क्रान्तिकारी राजनीतिक परिकल्पनाको वर्ष

शुक्रबार, २४ पुष, २०७७
डिजिटल संस्करण
क्रान्तिकारी राजनीतिक परिकल्पनाको वर्ष

जर्ज फ्लोयडको मृत्युको विरोधमा उत्रिएका प्रदर्शनकारी मे ३१, २०२० मा लसएन्जल्समा अमेरिकी नेसनल गार्डका सदस्यसँग हात मिलाउँदै  । तस्बिर : ब्रायन डेन्टन/द न्युयोर्क टाइम्स

ठूला प्रदर्शनयुक्त आन्दोलनले सामाजिक न्यायबारे विश्वको धारणा बदलिदिन्छ 

नाद्या टोलोकोन्निकोभा : अभियन्ता, कलाकार र संगीतकार टोलोकोन्निकोभा नारीवादी ब्यान्ड ‘पुसी रायट’की संस्थापक हुन् 

सन् २०२० मा हामीलाई विश्वव्यापी महामारीले मात्र आक्रान्त पारेन, प्रहरीको लाठीले पनि दपेट्यो । हामीले विश्वभरका प्रदर्शनकारीमाथि प्रहार भएको अश्रुग्यास देख्यौँ । कैयौँले रबरको गोलीबाट आँखाको ज्योति गुमाए । त्यस्तै, केहीको दमनका क्रममा मृत्यु पनि भयो । शान्तिपूर्ण प्रदर्शनमाथि भएका धरपकडबाट पक्राउ परेका आफन्तजनको चिन्ता गर्दै कारागार जाने आफन्तजनको छुट्टै पीडा छ । 

सन् २०२० यो क्रान्तिकारी राजनीतिक परिकल्पनाको वर्ष रह्यो, यो वर्षले हामीलाई आफ्ना सपनाहरूलाई गम्भीर रूपमा लिन र असल तथा वैकल्पिक भविष्यको सपना देख्न प्रेरित गर्‍यो । सन् २००७ देखि म एकाधिकारवादविरोधी, नारीवादी तथा एलजिबिटिक्यू समुदायको समर्थक समूहको सक्रिय सदस्य रहेको छु । सन् २०११ मा मलगायत मेरा साथीले पुसी रायट नामक अभियन्ता ब्यान्ड बनाउँदा रुसमा नारीवादी र क्वेर समुदायको सहजता कल्पनामा मात्र सीमित थियो । हाम्रो ब्यान्डको क्रेमलिनविरोधी ¥यालीमा अन्य मूलधारका गायकगायिका संलग्न हुन डराउँथे । 

सन् ०१२ मा मलगायत पुसी रायटका अन्य सदस्य पक्राउ पर्‍यौँ । केही समयको कारावासपछि सन् ०१३ मा रिहा हुँदा पनि हामीले आफ्नो पुटिनविरोधी राजनीतिबाट पछि नहट्ने स्पष्ट पार्‍यौँ ।

सन् २०१२ मा मलगायत पुसी रायटका अन्य सदस्य पक्राउ पर्‍यौँ । केही समयको काराबासपछि सन् २०१३ मा रिहा हुँदा पनि हामीले आफ्नो पुटिनविरोधी राजनीतिबाट पछि नहट्ने स्पष्ट पार्‍यौँ । यसले अन्य समकालीन कलाकार तथा संगीतकर्मीलाई पनि राजनीतितर्फ तान्यो । यस अवधिको मेरो अनुभवले भन्छ, परिवर्तन रातारात हुँदैन, तर स–साना कदमले दिगोखालको अभियानलाई विकास गर्छ । एक–एक गरेर प्रहरी अधिकारीलाई बदलेर वा विस्थापित गरेर हामीले कानुनका रक्षकबाट निहत्था मानिसको हत्यालाई रोक्न सक्छौँ । 

सन् २०२० को मे २५ मा जर्ज फ्लोयडको प्रहरी नियन्त्रणमा दुखान्त मृत्यु भयो । फ्लोयडको मृत्युले अमेरिकामा इतिहासकै सबैभन्दा ठूलोमध्ये एक आन्दोलनलाई उत्प्रेरित गर्‍यो । ब्ल्याक लाइभ्स म्याटर आन्दोलन पुनः जुर्मुराएर उठ्यो । मतसर्वेक्षणका अनुसार फ्लोयडको हत्याको केही साताभित्र अमेरिकामा झन्डै डेढदेखि अढाई करोड मानिस सडकमा निस्किए । 

ब्ल्याक लाइभ्स म्याटरले सन् २०२१ र पछिको समयमा न्यायसम्बन्धी विचारमा उलेख्य प्रभाव पार्नेछ । यसको आर्थिक, लैंगिक र वातावरणीय न्यायमा पनि प्रभाव हुनेछ । सन् २०२० को बृहत्तर सामाजिक आन्दोलनले हामीलाई ठूला प्रश्न सोध्न र सुन्दर भविष्य कल्पना गर्न ऐतिहासिक रूपमा सोच्न सिकाएको छ । 

यस वर्ष हामीले हाम्रो सभ्यताका लागि एकदम फरक मार्गबारे कल्पना गर्न सुरु गर्‍र्यौँ : हामीले सार्वजनिक सुरक्षाबारे पूर्णतः क्रान्तिकारी रूपमा सोच्यौँ भने के हुन्छ ? प्रहरीको संख्या घटायौँ भने के हामीलाई फाइदा हुन्छ ? प्रहरीमा खर्च भइरहेको विशाल रकम कटौती गरेर केही रकम सीमान्तकृत समुदायको हितका कार्यक्रममा खर्च गर्न सकिन्छ कि ? केही कानुनी कार्य सामाजिक कार्यकर्तालाई पो प्रत्यायोजित गर्न सकिन्छ कि ? हाम्रो विश्वास गुमाएको प्रहरी प्रशासनलाई नै पूरै भंग गरेर त्यसको सट्टामा अर्को सामाजिक संगठन पो ल्याउन सकिन्छ कि ? प्रहरी अधिकारीले अहिले कसको सुरक्षा गरिरहेका छन् ? के तिनले मजस्ता सर्वसाधारणको रक्षा गर्छन् ? अझै पनि मानिसहरूलाई कैद गर्नु आवश्यक छ ? जेलमा गएर कोही मानिस सुध्रिन्छन् ? कैदीहरूलाई ज्याला नदिई काममा लगाउनु दासता होइन ? के हामीले प्रहरीविहीन तथा कारगारविहीन विश्वको परिकल्पना गर्न सक्छौँ ? 

बेलारुसका राष्ट्रपति एलेक्ज्यान्डर लुकासेन्कोको पुनर्निर्वाचनविरुद्ध मिन्स्कस्थित इन्डिपेन्डेन्स प्यालेसअगाडि उर्लिएको भिड । तस्बिर : सर्गे पोनामारेभ/द न्युयोर्क टाइम्स

तानाशाही प्रवृत्तिको सरकारले तिनका नागरिकको साहसिक राजनीतिक परिकल्पनाविरुद्ध हतास प्रतिक्रिया जनाएका छन् । आन्दोलनमाझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक न्यायका अभियन्तालाई ‘आतंकवादी’ भने । उनले तिनलाई ‘तह’ लगाउने धम्कीसमेत दिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विश्वासमा उनीप्रति आलोचनात्मक हुनेहरू सबै राज्यका शत्रु हुन् र तिनलाई दबाइनुपर्छ ।

मेरो देश रुसमा विगत १० वर्षदेखि प्रहरी पुसी रायटविरुद्ध हात धोएर लागेको छ । हाम्रो सांगीतिक भिडियो देशभित्र र बाहिरका प्रहरी हिंसामा केन्द्रित हुन्छन् । ब्यान्डको विश्वासमा प्रहरी हिंसा विश्वभरका अभियन्ताको सामूहिक प्रयासले मात्र नियन्त्रणमा आउँछ । सन् २०१५ फेब्रुअरीमा हामीले पहिलो अंग्रेजी भाषाको गीत रिलिज गर्‍यौँ । ‘आई कान्ट ब्रिथ’ गीत एरिक गार्नरको सम्झनामा गाइएको हो । न्युयोर्क प्रहरी अधिकारीले गार्नरलाई पक्राउ गर्ने क्रममा घाँटी थिच्दा ज्यान गएको थियो । 

हाम्रो भविष्य लेखिनै बाँकी छ । जब पुसी रायटले नयाँ संगीत सिर्जना गर्छ तब हामी आफैँलाई सोध्छौँ– सन् ०३० को आन्दोलनकारी पंक आवाज कस्तो हुनेछ ? यसले केको बारेमा कुरा गर्ला ?

अगस्टमा रुसी सरकारले विपक्षी नेता तथा मेरा मित्र एलेक्सी नभाल्नीको हत्या गर्ने प्रयास गर्‍यो । उनीमाथि प्राणघातक नर्भ एजेन्ट प्रयोग गरिएको थियो । सोही समय बेलारुसका राष्ट्रपति तथा पुटिनका मित्र एलेक्ज्यान्डर लुकासेन्कोको निगरानीमा शान्तिपूर्ण प्रदर्शनकारीको पक्राउ र यातना चलिरहेको थियो । धरपकडले प्रदर्शनकारीको न्यायप्रतिको प्रतिबद्धता थप प्रगाढ भइरहेको थियो । विश्वभर नै शान्तिपूर्ण प्रदर्शनकारीमाथि बल प्रयोग हुँदा आन्दोलनको आगो झन् बढेको देखिन्छ । प्रहरी हिंसाविरुद्ध सन् २०२० मा हङकङ, चिली, लेबनान, मेक्सिको, ब्रिटेन र फ्रान्समा सरकारविरोधी प्रदर्शन र जनआन्दोलन भए । 

कोभिड– १९ ले विश्वका राजनीतिक नेतृत्वको कमजोरी उजागर गरिदियो । साथै, हामी बाँचेको आर्थिक, नश्लीय र लैंगिक असमानतामाथि प्रश्न उठाइदिएको छ । सरकारका कुव्यवस्थापनका कारण महामारीको समयमा हामीहरूमध्ये धेरैले आर्थिक र भौतिक अस्तित्वका लागि नै संघर्ष गर्नुपऱ्याे । अमेरिकामा करोडपति र अर्बपतिले कर छुट पाइरहँदा कैयौँ सामान्यजन भने घरवासका लागि भाडा तिर्न नसक्ने अवस्थामा छन् । 

भाइरसले गर्दा सडकमा उर्लिएर प्रदर्शन गर्ने अवस्थामा पनि सोच्नुपर्ने अवस्था छ । तर, हामीले नागरिकका रूपमा निभाउनुपर्ने नयाँ–नयाँ तरिका जानेका छौँ । यसका लागि डिजिटल माध्यम सबैभन्दा प्रभावकारी बनेको छ । सामाजिक सञ्जालले हाम्रो मानसिक स्वास्थ्यलाई पार्न सक्ने सम्भावित जोखिमलाई ख्याल गर्दै हामीहरू डिजिटल सामग्रीको संयमित प्रयोगका लागि ‘इन्टरनेट हाइजिन’ कार्यक्रम ल्याउँदै छौँ । अनलाइनमा राखिने तस्बिर तथा भिडियोले प्रोपेगेन्डा, फेक न्युजविरुद्ध शक्तिशाली काम गर्न सक्छ । यसले शक्तिमा रहेकाहरूको घमण्ड चकनाचुर बनाउने सामथ्र्यसमेत राख्छ । बेलारुसमा त्यहाँको चर्चित मेसेजिङ एप टेलिग्रामको एक च्यानल ‘नेक्स्टा’ले लुकासेन्कोको तानाशाहीविरुद्ध लड्न निक्कै सघायो । पुसी रायटको मिडिया एजेन्सी ‘मिडियाजोना’ र नभाल्नीको युट्युब च्यानल ‘नभाल्नी लाइभ’ले लाखौँ रुसीलाई पुटिनको राजनीतिक प्रणालीमा व्याप्त भ्रष्टाचार, असक्षमता तथा क्रूरताबारे जानकार गराएको छ । 

हाम्रो भविष्य त लेखिनै बाँकी छ । जब पुसी रायटले नयाँ संगीत सिर्जना गर्छ, तब हामी आफैँलाई सोध्छौं– सन् २०३० मा आउने आन्दोलनकारी पंक स्वर कस्तो होला ? यसले केका बारेमा कुरा गर्ला ? सन् २०२१ को वसन्तमा पुसी रायटले उसको पहिलो स्टुडियो एल्बम ‘रेज’ सार्वजनिक गर्दै छ । रेकर्डमा रहेको गीतहरूले सार्वजनिक सुरक्षा, मानसिक स्वास्थ्य र नागरिकको तिनको सरकारसँगको सम्बन्धमा ध्यान लगाएको छ । दिगो, संगठित, सिर्जनशील, शान्तिपूर्ण र स्मार्ट अभियानले हामीलाई सन् २०२१ र त्यसपछिका वर्षहरूमा पूर्ण लोकतान्त्रिक विश्वको अनुभूति गराउनेछ । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार