शुक्रबार दिनभरका मुख्य खबर

शुक्रबार, २४ पुष, २०७७
डिजिटल संस्करण

संसद् विघटनपछि पहिलोपटक प्रधानमन्त्री राजधानीबाहिर

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओली संसद् विघटनको निर्णयपछि पहिलोपटक राजधानी काठमाडौंबाहिर गएका छन् । गत ५ पुसमा गरिएको संसद् विघटनको निर्णयपछि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न पहिलोपटक उपत्यकाबाहिर गएका हुन् । उनी धनगढीमा नेकपा ओली समूहले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न पुगेका हुन् । 

प्रधानमन्त्री ओलीकाे ठाेकुवा- अब प्रतिनिधिसभा पुनर्स्थापना हुने अर्को विकल्प छैन

प्रधानमन्त्री केपी ओलीले विघटित प्रतिनिधिसभा कुनै हालतमा पुनर्स्थापना नहुने आफ्नो पुरानै अडान दाेहोऱ्याएका छन् । शुक्रबार आफू नेतृत्वको नेकपाले कैलालीको धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्धारित मिति वैशाख १७  र २७ मा निर्वाचन भएरै छाड्ने ठोकुवा गरे । उनले निर्वाचन आयोगले चुनावको सम्पूर्ण तयारी थालेकोसमेत बताए । आफू ६४ प्रतिशतको प्रधानमन्त्री हुँदा संसद् विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेकाले कुनै पनि हलतमा पुनर्स्थापना नहुने उनकाे तर्क थियाे ।  उनले भने, ‘६४ प्रतिशतको प्रधानमन्त्रीलाई देशका लागि काम गर्न दिएनन् । त्यसैले ताजा जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरेको हुँ,’ उनले भने, ‘अब प्रतिनिधिसभा पुनर्स्थापना हुने अर्को विकल्प छैन। अर्को विकल्प भनेको चुनावपछि आउने प्रतिनिधिसभा नै हो।’

५० वर्षअघि गणतन्त्रका लागि १४ वर्ष जेल बसेको मै हुँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले ५० वर्षअघि गणतन्त्रका लागि मैदानमा उत्रिएकोले आफू १४ वर्ष जेल बसेको बताएका छन् । कैलालीको धनगढीमा आयाेजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले देशमा अलिकति संकटजस्तो स्थिति देखापरेको छ । गणतन्त्र, लोकतन्त्र, संघीयता, संविधान जाने भयो भनेर केही सडकमा कराइरहेका छन् । ५० वर्षअघि गणतन्त्रका लागि मैदान उत्रिने अरू कोही थियो र ? गणतन्त्रका लागि ५० वर्षअघि मैदानमा उत्रिँदा १४ वर्ष जेल बसेको मै हुँ ।’ 

चार पूर्वप्रधानन्यायाधीशको ठहर– आकर्षित नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन (विज्ञप्तिसहित)

पूर्वप्रधानन्यायाधीशहरूले प्रतिनिधिसभा विघटन संविधानमा नभएको धारा प्रयोग गरी भएको बताएका छन् । पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार  विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।  ‘नेपालको संविधान २०७२ को धारा ७६ मा मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनका लागि बाहेकका कुनै अवस्थामा पनि प्रतिनिधिसभा विघटन गर्ने अधिकार एवं व्यवस्था नगरिएको अवस्थामा पनि आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरिएको पाइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दलहरूको आन्तरिक द्वन्द्व वा खिचलोजस्तो कुनै परिस्थितिले जुन प्रयोजनका लागि जे कुरा गर्न व्यवस्था गरिएको छ सोबाहेकको कार्यमा उक्त धारा आकर्षित हुन सक्दैन ।’

संविधान बोकेर राष्ट्रिय सभा गए नारायणकाजी श्रेष्ठ, ‘अदालतलाई संविधान संशोधन गर्ने अधिकार छैन’

नेकपाको प्रचण्ड–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले संविधानले सर्वाेच्च अदालतलाई संविधान संशोधन गर्ने अधिकार नदिएको बताएका छन् । प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई कुनै पनि धाराले नदिएको उनको भनाइ थियो ।  ‘सर्वाेच्च अदालतले पनि संविधानकै आधारमा टेकेर फैसला गर्ने हो, संविधानबाहिर गएर होइन । सर्वाेच्च अदालतलाई हाम्रो संविधानले संविधान संशोधन गर्ने अधिकार दिएको छैन । संविधानअन्तर्गत मात्रै फैसला गर्ने अधिकार दिएको छ,’ शुक्रबार राष्ट्रिय सभा बैठकमा संविधान नै बोकेर गएका श्रेष्ठले सम्बोधनमा भने । 

गगन थापाको दाबी– प्रधानमन्त्री ओलीले अनधिकृत काम गरे, अब घर पठाउनुपर्छ

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर अनधिकृत काम गरेको बताएका छन् । प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध शुक्रबार भक्तपुरमा आयोजित विरोध सभामा थापाले नेपालको संविधानमा पाँच वर्षअघि प्रतिनिधिसभा विघटन गर्ने कुराको कल्पनासमेत नगरिएको बताए । संविधानमा बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न पाउने कुरा कहीँकतै नलेखेको भन्दै उनले प्रधानमन्त्रीको कदम असंवैधानिकको साथै अनधिकृत रहेको दाबी गरे । संविधानमा नलेखेको कुरा सार्वजनिक पदाधिकारीले गर्न नपाउने भन्दै थापाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानले अधिकार दिएकोबाहेक केही गर्न नपाइने बताए । कांग्रेसले ओलीको कदमलाई असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी कदम भन्दै विरोधमा उत्रिएको थापाले स्पष्ट पारे । 

विभिन्न बहानामा ठगी गर्ने युवतीलाई काठमाडौंबाट दैलेख ल्याइयो

विभिन्न प्रलोभनमा दुई करोडभन्दा बढी ठगी गर्ने २३ वर्षीया विद्या शर्मालाई दैलेख ल्याइएको छ । काठमाडौंमा पक्राउ परेकी विद्यालाई ६० लाखभन्दा बढी रकम ठगी भएको भन्दै दैलेख प्रहरीमा परेको उजुरीका आधारमा दैलेख ल्याइएको हो । दैलेख प्रहरीले उनलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनलाई दैलेख ल्याउनेबित्तिकै ठगीमा परेका तथा उधारोमा सामान लिएका व्यापारीहरूको पनि निवेदन पर्न सुरु भएको प्रहरीले बताएको छ । गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने बहानामा दैलेख आएकी सुनसरी जिल्ला  इटहरी उपमहानगरपालिका– ४ स्थायी घर भएकी २३ वर्षीया विद्या शर्माले जिल्लाका विभिन्न व्यापारीबाट उधारोमा सामान लिएर गाउँमा वितरणसमेत गरेकी थिइन् । 

मजदुरी नपाउने डर : पक्की घरमा बस्न मानेनन् मुसहर

स्थानीय सरकारले बनाइदिएको पक्की घर अपायक भएको भन्दै सिराहाको गोलबजार नगरपालिका क्षेत्रका विपन्न मुसहर परिवारले बस्न मानेका छैनन् । गोलबजार–३ जमदह कालाबन्जरमा भान्सा, शौचालयसहित चारकोठे टिनको छानो भएको १५ वटा पक्की घर तयारी अवस्थामा भए पनि मुसहरहरू बस्न मानेका छैनन् । पहिलो तलामा काठबाहेक झ्याल, ढोकासमेत हालिसकेको घर अपायक भएको उनीहरूको भनाइ छ । सडक क्षेत्रको ऐलानी जग्गामा छाप्रो हालेर बस्दै आएका गोलबजार नगरपालिका–८ नारायणपुर गाउँका भूमिहीन मुसहरहरू नयाँ घरमा सरेका छैनन् । मजदुरी गर्न बजार क्षेत्रमै झर्नुपर्ने भएकाले नगरपालिकाले बनाइदिएको घरमा बस्न नचाहेको उनीहरूको भनाइ छ । त्यहाँ रोजगारी नपाइने डरले नयाँ घरमा जान मन नलागेको स्थानीय ५५ वर्षीया सजनी सदायले बताइन् । ‘कान्छी छोरी र नातिनीले गाउँनजिकैको इँटाभट्टामा मजदुरी गरेपछि मात्र चुलो बल्छ, बजारबाट टाढा बनाएको बस्तीमा सरेपछि मजदुरी नपाएर भोकभोकै बस्नुपर्ने भएकाले सित्तैमा घर दिए पनि जान्नँ,’ सजनीले भनिन् ।

नेकपा विवाद : दोलखामा ओली समूहको कार्यकर्ता भेला, प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शन

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै सत्तारुढ नेकपा राजनीतिक र व्यावहारिक रूपमा विभाजित भएको छ । ओली र प्रचण्ड–माधव नेपाल समूह दैनिक कार्यक्रममा व्यस्त बनेका छन् । दोलखामा दुवै समूहले शुक्रबार छुट्टाछुट्टै कार्यक्रम गरेका छन् । ओली समूहले अगुवा कार्यकर्ता भेला गरेको छ भने प्रचण्ड–माधव समूहले कालो फेटा बाँधेर विरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएको छ । ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न दोलखा पुगेका गृहमन्त्री रामबहादुर थापा र सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङलाई प्रचण्ड–माधव समूहका कार्यकर्ताले कालो बेलुन उडाएर विरोध गरेका छन् । चरिकोटस्थित एक पार्टी प्यालेसमा आयोजना भएको अगुवा कार्यकर्ता भेलामा ओली समूहका नेताहरू थापा, गुरुङ र आनन्द पोखरेललगायतले सम्बोधन गरेका छन् । थापाले प्रतिनिधिसभा कुनै पनि हालतमा पुनस्र्थापना हुन नसक्ने जिकिर गर्दै वर्तमान सरकारले नयाँ जनादेशका लागि निर्वाचनको तयारी गरेको बताए । उनले प्रचण्ड–माधव समूहलाई लक्षित गर्दै प्रतिगमनकारी शैलीमा गरिने विरोधको कुनै तुक नरहेको बताए । 

ललितपुरमा ‘स्वच्छ सहरका लागि मेरो साइकल’ अभियान

सहरी सुन्दरता र स्वच्छ वातावरणको परिकल्पना गर्दै साइकल प्रयोगलाई जोड दिएको ललितपुर महानगरपालिकाले ‘स्वच्छ सहरका लागि मेरो साइकल’ अभियान चलाउने भएको छ । महानगरले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को प्राविधिक सहयोगमा अभियान सञ्चालन गर्न लागेको हो । साइकल प्रयोगकर्तालाई प्रोत्साहन गर्न महानगरले आफ्नो क्षेत्रका मुख्य सडकहरूमा यसअघि नै साइकल लेन निर्माण गरिसकेको छ । शुक्रबार महानगरका मेयर चिरिबाबु महर्जन र युएनडिपीका आवासीय प्रतिनिधि आस्वानी मिडागानगोडाबीच अभियान सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

उज्यालो महानगर अभियान :  काठमाडौंका सडकमा हाइमास सडकबत्ती जडान गरिने 

काठमाडौंका मुख्य–मुख्य सडकमा आधुनिक सडकबत्ती जडान गरिने भएको छ । काठमाडौं महानगरपालिकाले करिब ६० किलोमिटर सडक क्षेत्रमा एक हजार सात सय ५० वटा हाइमास बत्ती जडान गर्न लागेको हो । सडकबत्ती जडानका लागि महानगरपालिकाले गएको २५ मंसिरमै नेपाल विद्युत् प्राधिकरण र सडक विभागसँग सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ । देशकै राजधानी सहरसमेत रहेको महानगरलाई ‘उज्यालो महानगर’ बनाउने उद्देश्यले आधुनिक सडकबत्ती जडान गर्न लागिएको मेयर विद्यासुन्दर शाक्यले बताए । ‘महानगरले आफ्नो क्षेत्रका मुख्य सडकहरूमा करिब ८० स्थानमा हाइमास बत्ती जडान गर्छ, ती बत्तीले सडकमा चम्किलो उज्यालो छर्छन् र रात्रिजीवन सहज हुन्छ,’ मेयर शाक्यले भने । 

सुझावित समाचार