परीक्षाहलबाट निकालिएका दलित विद्यार्थीले अब परीक्षा दिन पाउने

बुधबार, २९ पुष, २०७७
डिजिटल संस्करण

गैरकानुनी शुल्क तिर्न नमानेपछि एमबिबिएसको परीक्षाहलबाट निकालिएका दुई दलित विद्यार्थीले अब हुने परीक्षा दिन पाउने भएका छन् । चिकित्सा शिक्षा आयोग र इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) को पहलमा उनीहरूलाई परीक्षामा सहभागी गराइने भएको छ । 

उनीहरूलाई सोमबार परीक्षाहलबाट निकालिएपछि नयाँ पत्रिकालगायत सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो । त्यसपछि आइओएमले कडा निर्देशन दिएको हो । अब वीरगन्जस्थित नेसनल मेडिकल कलेजले रामजी राम र पंकज रामलाई परीक्षामा सामेल गराउने भएको छ ।

परीक्षाबाट निकालिएका रामजी रामका अनुसार कलेजले फाराम भर्न बोलाएको र बाँकी रहेको परीक्षामा सहभागी हुन भनेको छ । तीन विषयको परीक्षामध्ये एउटा परीक्षा छुटेको रामले बताए । योसँगै रामजी र पंकजले बुधबारको परीक्षा दिन पाउने भएका हुन् ।

सोमबारदेखि सुरु भएको एमबिबिएस परीक्षा दिन गएका उनीहरूलाई कलेजले शुल्क नतिरेको भन्दै परीक्षाहलमा छिरेको एक मिनेटमै बाहिर निकालेको थियो । चिकित्सा शिक्षा आयोगले आइतबार नै आइओएम र कलेजलाई दुवैजना विद्यार्थीलाई परीक्षामा सहभागी गराउन पत्राचार गरेको थियो । कलेजले अटेर गरी परीक्षामा सामेल नगराएपछि आइओएमले मंगलबार कडा निर्देशन दिएको हो । 

सोमबारको परीक्षा भने दुवैजनाको छुटेको छ । यसबारे आइओएमलाई जानकारी गराइएको र उताबाट के गर्ने भन्ने अहिले जानकारी नआएको उनले बताए । दलित छात्रवृत्ति पाएका विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोगले बस्न र खानबाहेकका शीर्षकमा रकम नलिन कलेजहरूलाई निर्देशन दिएको छ । तर, कलेजले भने ल्याब, पुस्तकालय, भर्ना शुल्क र अन्य भनेर थप साढे सात लाखको बिल थमाएको छ । 

कलेजले सरकारले तोकेभन्दा बढी शुल्क मागेको भन्दै यहाँका विद्यार्थीले अनुदान आयोग र शिक्षा मन्त्रालयमा उजुरी दिएका थिए । २७ असोज ०७४ मा आयोगले यसबारे बुझ्न सदस्य राधाकृष्ण घिमिरेको संयोजकत्वमा विनोद भट्टराई र कृष्णहरि प्रजापति सदस्य रहेको छानबिन समिति बनाएर स्थलगत अनुगमनमा पनि पठाएको थियो । 

रामजी र पंकज अहिले एमबिबिएस पाँचौँ वर्षमा अध्ययनरत छन् । सरकारले ०७२ मा बादी, डोम, मुसहर र चमारलाई पढाउने कार्यक्रम ल्याएको थियो । त्यहीअन्तर्गत दुवैजना नेसनल मेडिकल कलेजमा भर्ना भएका हुन् । उनीहरूको सम्पूर्ण खर्च विश्वविद्यालय अनुदान आयोगले तिरिदिने व्यवस्था छ । जसमा छात्रवास र खानाको खर्च आफैँले तिर्नुपर्छ । 

याे पनि पढ्नुहाेस् : दुई दलित विद्यार्थी एमबिबिएसको परीक्षाहलबाट निकालिए

सुझावित समाचार