प्रतिनिधिसभा पुनर्स्थापनामा ढुक्क छौँ : प्रवक्ता श्रेष्ठ

बुधबार, २२ पुष, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफूहरू ढुक्क रहेको बताएका छन् । मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापनासँगै आफ्नो समूहले पार्टीको नाम र चुनाव चिह्न प्राप्त गर्नेमा पनि ढुक्क रहेको बताए । 

‘संविधानअनुसार प्रतिनिधिसभा सुचारु हुने कुरामा हामी शतप्रतिशत विश्वस्त छौँ, राजनीतिक दलसम्बन्धी कानुनका आधारमा सूर्य चुनाव चिह्न र पार्टीको नामको आधिकारिता हामीमै रहने कुरामा द्विविधा छैन,’ श्रेष्ठले भने, ‘यो कसले के पाउनेभन्दा पनि संविधान र कानुनअनुसार पार्टीले आधिकारिकता पाउने विषयसँग जोडिएको कुरा हो ।’

श्रेष्ठले अस्थिरता अन्त्य र मुलुकको विकासका लागि संविधान बनाउने क्रममै तत्कालीन प्रधानमन्त्री, संविधानसभा अध्यक्ष, संवैधानिक मस्यौदा समिति, संविधानसभाका सदस्य, नागरिक समाजका अगुवा, बुद्धिजीवी, संविधान र कानुनविद् सबै प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिने कुरामा सहमत भएर संविधान लेखिएको दाबी गर्दै संसद्ले सरकारै बनाउन नसक्ने अवस्थामा मात्रै स्वतः विघटन भएर निकासका लागि चुनावमा जाने व्यवस्था गरिएको प्रस्ट्याए ।

अहिले प्रतिगमन र अग्रगमन, क्रान्ति र प्रतिक्रान्तिबीच वैचारिक अन्तर्संघर्ष अघि बढेको बताउँदै उनले संवैधानिक अंगहरूलाई दबाबविनै स्वतन्त्रपूर्वक काम गर्नका लागि जनताले सडकमा उत्रिएर सहयोग गरिरहेको पनि बताए ।

भट्टराईले औँल्याए पूर्वराजा ज्ञानेन्द्र पुनरावृत्तिको खतरा 

नेकपाको प्रचण्ड–नेपाल समूहको संघर्ष समिति परिचालन समितिका सहसंयोजक तथा प्रवक्ता योगेश भट्टराईले मुलुकमा पूर्वराजा ज्ञानेन्द्र शाह प्रवृत्तिको पुनरावृत्ति हुने खतरा औँल्याएका छन् ।

‘द्वन्द्वकालका विषयलाई पुरानै शैलीमा उप्काउने हो भने हामीले भन्नुपर्छ, हामी फेरि पनि द्वन्द्वकालमा फर्कियौँ । त्यसले संविधान ध्वस्त बनाउँछ, प्रकारन्तरले ज्ञानेन्द्र शाह माग गर्छ । कि त उहाँ (केपी ओली)ले आऊ भन्नुपर्‍यो,’ भट्टराईले भने, ‘उहाँ नजिककाले छिटफुट रूपमा त संघीयता खारेज गरेर लोकप्रिय हुने हो भनेका छन्, कसैले धर्मनिरपेक्षता खारेज गरे राष्ट्रनायक भइन्छ भनेका छन्, त्यसैले समस्त लोकतन्त्रवादी शक्तिहरू अब अग्रगमनतिर जाने कि पश्चगमनतिर प्रश्न खडा भएको छ ।’

अहिलेको बिन्दुमा प्रधानमन्त्री ओली पश्चगमन, प्रतिक्रान्ति, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संविधानविरोधीको प्रतिनिधि भएकाले अग्रगमनका पक्षमा रहेको नेकपाले लिक छोडेको संविधानलाई लिकमा ल्याउन आन्दोलन गरिरहेको भट्टराईले बताए । यद्यपि, आन्दोलन अघि बढ्दै जाँदा पूर्वराजा ज्ञानेन्द्र शाहकै प्रवृत्ति पुनरावृत्ति हुने खतरा रहेको थाहा हुँदाहुँदै पनि आफूहरू सडक संघर्षलाई संयुक्त आन्दोलनको रूप दिने दिशामा अघि बढेको भट्टराईको भनाइ थियो । 

‘हामी अहिले कानुनी, राजनीतिक र सडक संघर्षको लडाइँमा छौँ । यो बढ्दै जाँदा प्रदेश खारेज गर्ने, संकटकाल घोषणा गर्ने, यसले प्रतिगमन कसिँदै जाने हो, राज्यसत्ताको दुरुपयोग गर्दै जाने हो । न्यूनतम लोकतान्त्रिक अधिकार कुण्ठित गर्दै जाने हो,’ भट्टराईले भने, ‘यसले वाम लोकतान्त्रिक शक्तिको स्पेस खुम्च्याउँदै लान्छ र प्रेसमाथि आक्रमण बढ्न थाल्छ, बुद्धिजीवी नागरिक समाजमाथि आक्रमण हुन्छ, ज्ञानेन्द्र शाह पुनरावृत्ति हुन्छ, अर्को भक्तबहादुर शाही आयोग ब्युँतिन सक्छ । सडक आन्दोलनमा निस्कनेलाई अख्तियार देखाउन सक्नुहुन्छ । यी सबै थाहा हुँदाहुँदै पनि आन्दोलनमा छौँ ।’ 

पूर्वएमाले र पूर्वमाओवादीलाई पुरानै ठाउँमा उभ्याउन प्रेरित गर्ने कुराले मुलुक शान्तिसम्झौताअघिको अवस्थामा फर्किने र त्यसले द्वन्द्व बढाएर नेपाली समाजलाई नै पछाडि धकेल्ने खतरा रहेकोसमेत भट्टराईले प्रस्ट्याए । पार्टी एकता गर्दा भएको पाँचबुँदे सहमतिअनुसार महाधिवेशनसम्मको कार्यदिशा समाजवादउन्मुख जनताको जनवाद नमानेर जबजलाई अगाडि सार्ने हो भने प्रधानमन्त्री ओलीले पहिला पार्टी एकता नै गलत थियो भनेर सार्वजनिक रूपले आत्मालोचित भएर प्रायश्चित गर्नुपर्ने भट्टराईको भनाइ थियो ।

सुझावित समाचार