ट्रम्पले तत्काल राजीनामा नदिए संसदबाट उनीविरुद्ध महाअभियोग लगाइन्छ : पोलोसी

शनिबार, २५ पुष, २०७७
डिजिटल संस्करण

अमेरिकाको प्रतिनिधि सभाकी अध्यक्ष न्यान्सी पोलोसीले अझै पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा नदिए संसद्मा उनलाई हटाउन महाअभियोग प्रस्ताव पेससम्बन्धी प्रक्रिया सुरु हुने चेतावनी दिएकी छिन् । राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकलाई क्यापिटोल भवन (संसद्) तोडफोड मच्चाउन उकासेको आरोप छ । 

३ नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले हार व्यहोरे पनि उनले अझै हार स्वीकार गरेका छैनन् । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आगामी २० जनवरीमा राष्ट्रपतिको शपथ तथा पदभार ग्रहण गर्दै छन् । यही क्रममा गत बुधबार क्यापिटोल भवनमा आयोजित संसद् बैठकमा ट्रम्पका समर्थकले वितण्डा मच्चाएका थिए । यसकारण पनि उनलाई तत्काल हटाउनुपर्ने पोलोसीको भनाइ छ । उनले भनिन्, ‘संसद्को अपेक्षा छ कि उनले तत्काल राजीनामा दिऊन् । यदि उनले यसो गरेनन् भने मैले उनीविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउन निर्देशन दिएको छु ।’  

अमेरिकी सांसद प्रमिला जयपालका अनुसार महाअभियोग प्रक्रिया तत्काल सुरु गर्नुपर्छ । उनले ट्रम्प ह्वाइट हाउसमा रहनु भनेको अमेरिका असुरक्षित हुनु हो । 

सुझावित समाचार