खारेज गरिँदै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम

यसको कार्यविधि कानुनअनुसार नभएको र कार्यक्रम असफल भएको निष्कर्ष, नयाँ कार्यक्रम ल्याउने वन मन्त्रालयको योजना

सोमबार, १२ माघ, २०७७
डिजिटल संस्करण
खारेज गरिँदै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम

कैलालीका वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत सामुदायिक वनमा काटिएका काठ । तस्बिर सौजन्य : उच्चस्तरीय छानबिन समिति

देशका साढे सात सय सामुदायिक वनमा सञ्चालन भइरहेको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज हुने भएको छ । यसको ठाउँमा नयाँ कार्यक्रम ल्याउने वन मन्त्रालयको तयारी छ । वन मन्त्रालयका अधिकारीहरूका अनुसार कानुनमा नटेकी बनाइएको कार्यविधिका आधारमा सञ्चालन भइरहेकाले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्न लागिएको हो । यससँगै यो कार्यक्रम असफल भएको र यसमा अनियमिततासमेत रहेको वन मन्त्रालयको निष्कर्ष छ ।

यो कार्यक्रम ०७१ मा सञ्चालनमा आएको थियो । तत्कालीन वन तथा भू–संरक्षण मन्त्रालयको सचिवस्तरीय निर्णयबाट २७ कात्तिक, ०७१ म कार्यविधि लागू गरिएको थियो । अहिले यो कार्यक्रम देशभरका साढे सात सय सामुदायिक वन उपभोक्ता समूह, ३१ साझेदारी र सात चक्लाबन्दी वनमा लागू छ । 

मन्त्रिपरिषद्बाट गठन भएको उच्चस्तरीय छानबिन समितिले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्न सरकारलाई सिफारिस गरेको छ । त्यसका आधारमा यसलाई खारेज गरेर दिगो वन व्यवस्थापनको अवधारणा अघि बढाउने तयारी थालेको वनमन्त्री प्रेमबहादुर आलेले बताए । ‘वैज्ञानिक वन व्यवस्थापनका नाममा हरिया रूख काट्ने काम भयो । अब यो कार्यक्रम खारेजसरह हो,’ मन्त्री आलेले भने, ‘अब यसको विकल्पका रूपमा दिगो वन व्यवस्थापनलाई अगाडि बढाउने निर्णय मन्त्रिपरिषद्बाट हुनेछ ।’

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत व्यापक रूख कटानी र अनियमितता भएको सार्वजनिक भएपछि मन्त्रिपरिषद्ले नेत्र तिम्सिनाको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । त्यस्तै, प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि सांसद प्रदीप यादवको नेतृत्वमा छानबिन उपसमिति गठन गरेको थियो ।

दुवै समितिले ‘रूख कटानकै लागि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको’ निष्कर्षसहित कार्यक्रम खारेज गरी दिगो वन व्यवस्थापनका सूचक र मापदण्ड तय गर्न सिफारिस गरेका थिए । संसदीय समितिले उपसमितिको प्रतिवेदनका आधारमा सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टसहित आठ वन अधिकृतलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिएको थियो । 

यसअघि छानबिन समितिको सिफारिसविपरीत वैज्ञानिक वन व्यवस्थापन कार्यविधिलाई परिमार्जनको गृहकार्य थालिएको थियो । तर, अब भने परिमार्जन नगरेर खारेज गर्न लागिएको मन्त्रालयका अधिकारीले बताएका छन् । छानबिन उपसमितिका संयोजक यादवले वनजंगल संरक्षणलाई बेवास्ता गर्दै सालका रूख कटानलाई जोड दिइएको र काठ बिक्रीका लागि जिल्लास्तरमा बिचौलिया ठेकेदार खडा गरेको पाइएको बताए । 

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेजीको माग गर्दै आन्दोलनरत सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भारती पाठकले दिगो वन व्यवस्थापनबाट अझ बढी काठ निस्कने बताइन् । ‘८० वर्षको कार्ययोजना बनाएर प्लटका पूरै रूख काट्ने गरिएको छ, जुन आफैँमा गलत थियो,’ अध्यक्ष भारतीले भनिन्, ‘त्यसैले उमेर पुगेका, सुक्खा र ढलापढा रूख निकाल्न पाउने गरी दिगो वन व्यवस्थापन भनेका हौँ ।’ 

वनलाई प्लटमा वर्गीकरण गरी चक्रीय आधारमा पुराना रूख काट्दै वनको पुनरुत्पादन बढाउने र काठ आपूर्ति सहज पार्ने उद्देश्यले यो कार्यक्रम लागू भएको थियो । १९ फागुन, ०७६ मा पारित राष्ट्रिय योजना आयोगको १५औँ योजनामा १८ वटा गेमचेन्जर आयोजनामा समावेश ‘समृद्धिका लागि वन’ पनि एउटा योजना थियो । यो योजनाबाट ०८०÷८१ सम्म दुई लाख वनको दिगो व्यवस्थापन गरी वार्षिक तीन करोड क्युफिट काठ उत्पादन गर्ने लक्ष्य लिइएको छ । त्यस्तै, वार्षिक पाँच लाखले रोजगारी पाउने उल्लेख छ । 

 काठको बिक्रीवितरण पनि खोलिँदै
सरकारले अब वन पैदावार पनि खुलाउने तयारी पनि गरेको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएका क्षेत्रबाहेक अन्य क्षेत्रमा तत्कालका वन पैदावार खुलाइने वनमन्त्री आलेले बताए । ‘छानबिनका लागि काठको बिक्रीवितरण रोकिएको थियो । अब वैज्ञानिक वनबाहेकका क्षेत्रमा खुला हुनेछ,’ वनमन्त्री आलेले भने ।

मन्त्रिपरिषद्ले गठन गरेको उच्चस्तरीय समितिले पनि वन पैदावार खुलाउनुपर्ने सिफारिस गरेको थियो । ११ असोजमा समितिले ‘वनमा कटान–मुछान र घाटगद्दी भइसकेका वा हुन बाँकी रहेका, बिक्री भएर पनि उठाउन रोकिएका सबै काठ साधारणसभाबाट निर्णय गराई बिक्रीवितरण वा ओसारपसार फुकुवा गर्न’ सरकारलाई सिफारिस गरेको थियो । यसअघि २८ जेठमा सरकारले सालबाहेकका काठको ओसारपसार खुला गरेको थियो । अब त्यसमा पनि रोक हट्ने जनाएको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम भएका वनमा छानबिन गर्न सरकारले १५ वैशाखमा सालसहितका रूख कटान, संकलन र ढुवानीमा रोक लगाएको थियो । 

‘हरिया रूख काटिए, अब यो  कार्यक्रम खारेज हुन्छ’
प्रेमबहादुर आले वन तथा वातावरणमन्त्री

वैज्ञानिक वनका नाममा एउटा सामुदायिक वनमा ब्लक नापेर ८० टुक्रा बनाउने र हरेक वर्ष एउटा–एउटा प्लटका रूख काट्दै जाने गरिन्छ । काट्दै जाँदा ८० वर्षमा ८०औँ प्लटमा पुग्दा फेरि पहिलो प्लटमा रूख काट्न लायक हुन्छ भनियो, तर यो नेपालको हकमा उपयुक्त भएन । 

वैज्ञानिक वन व्यवस्थापनका नाममा हरिया रूख मात्र काट्ने काम भयो । दिगो वनमा त्यस्तो गर्न पाइँदैन । सुक्खा, डलापढा रूख व्यवस्थापन गरिन्छ । अब वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेर दिगो वन व्यवस्थापन राष्ट्रिय मापदण्ड तयार गरी लागू गरिनेछ । यसले वनको संरक्षणसँगसँगै काठदाउराको आपूर्ति पनि बढाउनेछ । दिगो वनबाट काठ उत्पादन घट्ने होइन, बढ्नेछ ।

सुझावित समाचार