अक्सफोर्ड–एस्ट्राजेनेकाको प्रभाव ९६ प्रतिशत : तीन महिना अन्य कुनै पनि औषधि लिनु नपर्ने

बिहिबार, २२ माघ, २०७७
डिजिटल संस्करण

कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध विश्वका विभिन्न देशमा अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन प्रयोग भइरहेको छ । यो भ्याक्सिनको नतिजा निकै राम्रो आएको भ्याक्सिन लगाएका देशहरूबाट प्रतिक्रिया आइरहेका छन् । 

यसैबीच बेलायतको स्वास्थ्य विभागका सचिव म्याट हान्कोकले पनि भ्याक्सिनले उत्कृष्ट नतिजा निकालेको बताएका छन् । ‘यो अहिलेसम्मकै उत्कृष्ट नतिजा र काम भन्नुपर्छ,’ म्याटले भनेका छन् । कोरोना भाइरस संक्रमण न्यूनीकरण गर्न यो भ्याक्सिन प्रभावशाली रूपमा अघि बढिरहेको कम्पनीले पनि दाबी छ । बेलायतले पहिलो चरणमा नौ लाख ६० हजार नागरिकलाई यो भ्याक्सिन लगाएको थियो । 

बेलायतमा पहिलो चरणको खोप सुरु गर्दा यसअघिको नतिजा र विश्लेषण गरिएको थिएन । यहाँका स्वास्थ विभागका सचिव म्याटले बुधबार अध्ययन तथा अनुसन्धानपछि भ्याक्सिनको काम अति नै सन्तोषजनक रहेको जनाएका हुन् । ‘अहिलेको परिणाम हेर्दा यसले पर्याप्त प्रभाव पार्न सक्छ जस्तो महसुस भएको छ,’ उनले भने । भ्याक्सिनले असर गर्दै जाँदा आफूहरूमाथि दबाब सिर्जना हुने उनको भनाइ छ । 

म्याटले बिबिसीको ब्रेकफास्ट कार्यक्रममा भनेका छन्, ‘हामी सबैलाई यस महामारीबाट बाहिर निस्कन यो भ्याक्सिनले मद्दत पुर्याउँछ ।’ केही साताअघि युनिभर्सिटी अफ अक्सफोर्डले नै भ्याक्सिन निर्माण कम्पनीमा गएर अध्ययन गरेको थियो । त्यहाँ अक्सफोर्डका अनुसन्धानकर्ताहरूले प्रत्येक भ्याक्सिन बनाउन अपनाएको प्रविधि निरीक्षण गरेको म्याटले बताए । 

भ्याक्सिन लिएपछि तीन महिनासम्म सुरक्षित
भ्याक्सिन लगाएका व्यक्तिमा स्वास्थ्य समस्या आउँदा उनीहरूको स्वाब तत्कालै लिने गरेको र के खराबी भएको हो भनी अनुसन्धान भएको म्याटको भनाइ छ । ‘हामीले प्रत्येक साता भ्याक्सिन लिएका केही व्यक्तिको स्वाब संकलन गरेका थियौँ, उनीहरूको स्वास्थ्यमा केही खराबी आउँदा थप अनुसन्धान अगाडि बढायौँ,’ उनले भने । अहिले यस कम्पनीको भ्याक्सिनको प्रभाव ९६ प्रतिशत रहेको छ । एक व्यक्तिले भ्याक्सिन लिएपछि तीन महिनासम्म कोभिड–१९ संक्रमणबाट सुरक्षित रहने दाबी म्याटले गरेका छन् । 

अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन लिएका व्यक्तिले तीन महिनाको अवधिमा अन्य कुनै पनि औषधि लिनु नपर्ने पनि उनको भनाइ छ । यता भ्याक्सिनमाथि अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरूले चारदेखि १२ सातासम्म भ्याक्सिनको पहिलो डोजले नै काम गरिरहने जानकारी दिएका छन् । दोस्रोपटकको खोप लगाउँदा भ्याक्सिनको काम गर्ने शक्ति ८२ प्रतिशत रहेको छ । ‘अध्ययनअनुसार दोस्रो खोपको प्रभाव ८२ प्रतिशत देखिन्छ,’ स्वास्थ्य विभाग सचिव म्याटले भने । 

दोस्रो डोज खोप दिन हतार नगर्न सुझाब
कोरोना भाइरसविरुद्धको पहिलो चरणको भ्याक्सिनेसन अभियान विश्वभर नै जारी छ । पहिलो डोज सकिएका कतिपय राष्ट्रहरूले दोस्रो डोज चरणको खोप वितरणको तयारी गरिहेका छन् । तर, बेलायतको मेडिकल एसोसिएसनले तत्काल दोस्रो चरण खोप प्रयोगमा ल्याउन नहुने भनाइ अघि सारेको छ । 

एसोसिएसनका प्रोफेसर तथा अक्सफोर्ड भ्याक्सिनका विज्ञ एन्ड्रयु पोलार्डले सबैतिरको नतिजा आएपछि मात्र दोस्रो डोज खोप दिन सुझाब दिएका छन् । आफूहरूले गरेको अध्ययनले यस्तो निष्कर्षमा पुगेको उनले बताएका छन् । ‘२२ दिनसम्म भ्याक्सिन लगाएका व्यक्तिको अवस्था हेर्नुपर्छ, पहिलो डोजले राम्रोसँग काम गरेपछि मात्र अर्को डोजका लागि योग्य मानिन्छ,’ प्रोफेसर पोलार्डले भने ।

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार