झलनाथ खनालको दाबी– ओली हिटलरजस्तै बने, केही वर्षमै ओलीको अस्तित्व सकिन्छ (भिडियोसहित)

शनिबार, २५ पुष, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली हिटलरजस्तै तानाशाह भएको टिप्पणी गरेका छन् । नेकपा सम्पर्क समन्वय कमिटीद्वारा शनिबार काठमाडौंमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता खनालले जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिएजस्तै नेपालमा कम्युनिस्ट पार्टीबाट केपी ओली जन्मिएको बताए । 

कहिलेकाहीँ पार्टीको गल्तीका कारण तानाशाहहरू जन्मिने गरेको र त्यसका विरुद्धमा फेरि संघर्ष गर्दै जानुपरेको उनले बताए । खनालले ओली समूहले धनगढीमा गरेको कार्यक्रमलाई पञ्चभेलाको संज्ञासमेत दिए । 

विभिन्न नौवटा जिल्लाबाट बस रिजर्भ गरेर मान्छेहरूलाई पैसा दिएर गराएको भेला २०४६ अगाडि पञ्चहरूले गर्ने भेलाजस्तै भएको उनको भनाइ छ । २०४६ अगाडि पञ्चहरूले देशभर भेला गरेको र अहिले पनि ओलीले पञ्चभेला गर्दै हिँडेको खनालको दाबी छ । त्यसवेलाका पञ्चहरूको अहिले इतिहास मेटिएर गएजस्तै केही वर्षमै केपी ओलीको पनि अस्तित्व समाप्त हुने उनले दाबी गरे । 

कार्यक्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक प्रतिगामी कदम खारेज गरेर प्रतिनिधिसभा सुचारु गर्न नसके देशमा चुनाव पनि नहुने, संसद् पनि नहुने र देश प्रतिगमनतर्फ जाने बताए ।

सुझावित समाचार