एक समय फेसन उद्योगमा दिगोपनको विषय स्टेला म्याक्काटर्नेजस्ता सीमित डिजाइनर र प्याटोगोनियाजस्ता कम्पनीले उठाउने गर्थे । तर, अहिले परम्परागतदेखि नयाँ ब्रान्डसम्मले आफ्नो सप्लाई चेनमा सुधार गर्न थालेका छन् । उनीहरूको ध्यान अत्यधिक धेरै खेर जाने कपडाको परिमाण घटाउनमा देखिन्छ । यसका लागि कपडा उद्योगहरू बायोफाइबर (जैविक–रेसा)देखि वातावरणमैत्री बटन बनाउन केही प्राविधिक स्टार्ट–अपसँग सहकार्य गर्न थालेका छन् । यसको उद्देश्य कपडा उद्योगलाई फोहोरमुक्त गराउनु रहेको छ ।
सबैभन्दा ठूलो समस्या मागमा नरहेका कपडाहरूको ठूलो परिमाण ल्यान्डफिलमा पुग्नुमा देखिन्छ । पर्यावरणीय दिगोपन वृद्धि गर्न काम गरिरहेको एलेन म्याक्अर्थर फाउन्डेसनका अनुसार सन् २००० देखि सन् २०१५ बीचमा विश्वव्यापी कपडा उत्पादन दोब्बरले बढ्यो । यही अवधिमा कपडा लगाउने दर भने ३६ प्रतिशतले कम भयो । फाउन्डेसनको रिपोर्टअनुसार विश्वमा प्रतिसेकेन्ड एउटा फोहोर बोक्ने ट्रकबराबर कपडा जलाइन्छ । वर्ल्ड इकोनोमिक फोरमको अध्ययनले भन्छ– यही अवधिमा झन्डै ६० प्रतिशतभन्दा बढी कपडा खरिद भयो । तर, उपभोक्ताले तिनको प्रयोग भने आधा समय मात्र गर्न थालेका छन् ।
यी तथ्यांकलाई मनन गर्दै एच एन्ड एमजस्ता ब्रान्डले आफ्ना उपभोक्तालाई पहिरनको दिगोपन बढाउन प्रोत्साहित गरिरहेका छन् । साथमा उसले पुराना कपडालाई फोहोरमा नफ्याँक्न आग्रह गरिरहेको छ । पुराना कपडाका लागि उसको अलग विकल्प छ । जस्तो– एच एन्ड एमको स्टकहोम एकाइमा उपभोक्ताले पुरानो कपडा ल्याएर नयाँ कपडा बनाउन सक्छन् । त्यहाँ पुरानो कपडाका रेसालाई नयाँ बनाउने संयन्त्र राखिएको छ । र उपभोक्ताले त्यही संयन्त्रले पुरानोलाई नयाँ बनाएको पैसा मात्र तिर्छन् । परम्परागत रूपमा प्रयोग हुने रिसाइक्लिङ प्रक्रियाको आफ्नै सीमा हुन्छन् । ‘बाहिरबाट हेर्दा फेसन उद्योग झकिझकाउपूर्ण देखिन्छ, तर यसको सप्लाई चेन अझै पनि १९औँ शताब्दीको उपकरणमा निर्भर छ,’ सियाटलस्थित स्टार्टअप इभ्रनुकी संस्थापक स्ट्यासी फ्लिनले भनिन् । फ्लिनको इभ्रनु कम्पनीले आधारभूत रासायनिक सामग्रीमा समेत फाइबर घटाउने उद्देश्य बोकेको छ ।
बाहिरबाट हेर्दा फेसन उद्योग झकिझकाउपूर्ण देखिन्छ, तर यसको सप्लाई चेन अझै पनि १९औँ शताब्दीको उपकरणमा निर्भर छ, जसमार्फत ठूलो परिमाणमा फोहोर निस्कन्छ
प्रविधिको प्रयोग गरेर इभ्रनुले पुराना पहिरनका उदारिएका रेसालाई लेदोमा बदल्छ । यसरी आएको लेदोलाई बाक्लो कागज बनाइन्छ र तिनलाई टेक्सटाइल सप्लाई चेनको अर्को चरण रेसानिर्माताकहाँ पुर्याउँछ । इभ्रनुले एडिडास र म्याक्काटर्नेजस्ता धेरै ब्रान्डसँग रिसाइकल फाइबर प्रयोग गर्न सहकार्य गरिरहेको छ ।
पहिरन उद्योगमा चर्चामा रहेका नयाँ विकल्पमध्ये अर्को फाइबर तथा अन्य कच्चा सामग्री जनावरबाट नलिई प्रकृतिमा पाइने वस्तुबाटै पूर्ति गर्ने भन्ने विषय छ । उदाहरणका लागि धेरै कम्पनीले छालाको विकल्प विकास गर्न अनुसन्धान गरिरहेका छन् । छालाको मुख्य स्रोत गाई धेरै मिथेन उत्सर्जन गर्ने जीव हो, जुन ग्यास वातावरणका लागि निकै घातक मानिन्छ । त्यस्तै, छाला प्रशोधन गर्ने क्रममा क्रेमियमजस्ता विषाक्त रसायनको प्रयोग हुन्छ । जनावरबाट लिइने छालाको एक विकल्प च्याउको छाला हो । च्याउको जरा प्रयोग गरेर पनि छाला बनाउन सकिन्छ र यो छालाले जनावरको छालालाई विस्थापित गर्ने सामथ्र्य राख्छ ।
कोलम्बिया विश्वविद्यालयमा जैविक लेदरको विकल्पमा काम गरिरहेकी थियन स्किरोस र उनको समूहले पछिल्लो प्रोटोटाइप बनाएका छन् । स्किरोस भन्छिन्, ‘हामीले प्राकृतिक रूपमा डाई हुने र माइक्रोवबाट बनाउन सकिने जुत्तामा काम गरिरहेका छौँ ।’ महामारीको समयमा उनी घरबाट काम गर्न बाध्य भइन् । जुन उनका लागि केही हदसम्म नयाँ विकल्प परीक्षण गर्ने उत्तम स्थान बन्यो । उनले आफ्नो घरपछाडिको बारीमा कैयौँ खालको परीक्षणमार्फत जैविक लेदरमा परीक्षण गरिरहेकी छन् ।
स्किरोस उलन फाइबरको विकल्प विकास गरिरहेको वेरवुलको सह–संस्थापक र प्रमुख वैज्ञानिक अधिकारी पनि हुन् । उनका तीन विद्यार्थीले सुरु गरेको यस कम्पनीले प्रकृतिमा पाइने प्रोटिनको डिएनएमा आधारित जैविक रूपमा कुहिने फाइबर सिर्जना गर्न खोजेको छ । स्किरोस काईमा आधारित धागोमा पनि काम गरिरहेकी छन् । यो अनुसन्धान स्टेट युनिभर्सिटी अफ न्युयोर्कको एक परियोजना हो । र, यो अनुसन्धान कोलम्बियाको सहकार्यमा भइरहेको छ ।
नयाँ विकल्पमा काम गरिरहेका कपडा उद्योगहरूले कपडा चक्रीय रूपमा पुन:प्रयोग भइरहने कुराको सुनिश्चित गर्न खोज्दै छन् । उनीहरू आफूले निर्माण गरेको सामग्रीको अन्तिम स्थितिबारे पनि सचेत छन् । जुत्ता–चप्पल निर्माता थाउजेन्ड फेल पनि यसैअन्तर्गत पर्छ । यसले रिसाइकल सामग्री प्रयोग गरेर नयाँ जुत्ता बनाउँछ । कम्पनीका सह–संस्थापक क्लोई सोंगरका अनुसार उनको कम्पनी उपभोक्ताले चाहेमा जुत्ताको रिसाइकल सहज बनाउनमा केन्द्रित छ । कम्पनीका अर्का संस्थापक स्टुअर्ट अह्लुम पनि उनको उद्योगको रिसाइकल प्रक्रियाप्रतिको प्रतिबद्धताबारे उत्साहित नै छन् । पछिल्लो समय उदाएका नयाँ उद्यमीले पहिरनको रिसाइकललाई धेरै नै महत्व दिन थालेका छन् । नोभेम्बरमा थाउजेन्ड फेलले आफ्ना रिसाइकल गरिएको जुत्ता–चप्पल उपभोक्ताकहाँ सहज रूपमा पुर्याउन युपिएससँग सम्झौता नै गरेको छ ।
नवीन सोचले फेसन उद्योगलाई परिवर्तन गरिरहेको छ । यस परिवर्तनको क्रममा पहिरनको बाह्य बनावटदेखि मूल्यसम्ममा असर पर्नेछ । ‘तर, हामीले बनाएको जुत्ताको मूल्य ४०० डलर पर्यो भने कसले पो किन्ला र ? धेरैले नकिन्ने सामग्री बनायौँ भने हामी सुरुमै आफ्नो उद्देश्यमा हार्नेछौँ,’ अह्लुमले भने । त्यसैले पर्यावरणमैत्री हुनु मात्र पनि पर्याप्त हुँदैन । माइकोवर्क्सकी स्कुलिनले भनेझैँ, ‘एकथरी मानिसमा ग्राहकले दिगोपनका लागि गुणस्तरलाई पनि तिलाञ्जली दिन्छन् भन्ने परेको छ । तर, यथार्थमा त्यस्तो देखिँदैन ।’
लेखक रोसन फ्रिल्यान्सर उद्यमी, निर्माण र कानुन विषयमा कलम चलाउँछिन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य