मुख्यमन्त्री शाही भन्छन्– प्रधानमन्त्रीको प्रतिगामी कदम सच्चिनुपर्छ

मंगलबार, २८ पुष, २०७७
डिजिटल संस्करण
मुख्यमन्त्री शाही भन्छन्– प्रधानमन्त्रीको प्रतिगामी कदम सच्चिनुपर्छ

फाइल तस्बिर

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगामी भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहीले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगामी, अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका हुन् । 

प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएका कारणले फिर्ता लिनुपर्ने मुख्यमन्त्री शाहीले बताए । ‘निष्पक्ष न्यायालयले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार दुर्घटना हुनबाट रोक्नुपर्छ,’ उनले भने, ‘त्यसपछि मात्र देश पुनः सोही ठाउँमा आउँछ र पार्टीभित्रको विवाद पनि समाधान हुन्छ ।’

विगतमा देशमा रहेको अस्थिर राजनीति जनताले सही दिशातर्फ जान्छ भनेर नै नेकपालाई दुईतिहाइ मत दिएको र विगतको सत्ता–संघर्ष सकिने आस गरेकोमा प्रधानमन्त्रीले त्यसमा कुठराघात गरेको मुख्यमन्त्री शाहीले बताए । ‘यो देश बनाउन दश वर्ष लाग्छ । त्यसै आशामा जनताले नेकपालाई बहुमत दिएका हुन्,’ उनले भने, ‘भएको स्थिर व्यवस्थालाई हटाएर मध्यावधि निर्वाचनले देशको हित गर्दैन । त्यसले देशलाई अस्थिर बनाउँछ ।’

सरकार ढाल्ने–बनाउने खेलले नेपालको राजनीति खराब मोडमा गएको भन्दै उनले ओलीले भएको दुईतिहाइको बहुमतको सरकार विघटन गरेर मध्यावधि निर्वाचन हुन नसक्ने बताए । ‘सरकार बनाउने–ढाल्ने खेलले प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्रीहरू त बदलिएलान्,’ उनले भने, ‘तर, देश त बन्दैन । यसैमा चिन्ता सबैले गर्नुपर्छ ।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारका मन्त्रीहरू परिवर्तन हुने पनि बताए । ‘उपयुक्त समयमा कर्णालीमा मन्त्रीहरू फेरबदल हुन सक्छन्,’ उनले भने, ‘त्यस विषयमा अहिले पनि छलफल चलिरहेको छ ।’

सुझावित समाचार