सम्पादकीय : थरीथरीका धम्की

सोमबार, २७ पुष, २०७७
डिजिटल संस्करण

संसद्मा अत्यधिक समर्थनसहित देशको नेतृत्व सम्हालिरहेका केपी शर्मा ओली आफ्नो कटु वचनका लागि चर्चित छन् । प्रतिनिधिसभा भंग गरेर र दल विभाजन गरेर सडकमा निस्केका ओलीले दुई साताजति नेकपाका नेताहरूलाई गाली र अशिष्ट टिप्पणी गरेर बिताए । यसलाई कतिपयले राजनीतिक संस्कारहीनता भनेको भए पनि विभाजित दलले आफ्नो औचित्य साबित गर्न बोलेका चर्का कुरा भनेर बेवास्ता गर्ने नै धेरै थिए ।

तर, पछिल्लो समय उनी नागरिक समाज र सर्वोच्च अदालत तथा निर्वाचन आयोगलाईसमेत प्रत्यक्ष–परोक्ष रूपमा धम्की दिन थालेका छन् । आफ्नो राजनीतिक नैतिकताको धरातल गुमाउँदै गएका ओलीले शनिबार एउटा कार्यक्रममा पूर्वप्रधानन्यायाधीशहरूप्रति लक्षित गर्दै सडकमा बसेर फैसला नगर्न चेतावनी दिए । आइतबार उनीहरूप्रति लक्षित गरेर प्रधानमन्त्रीले राष्ट्रिय सभाको रोस्ट्रममा नै उभिएर अमर्यादित रूपमा आलोचना गरे । 

पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त रूपमा जारी गरेको वक्तव्यतिर लक्षित गर्दै अदालतलाई प्रभावमा पार्न खोजेको र त्यसो नगर्न भन्दै एक प्रकारले धम्की दिए । देशको शक्ति हातमा लिएर बसेको कार्यकारी प्रमुखले कुन शब्द ठ्याक्कै प्रयोग गरे भन्नुभन्दा उनको भनाइको आशयतिर जानुपर्छ ।

उनको कदम संविधानसम्मत भएन भन्दै लोकतन्त्रप्रति चिन्ता जाहेर गरेका तथा संवैधानिक कानुनका विज्ञहरूले सार्वजनिक गरेको सार्वजनिक अपिललाई अदालतप्रतिको दबाबका रूपमा अथ्र्याउँदै कार्यकारी प्रमुख आफैँले अदालतको फैसलालाई प्रभावित पार्ने अभिव्यक्ति दिनुले देशका लोकतान्त्रिक संस्थाहरू ध्वस्त पार्ने नियतले काम गरेको अनुमान गर्न थालिएको छ ।

प्रतिनिधिसभा भंग गरेर उत्पत्ति गरिएको रिक्तता र अदालत या निर्वाचन आयोगलाई पनि आफ्नो अनुकूलको निर्णय लिन दिनदिनै दिइएको दबाबले ओली देशमा आफ्नो स्वेच्छाचारी सत्ता स्थापित गर्ने लालसाले निर्देशित छन् भन्ने आरोपलाई नै पुष्टि गरेका छन् । 

इतिहास आफैँ साक्षी छ कि यस्तो धम्कीले अस्थायी रूपमा केही मानिसलाई भयग्रस्त बनाउला, तर समयलाई भयग्रस्त बनाउन सक्दैन । शासकले इतिहासको कठघरामा उभिन जहिले पनि तयार भएर बसे हुन्छ ।
 

यता प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई वर्तमान राजनीतिक अवस्थाप्रति आफ्ना धारणा राख्दै सामाजिक सञ्जालमा गरेको टिप्पणीमाथि प्रतिक्रिया दिने क्रममा ‘सीमामा बस्न’ चेतावनी दिएका छन् । आफूसँग मत नमिल्ने विपक्षी दलका नेता या नागरिक समाजका अभियन्तालाई सीमामा बस्न चेतावनी दिनेले सत्ता लोकतन्त्रको स्वच्छ विकासका लागि बाधा सिर्जना गर्छ ।

यस्तो भाषाले अभिव्यक्ति स्वतन्त्रताको हनन हुने मात्र होइन, नागरिकमा भय उत्पन्न गराउँछ । यस्तो भयले वर्तमान संवैधानिक व्यवस्थापनलाई उल्ट्याउने, संविधानमार्फत नेपाली जनताहरूले सहअस्तित्व र एकताका लागि गरेको सामाजिक सम्झौता उल्लंघन गर्ने र एउटा सानो समूहका स्वार्थमा देशको स्रोत–साधन र राज्यशक्ति एकलौटी रूपमा नियन्त्रण गर्ने ध्येयका पक्षमा वातावरण सिर्जना गर्न खोजिएको सन्देश दिन्छ ।

यो हारको मानसिकताको द्योतक पनि हो । शक्तिमा हुनेहरू शक्ति गुम्ने जोखिम बढ्दै जाँदा बढी नै तुजुक देखाउँछन् । उनीहरूमा शक्तिले सिर्जना गरेको अन्धता र भ्रष्टाचारले सिर्जना गरेको भय बढ्तै हुन्छ ।

सत्ताबाट हट्नुपर्ला र आफूले गरेको भ्रष्टाचारको भण्डाफोर होला भन्ने भयले शासकहरूलाई भयग्रस्त बनाउँछ र तिनले शक्ति अँठ्याइराख्न सत्ताको दुरुपयोग गर्छन् भन्ने सत्य नेपालमा फेरि एकपटक पुष्टि भएको छ । तर, इतिहास आफैँ साक्षी छ कि यस्तो धम्कीले अस्थायी रूपमा केही मानिसलाई भयग्रस्त बनाउला, तर समयलाई भयग्रस्त बनाउन सक्दैन । शासकले इतिहासको कठघरामा उभिन जहिले पनि तयार भएर बसे हुन्छ ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार