साझाको अध्यक्षमा विजय सुब्बा

आइतबार, २६ पुष, २०७७
डिजिटल संस्करण

साहित्यकार तथा पूर्वसांसद डा. विजय सुब्बा साझा प्रकाशनको अध्यक्षमा निर्वाचित भएका छन् । साझाको २४औँ साधारणसभाबाट उनी निर्वाचित भएका हुन् ।

साधारणसभामा २१ देखि २४ पुससम्म हरेक दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म साझा प्रकाशनको पुल्चोकस्थित कार्यालयमा मतदान भएको थियो । 

चार दिनसम्म चलेको निर्वाचनमा सुब्बा ४१२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी जीवनचन्द्र कोइरालाले १८३ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्यसचिव होमनाथ भट्टराईले जानकारी दिए ।

कुल ४५७ मतदाता रहेको साझाको निर्वाचनमा ६४३ मत खसेको थियो भने ४८ मत बदर भएको थियो । सुब्बा र कोइराला प्रकाशनका पूर्वसञ्चालक सदस्य थिए । अध्यक्षमा निर्वाचित भएपछि सुब्बाले भने, ‘हरेक हिसाबले ध्वस्त साझा प्रकाशनलाई ब्युँताएर अगाडि बढाउने काममा इमानदार भएर लाग्नेछु ।’ 

साझा प्रकाशनको सञ्चालक समितिको अध्यक्षमा पहिलोपटक निर्वाचन भएको हो । विगतमा सरकारले साझाको अध्यक्ष नियुक्त गर्थ्यो । निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ ।

यसअघि नै साझा प्रकाशनको सञ्चालक सदस्यमा हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा तथा लेखा सुपरीवेक्षण समिति संयोजकमा प्रभादेवी बज्राचार्य निर्विरोध निर्वाचित भइसकेका थिए ।

सदस्यका उम्मेदवार वियोगी बुढाथोकी, ज्ञानु अधिकारी, महेश प्रसाईं र यशोदा अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि उनीहरू निर्विरोध भएका थिए । 

सुझावित समाचार