नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले चलचित्र तथा गीत–संगीत उद्योगले आयात गर्ने उपकरणमा राज्यले विशेष छुट दिनुपर्ने बताएका छन् । महासंघका कार्यकारिणी सदस्य आकाश अधिकारीको सभापतित्वमा गठित चलचित्र तथा मनोरञ्जन फोरमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले कला संस्कृति देशको बलियो निधि भएको बताए । चलचित्र तथा गीत–संगीतलाई अझ बढी सम्मानित क्षेत्रको रूपमा स्थापित गराउन र सम्पूर्ण कलाकारको संरक्षणमा काम गर्न नवगठित फोरमलाई उनले आग्रह गरेका छन् ।
महासंघको चलचित्र तथा मनोरञ्जन फोरमले बुधबार पूर्णता पाएको छ । फोरमका सहसभापतिहरूमा नेपाल चलचित्र संघका मधुसुदन प्रधान र नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगर चयन भएका छन् । फोरमको सदस्यहरूमा रविन्द्रकुमार रिजाल शशी, सुनील कटुवाल, मदन घिमिरे, छविराज ओझा, निर्मल ढकाल, तुलसी पराजुली चयन भएका छन् ।
यस्तै, आमन्त्रित सदस्यहरूमा सुभाष भण्डारी, रक्षा सिंह राणा, गायिका इन्दिरा जोशी, नायिका नीता ढुंगाना, हास्य कलाकार केदार घिमिरे, दिनेश पाख्रिन, लोक गायिका मञ्जु पौडेल, रचना श्रेष्ठ, चलचित्र निर्देशक प्रदीप श्रेष्ठ, सामिप्त तिमल्सिना, कलाकार धर्मेन्द्र आचार्य, नायिका पवित्रा आचार्य, दिप्तप्रकाश अधिकारी, अमृत खड्का, शिव पुरी, खुशल रेग्मी, गीतकार लोकराज अधिकारी, गायक मेघराज मगराती, कलाकार सुशान्तकुमार श्रेष्ठ, चेतन सापकोटा र राजन श्रेष्ठ रहेका छन् । फोरमका सल्लाहकारहरूमा निरविक्रम शाह, डा. भोला रिजाल, राजेन्द्र सलभ, कमला श्रेष्ठ र प्रेमा राज्यलक्ष्मी सिंह चयन भएका छन् ।
फोरमको पहिलो बैठकको निर्णय
फोरमका सभापति आकाश अधिकारीको अध्यक्षतामा बसेको पहिलो बैठकले चलचित्र उद्योगले राष्ट्रिय मान्यताप्राप्त उद्योगका रूपमा समेटिएकाले समग्र चलचित्र तथा गीत–संगीत क्षेत्रको विकासका लागि सरकारले दिनुपर्ने सहयोगलगायतका विषयमा सुझाब संकलन गरी सरकारमा पेस गर्ने निर्णय गरेको छ । यस्तै, विदेशस्थित नेपाली कूटनीतिक नियोगमार्फत सम्बन्धित देशहरूमा नेपाली चलचित्र, गीत–संगीतको प्रवद्र्धन, रोयल्टी तथा कपिराइट संरक्षणलगायतका विषयमा काम गर्ने पनि निर्णय भएको महासंघ सचिवालयले जनाएको छ ।