१७औँ संस्करणको पल्सर स्पोर्टस् अवार्ड चार टेलिभिजन च्यानलहरूले प्रत्यक्ष प्रसारण गर्ने भएका छन् । अवार्ड कार्यक्रमलाई एनटिभी प्लस एचडी, एक्सन स्पोर्टस् एचडी, इमेज च्यानल र जनता टिभी एचडीबाट मंगलबार प्रत्यक्ष प्रसारण हुने नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ)का अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिएका छन् ।
साथै अवार्ड कार्यक्रम एनएसजेएफको युट्युब च्यानल, मिडिया हबलगायत खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रसारण गरिनेछ ।मञ्चका अध्यक्ष सुवेदीले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा पनि अवार्ड कार्यक्रमको प्रत्यक्ष प्रसारण हुने बताए ।
कार्यक्रमका अतिथि भने जुममार्फत जोडिनेछन् । अवार्ड ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ । अवार्ड कार्यक्रममा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति रहनेछ । नेपालमै पहिलोपटक हुन लागेको भर्चुअल रूपको यस किसिमको अवार्ड कार्यक्रम मञ्चले इमेजिङसँगको सहकार्यमा उत्पादन गरेको हो ।
मञ्चले स्पोर्टस् अवार्डको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोभिडका कारण विशेष स्वास्थ्य मापदण्ड अपनाएर आयोजना गर्नुपर्ने हुनाले कार्यक्रम सेमी भर्चुअल हुन लागेको हो । भर्चुअल रूपमा आयोजना हुन लागेको अवार्ड कार्यक्रम नेपालकै पहिलो हुनेछ । पल्सर स्पोर्टस् अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ ।
२०७६ मा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् । पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् ।
पल्सर स्पोर्टस् अवार्डमा पिपुल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारको सम्मान कार्यक्रमकै दिन घोषणा गरिनेछ । वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ पाउनेछन् ।