्यन्त्र’ थियो आदि । यी र यस्ता टिप्पणी ती बुढा मान्छेप्रति गरिएको अन्यायसिवाय केही होइन । माथिको कुरा तथ्यगत ढंगले पनि सही छैन ।
पहिलो कुरा त के हो भने लोकपाल आन्दोलनले मनमोहन सिंहको सरकारलाई अलोकप्रिय बनाउन कुनै भूमिका खेलेको होइन । बरु त्यसले त युपिए–२ बाट मानिसमा चुलिँदै गएको मोहभंगको अवस्थालाई मुखर स्वर मात्र दियो । उसले त्यो भावनालाई ठोस रूप दिएको थियो, तर मानिसमा सरकारविरोधी भावना त पहिलेदेखि नै व्याप्त थियो । लोकपाल आन्दोलनले एउटा आकार लिँदासम्म भ्रष्टाचारले नेटो नाघिसकेको थियो । पछिल्लो चरणसम्म सरकार अक्षम सावित भइसकेको थियो र सबैभन्दा ठूलो कुरा महँगी यति आकासिएको थियो कि सबै आत्तिएका थिए ।
दोस्रो, अन्ना हजारे लोकपाल आन्दोलनका लागि अरविन्द केजरिवालद्वारा ल्याइएका एक मुखौटा मात्रै थिए । जब त्यो मुखौटाको आवश्यकता रहेन, त्यसलाई फालियो । केजरिवालले उपयोगवादिताको सिद्धान्तलाई पछि गएर आफ्नो शैली नै बनाए । किनभने आम आदमी पार्टीले योगेन्द्र यादव र प्रशान्त भूषणका साथ पनि त्यही उपयोगितावादको सिद्धान्त अवलम्बन गर्यो । राजनीतिज्ञका रूपमा केजरिवाल कतिसम्म निर्मम हुन सक्छन् भन्ने देखाउँछ यसले । त्यसो त यो शैली आजका नेताहरूको विशेषता नै हुन गएको छ । प्रश्न के हो भने अन्नाको ध्येय नकारात्मक थियो ? वास्तविक अन्ना को हो ? उनी त्यति वेला के चाहन्थे र आज के चाहन्छन् ? आज यी सबै सवाल राजनीतिक रूपमा त्यति उपयुक्त नहुन सक्छन् । तर, उत्सुकतालाई शान्त पार्नका लागि मात्र यसको जवाफ चाहिएको छ ।
अन्ना हजारेले आधुनिक भारतको इतिहासमा एउटा अहं अध्याय लेखेका छन् । इतिहासकारले जब वर्तमान समयको इतिहास लेख्नेछन्, तब उनीहरूले मुम्बईका सामाजिक कार्यकर्ता मयंक गान्धीको किताब अवश्य पढ्नुपर्ने हुन्छ ।
जे होस्, अन्ना हजारेले आधुनिक भारतको इतिहासमा एउटा अहं अध्याय लेखेका छन् । आगामी दिनमा इतिहासकारले जब वर्तमान समयको इतिहास लेख्नेछन्, तब उनले मुम्बईका सामाजिक कार्यकर्ता मयंक गान्धीको किताब ‘अप एन्ड डाउन’ अवश्य पढ्नुपर्ने हुन्छ । यस किताबमा गान्धीले लोकपाल आन्दोलनलाई अन्ना आन्दोलनमा कसरी बदलियो भनेर लेखेका छन् । केजरिवाल अथवा आपले उनको यस दाबीलाई खण्डन गरेको छैन । गान्धीका अनुसार आरटिआई अभियन्ता केजरिवालले लोकपाल आन्दोलन सुरु गर्ने योजना बनाए र मयंक गान्धीलाई यसमा जोडिन आग्रह गरे ।
केजरिवाल यसैगरी देशभरिमा विभिन्न पृष्ठभूमि र राजनीतिक विचार भएका वामपन्थी र दक्षिणपन्थी सबैलाई भेट्दै गए । मयंक गान्धीलाई उनको विचार मन पर्यो, तर आन्दोलनको प्रतीक कसलाई बनाउने भन्ने अहं प्रश्न अझै जिउँदै थियो । यो निकै गम्भीर प्रश्न थियो । हरेक आन्दोलनलाई एउटा प्रतीकको आवश्यकता हुन्छ र जब आन्दोलनको कुनै प्रतीक हुँदैन, त्यति वेला मिडियाले नै प्रतीक खडा गरिदिन्छ । गान्धीका अनुसार केजरिवाल लगत्तै सहमत भए कि यो एउटा राजनीतिक मुद्दा बन्न सक्छ र केजरिवालले मलाई सोधे यस्तो कुनै प्रतीक हुन सक्ने मान्छे तपाईंको मनमा छ ? गान्धीले अन्ना हजारेको नाम लिए र त्यसलाई कसरी प्रयोग गर्ने भन्नेबारे पक्ष–विपक्षमा तर्क राखियो । गान्धीले हजारेको अहं र आत्मप्रशंसाको भावका बारेमा त्यस छलफलमा स्पष्ट पारे । के पनि भने भने उनको राजनीतिक विचारधारा अस्पष्ट छ । उनी जिद्दी छन् र आफ्नो झुण्डमा घेरिएका हुन्छन् तथा उनको जीवनशैली आफूखुसी चल्ने खालको छ ।
आजको दिनसम्म आइपुग्दा अन्नामा हामीले यी सबै विशेषता महसुस गरिसकेका छौँ । पछि उनी आन्दोलनको अनुहार मात्र होइन कि राष्ट्रपिता पनि बन्न पुगे । यही कारण हो कि उनी पटक–पटक आन्दोलनमा उत्रिने, अनशन बस्ने कुरा गरिरहन्छन् । अन्ना फेरि त्यो समयलाई फर्काउन चाहन्छन् । उनी सबैको नजरमा कायम रहन चाहन्छन् । उनी नरेन्द्र मोदी त होइन, तर कम्तीमा कंगना रणौत बन्न चाहन्छन् । उनी २० वर्षका हुन्थे भने पक्कै पनि उनले ट्विटरबाट मानिसलाई उद्वेलित बनाइरहेका हुन्थे र त्यो सम्भावना पनि थियो । अन्ततः अन्नाको कथाको शिक्षा के हो भने समाजलाई त्यस्तो विश्वसनीय प्रतीक चाहिन्छ, जसमा आवाज उठाउने साहस होस् । कल्पना गर्नुस्, आज विपक्षमा यस्तो कुनै प्रतीक हुन्थ्यो भने ?
(लेखक द प्रिन्टका सहयोगी सम्पादक हुन्)
द प्रिन्टबाट